Suvadin, Home

कांग्रेसले राजतन्त्र फर्काउने सपना देख्दैः प्रधानमन्त्री

काठमाडौं,बैशाख ९ - प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको आरोप लगाएका छन्। नेकपाको ७१औँ स्थापना दिवसको अवसरमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा ओलीले स्थापनादेखि नै कांग्रेसले गलत बाटो समातेको दाबी गरे ।

‘कांग्रेसका धेरै नेताहरू राजतन्त्र फर्काउने सपना बोकेर हिँडेको देख्दा अचम्म लाग्छ’, प्रधानमन्त्रीले भने, ‘कांग्रेसले इतिहासका अनुभवहरूबाट शिक्षा लिनुपर्छ। गलत बाटो लिनु हुँदैन।‘

सैद्धान्तिक रुपमा कुनै पनि लोकतन्त्रवादी राजनीतिक शक्तिले जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त स्वीकार्न नसक्ने तर्क गर्दै ओलीले ‘कोही जन्मँदै शासक र रैती नहुने’ टिप्पणी गरे । ‘यति वर्ष लोकतान्त्रिक आन्दोलनको इतिहासबाट गुज्रिएपछि पनि कांग्रेस जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तमा विश्वास गर्छ भने आफूलाई लोकतान्त्रिक नभने हुन्छ।‘

२००८ सालमा कांग्रेसको एकल सरकार बनेलगत्तै कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले त्यो बाटो सच्याउन कांग्रेसले अझै पनि नसकेको बताए ।

‘आठ सालमा जब कांग्रेसको एकल सरकार बन्यो तब कम्युनिस्ट पार्टीले राष्ट्रियताको पक्षमा राखेको अडानसँग डराएर सहयात्री दलमाथि प्रतिबन्ध लगाउने गलत बाटो समात्यो’, उनले भने, ‘कांग्रेसले त्यो बाटो अहिलेसम्म पनि सच्याउन सकेको छैन ।‘ वामपन्थी र प्रगितशील शक्तिसँग मिलेर अघि बढ्नुपर्नेमा कांग्रेसले जहिले पनि प्रतिक्रियावादी शक्तिसँग घाँटी जोडेको उनले बताए। 

 

 

 

 


 

More form the Internet

loading...