Suvadin, Home

निष्ठावान पत्रकारकाे निर्भिक कलम
राजनीतिक दल र कर्मचारीबाट हुने भ्रष्टाचारविरुद्ध लड्दैछन् हरिबहादुर थापा

‘नीतिगत भ्रष्टाचारमा दरबार, अख्तियार, दल र कर्मचारी कसरी फँसेका छन् भन्ने विषयमा नै रजगज पुस्तक केन्द्रित छ,’ पुस्तकका विषयवस्तुबारे जानकारी दिँदै लेखक थापाले भने, ‘राणाशासनदेखि अहिलेसम्मका राजनीतिक विकृति र विसंगतिलाई पुस्तकमा प्रस्तुत गरिएको छ।’
वरिष्ठ पत्रकार एवम् लेखक हरिबहादुर थापा।

काठमाडौं, भदौ २६ – चाणक्यले भनेका छन्, ‘बरु चरा उडेको आकाशको बाटो सजिलै अनुमान लगाउन सकिएला, तर भ्रष्टहरुको अवैध कर्म र तिनले अनुचित तवरमा आर्जन गरेको सम्पत्ति पत्ता लगाउन निकै कठिन हुन्छ।’

चाणक्यले भनेझै भ्रष्ट, दुराचारी र नैतिक रुपमा स्खलित मानिसका कर्तुत समाजले अनुमान गर्नै सक्दैन। किनभने तिनीहरुका अपराध समाजका आममानिसले सोच्न सक्ने क्षमताभन्दा धेरै परको हुन्छ।

सुक्ष्म विश्लेषण, विवेचना, अध्ययन र निरन्तरको खोजबाट मात्रै जस्ता प्रवृत्तिको पर्दाफास गर्न सकिन्छ। र, समाजलाई न्याय दिलाउन सकिन्छ। समाजलाई भ्रष्टाचारबाट मुक्त गर्ने अभियानलाई सार्थक बनाउन सञ्चार क्षेत्रको पनि महत्वपूर्ण भूमिका छ।

समाज सुधारका लागि थापा कसरी योगदान गर्न सकिन्छ भन्नेमा सधैं चिन्तित हुन्छन्। यही चिन्ताले उनी भ्रष्टाचार लिप्त शासकदेखि कर्मचारीतन्त्रसम्मलाई निरन्तर खबरदारी गर्छन्। यही शिलशिलामा अहिले उनी ‘रजगज’ पुस्तकमार्फत जोडिन पुगेका छन्। 

‘पानामा पेपर्स्’का नाममा चर्चित मोसेक फोनसेका कम्पनीका लागि काम गर्ने जुझारु कर्मचारी हुन् वा मुख्यमन्त्रीलाई राजीनामा गर्न बाध्य बनाउने छिमेकी मुलुक भारतका पत्रकार प्रभु चावलाहरु हुन्, उनीहरुको योगदान समाजले सधैं स्मरण गर्ने छ।

नेपाली सञ्चार जगतमा विगत २४ वर्षदेखि सक्रिय हरिबहादुर थापा पनि त्यस्तै एक साहसी पत्रकार तथा लेखक हुन्, जसले राजनीतिक विकृति र विसंगतिविरुद्ध सशक्त ढंगले कलम चलाइरहेका छन्।

समाज सुधारका लागि उनी कसरी योगदान गर्न सकिन्छ भन्नेमा सधैं चिन्तित हुन्छन्। यही चिन्ताले उनी भ्रष्टाचार लिप्त शासकदेखि कर्मचारीतन्त्रसम्मलाई निरन्तर खबरदारी गर्छन्। यही शिलशिलामा अहिले उनी ‘रजगज’ पुस्तकमार्फत जोडिन पुगेका छन्। 

बाल्यावस्था र अध्ययन

हरिबहादुर थापाको जन्म वि.सं. २०२९ सालमा आमा द्रौपदी थापा र बुवा केदारबहादुर थापाका सुपुत्रका रुपमा भएको हो। काभ्रेको पाँचखाल–८ मा जन्मिएका हरिबहादुरले पलाञ्चोक स्कूलबाट वि.सं. २०४६ सालमा प्रवेशिका परीक्षा एसएलसी पास गरेका हुन्।

