स्थायी जागिर छोडेर विद्युत प्राधिकरण सम्हाल्दै
विद्युत माफिया र दलाललार्इ परास्त गरी लाेडसेडिङ हटाउने कुलमान घिसिङ
काठमाडौं, भदौं ३० – गत वर्षसम्म विद्युतभार कटौती अर्थात् लोडसेडिङको मारमा रहने गरेका नेपाली नागरिक अहिले ढुक्क छन्। मनमनै जे होस्, ‘कुलमानले गरेकै हुन्’ भन्दै खुशी हुन्छन