त्यसपछि उनको पढाई रत्नराज्य क्याम्पसबाट अघि बढ्यो। थापाले वि.सं. २०५९ सालमा आमसञ्चार तथा पत्रकारिता विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गरे। 

२४ वर्ष पत्रकारिता

लेखक एवम् पत्रकार हरिबहादुर थापाले वि.सं. २०५१ सालबाट कान्तिपुर राष्ट्रिय दैनिकमा काम गर्न थालेका हुन्। उनले पत्रकारितालाई पेशा बनाएनन्, सेवा बनाए।

जस्तै संकटमा पनि उनको व्यवसायिक निष्ठा डग्मगाएन। शाहीसत्ताका कालारात्रीदेखि लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दा उनको कामले जनताको स्याँबासी पाइरहेको छ। तर, उनी स्वयम्ले चाहिँ धेरै चुनौतिको सामना गरेका छन्।

उनले आफ्नो कर्तव्य निर्भिक पत्रकारिता नै ठाने। र, निरन्तर सक्रिय रहे। त्यही निष्ठाले उनलाई नेपाली पत्रकारिता जगतमा अभिभावकको भूमिकामा स्थापित गर्दै लगेको छ।

थापाका अनुसार उनले पत्रकारिता शुरु गर्दा काठमाडौंमा सीमित पत्रकारहरु मात्रै थिए। ‘संसदको प्रारम्भिक चरण थियो, सिकाईकै अवस्था थियो,’ उनले भने, ‘संसदीय समितिमा पनि २० जनामा १२–१४ जना आउथें, सबैसँग राम्रो परिचय हुन्थ्यो।’

हरिबहादुर थापाले वि.स. २०५१ साल फागुन १५ गते कान्तिपुर दैनिकका संवाददाता भएर पत्रकारिता यात्रा प्रारम्भ गरेका हुन्। ६ महिना उपत्यकाको रिपोर्टिङको जिम्मेवारी निभाएका थापाले त्यसपछि संसदीय बिटमा रिपोर्टिङ शुरु गरे। 

२०५९ सालसम्म नै यो क्रम चल्यो। संसदसँगै थापाले संवैधानिक अंग, नेपाली कांग्रेस, जलविद्युत लगायतका विषयमा रिपोर्टिङ गरे।

थापाका अनुसार उनले पत्रकारिता शुरु गर्दा काठमाडौंमा सीमित पत्रकारहरु मात्रै थिए। ‘संसदको प्रारम्भिक चरण थियो, सिकाईकै अवस्था थियो,’ उनले भने, ‘संसदीय समितिमा पनि २० जनामा १२–१४ जना आउथें, सबैसँग राम्रो परिचय हुन्थ्यो।’

सांसदहरुले पनि आफ्नो नाम मिडियामा आओस् भन्ने चाहनाले जानकारी दिने, सल्लाहसमेत लिने गरेको उनी सम्झन्छन्।

जतिजति समय बित्दै थियो, हरिबहादुर थापाको काँधमा नयाँ जिम्मेवारी आउँदैथिए। वि.सं. २०५९ सालमा उनी कान्तिपुर दैनिकका डिस्ट्रिक्ट कोअर्डिनेटर भए।

वि.सं. २०६० सालमा चिफ रिपोर्टरको जिम्मेवारी पाएका थापा २०६५ सालदेखि कान्तिपुर दैनिकको समाचार सम्पादकको जिम्मेवारीमा रहेर काम आफ्नो कतव्र्य पूरा गरिरहेका छन्।

वि.सं. २०६९ सालमा ‘दलीय द्वन्द्व’ पुस्तक प्रकाशित गरेका थापाले वि.सं. २०७४ सालमा ‘रजगज’ पुस्तक प्रकाशित गरेका छन्। 

पत्रकारितासँगै लेखनयात्रा

नेपाली राजनीतिका अलग–अलग व्यवस्थामा पत्रकारिता गरेका हरिबहादुर थापा लेखन कार्यमा पनि उत्तिकै सक्रिय छन्।

नेपाली राजनीतिका विविध आयामलाई नजिकबाट नियालिरहेका थापा पत्रकारितामार्फत सत्तामा पुगेका राजनीतिक दलहरुका कर्तुत र भ्रष्टाचारको चिरफार गरिरहेका हुन्छन्। त्यसैक्रममा उनले आफ्नो कलमलाई पुस्तकतर्फ लाने गरेका छन्। 

थापाले वि.सं. २०५८ सालमा पहिलो पुस्तक ‘भ्रष्टाचारको शल्यक्रिया’ प्रकाशित गरेका थिए। २०६० सालमा त्यही पुस्तकको परिमार्जित संस्करण आयो। अंग्रेजी संस्करण ‘एनोटोमी अफ करप्सन’ पनि २०६० सालमै प्रकाशित भयो।

वि.सं. २०६१ सालमा थापाले ‘विदेशी सहायताका विसंगति’ पुस्तक प्रकाशित गरे। वि.सं. २०६५ सालमा पत्रकार किरण भण्डारीसँगको संयुक्त लेखनमा थापाको ‘राजनीतिक दाउपेचभित्र कर्मचारीतन्त्र’ पुस्तक प्रकाशित भयो। 

त्यसैगरी, वि.सं. २०६९ सालमा ‘दलीय द्वन्द्व’ पुस्तक प्रकाशित गरेका थापाले वि.सं. २०७४ सालमा ‘रजगज’ पुस्तक प्रकाशित गरेका छन्। 

के विषयवस्तुमा केन्द्रित छ पुस्तक?

वरिष्ठ पत्रकार एवम् लेखक हरिबहादुर थापाको पुस्तक ‘रजगज’ पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गत भदौ १३ गतेदेखि विमोचन गरेकी हुन्। राजनीतिक दल, दरबार, अदालत र अख्तियारभित्रको भ्रष्टाचारको चिरफार गरेर थापाले नेपाली राजनीतिमा रहेको विसंगतिलाई बहसलाई ल्याइदिएका छन्।

थापाका अनुसार शासकीय वृतबाट भएका भ्रष्टाचारहरुलाई पुस्तकमा दृश्यसहित प्रस्तुत गरिएको छ।

‘नीतिगत भ्रष्टाचारमा दरबार, अख्तियार, दल र कर्मचारी कसरी फँसेका छन् भन्ने विषयमा नै रजगज पुस्तक केन्द्रित छ,’ पुस्तकका विषयवस्तुबारे जानकारी दिँदै लेखक थापाले भने, ‘राणाशासनदेखि अहिलेसम्मका राजनीतिक विकृति र विसंगतिलाई पुस्तकमा प्रस्तुत गरिएको छ।’

थापाका अनुसार पुस्तकमा राणाशासनमा हुने गरेका विकृतिलाई सारमा वर्णन गरिएको छ। पञ्चायती व्यवस्था र वि.सं. २०४६ सालको परिवर्तनपछिको घटनाक्रमलाई विस्तृत रुपमा प्रस्तुत गरिएको उनले बताएका छन्। 

ऐतिहासिक पक्षको वर्णन गरिएको पुस्तकमा भ्रष्टाचारको अन्त्य गर्ने बताउने दरबारले मुलुकको बजेट नै कब्जा गर्न गरेका यत्नहरुलाई प्रमाणका आधारमा प्रस्तुत गरिएको थापाले बताएका छन्।

त्यसैगरी, सम्पत्ति छानवीनका सम्बन्धमा रहेका विकृतिलाई पनि पुस्तकमा उल्लेख गरिएको छ। ‘भ्रष्टाचारको मुहान मन्त्रिपरिषद् हो, त्यसैले अन्य निकायमाथि मात्रै निगरानी गरेर भ्रष्टाचार न्युनिकरण हुँदैन,’ थापाले भने।

स्वार्थ समूहले आफ्नो हित हुने गरी कानून निर्माण गरेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारमा लिप्त रहेका उनी बताउँछन्। न्यायालयमाथि नै संगीन प्रश्न उठाएका थापाले भ्रष्टाचार निवारणका लागि कानून बनेपनि कार्यान्वयन हुनै नसकेको टिप्पणी गरेका छन्। 

पुस्तकमा भाषाशैली पनि सरल रहेको थापाले बताएका छन्। पत्रकारितामा सर्वसाधारणले बुझ्ने भाषाशैली प्रयोग गर्ने बानी परेका थापाले कानूनसँग सम्बन्धित विषयलाई पनि सरल ढंगले प्रस्तुत गरिएको जनाएका छन्। 

'पत्रकारितामा हामीले कसैको भजन गाउने होइन, र नियोजित पनि हुनुहुँदैन।'

पत्रकारलाई जोखिम!

नेपालजस्तो राजनीतिक संक्रमणबाट गुज्रिरहेको मुलुकमा राम्रो काम गर्ने र सुशासनका पक्षमा बोल्ने जोसुकैलाई पनि जोखिम रहने गर्छ। करिब अढाई दशकको पत्रकारिता यात्रामा हरिबहादुर थापाले पनि यस्ता थुप्रै जोखिम मोलेका छन्। तर, उनी व्यवसायिक धर्म निभाउने क्रममा आएका चुनौतीलाई सामान्य मान्छन्।

‘पत्रकारितामा हामीले कसैको भजन गाउने होइन, र नियोजित पनि हुनुहुँदैन,’ उनी भन्छन्, ‘तथ्य र सत्यमा आधारित विषयवस्तु सम्प्रेषण गर्नुपर्छ, जुन विषय उठान गरिएको छ, सम्बन्धित पक्ष पनि स्वीकार्न बाध्य हुन्छ।’ तथ्यमा आधारित समाचारले आफूमा नैतिक बल थपिने उनको धारणा छ। 

‘नेपालमा भ्रष्टाचारका धेरै घटना सार्वजनिक भएपनि अहिलेसम्ममा ५ जना मन्त्री र सीमित कर्मचारी मात्रै कानूनी कारबाहीमा परेका छन्,’ थापा भन्छन्, ‘त्यसैले गहिरो अध्ययन, अनुसन्धान र खोजबाट यस्ता विकृति अन्त्य गर्न दबाब सिर्जना गर्नु नै मिडियाको दायित्व हो।’

अबको पत्रकारिता कस्तो हुनुपर्छ?

नेपाली पत्रकारितालाई अझै सशक्त र गुणात्मक बनाउनका लागि खोज र अनुसन्धानमा जोड दिनु पर्ने लेखक तथा पत्रकार हरिबहादुर थापाको धारणा छ।

‘नेपालमा भ्रष्टाचारका धेरै घटना सार्वजनिक भएपनि अहिलेसम्ममा ५ जना मन्त्री र सीमित कर्मचारी मात्रै कानूनी कारबाहीमा परेका छन्,’ थापा भन्छन्, ‘त्यसैले गहिरो अध्ययन, अनुसन्धान र खोजबाट यस्ता विकृति अन्त्य गर्न दबाब सिर्जना गर्नु नै मिडियाको दायित्व हो।’

नेपालमा अनलाइन मिडियाको पहुँच बढ्दै गएकाले छापामाध्यमलाई ‘डेप्थ’मा लानुपर्ने उनी बताउँछन्। ‘मुलुकको समग्र पक्ष समाजलाई बुझाउन सक्ने गरी पत्रकारिताको विकास गर्नुपर्छ,’ उनी भन्छन्, ‘त्यसका लागि अबको पत्रकारिता गुणात्मक हुनुपर्छ।’ 

निरन्तर सुशासनका पक्षमा कलम चलाइरहेका थापा पत्रकारितासँगै पुस्तक लेखनलाई निरन्तरता दिने पक्षमा छन्। पुस्तकको प्रभाव गहिरो हुने उनी बताउँछन्। समाज रुपान्तरणका लागि सतही बुझाईले काम नगर्ने उनको विश्लेषण छ। 

‘असल चरित्रका, पढे–लेखेका युवा पलायन हुनुको पीडा मुलुकले खेप्नु पर्छ, त्यसैले यसलाई रोक्न सबै सचेत र जागरुक हुन आवश्यक छ।’

थापाको नजरमा दल र कर्मचारी

पत्रकार थापाका अनुसार वि.सं. २०४६ सालअघि राजनीतिक दलका नेताले जेलनेल भोगेकाले उनीहरुमा राष्ट्रप्रति जिम्मेवारी देखिन्थ्यो।

‘त्यसैले २०४६ देखि २०५२ सालसम्म नेताहरुमा राष्ट्रलाई सही ट्रयाकमै लैजाउँ भन्ने भावना थियो,’ थापा भन्छन्, ‘तर, २०५३ सालदेखि नेताहरु सुबिधाभोगी, लोभलालच र स्वार्थप्रेरित राजनीतिमा लिप्त छन्।’

कर्मचारीतन्त्र पनि अवसरवादी भएको थापाको टिप्पणी छ। राजनीतिक दलसँग मिलेर भ्रष्टाचारलाई बढावा दिने कार्यमा कर्मचारीहरुको उत्तिकै संलग्नता रहेको उनी बताउँछन्।

‘समाज दलीयकरण भयो, दल र तिनका गुटमा विभाजित भयो, चाकडी गर्नेहरुले ठाउँ पाए, पढ्ने–लेख्ने बाहिर परे,’ थापा भन्छन्, ‘समग्रमा संरचना संस्थागत हुनै सकेन।’ 

कर्मचारी र दलका नेताकै कारण विदेशीको खुलेआम आगमन भएको थापाको विश्लेषण छ। ‘सोझै हस्तक्षेप गर्न गुहारेकोझैँ भयो,’ उनले भने, ‘दलका नेताले कर्मचारीलाई नियन्त्रण गर्न नसक्नुको परिणाम पनि हो यो।’ 

थापाको अबको मिसन

वरिष्ठ पत्रकार एवम् लेखक हरिबहादुर थापा पत्रकारिताकै माध्यमबाट समाज रुपान्तरणका लागि चेतना प्रवाह गर्ने अभियानमा छन्। गहिराईमा गएर गरिएका खोजले पत्रकारितालाई अझै भरोषायुक्त र प्रभावकारी बनाउने थापा बताउँछन्।

बहने हावाको लहरभन्दा पनि सत्यतथ्यलाई उजागर गर्दै जान उनी रुचाउँछन्। पछिल्लो समय नेपाली राजनीतिमा देखिएको विकृतिले थापालाई पिरोलिरहेको छ। चुनावमा पैसाकै भरमा जित्ने प्रवृति बढेकोप्रति उनी चिन्तित छन्।

उनी भन्छन्, ‘खराब आचरण र प्रवृत्ति भएका तथा भ्रष्टहरुलाई जसरी पनि रोक्नैपर्छ,’ उनले भने, ‘मतदाता सचेत हुनुपर्छ, र सही सूचना जनतासम्म पुर्याउने काम सञ्चारमाध्यमले गर्नुपर्छ।’ 

नैतिकता हराउन लागेको परिवेशमा निष्ठाको राजनीतिक संस्कार निर्माण गर्न नेपाली सञ्चारजगतले हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा थापाको जोड छ।

‘नैतिकता र इमान्दारिता हराउने स्थिति आउन दिनु हुँदैन, हाम्रालाई होइन राम्रालाई छान्नुपर्छ,’ उनले भने, ‘असल चरित्रका, पढे–लेखेका युवा पलायन हुनुको पीडा मुलुकले खेप्नु पर्छ, त्यसैले यसलाई रोक्न सबै सचेत र जागरुक हुन आवश्यक छ।’


 

More form the Internet

loading...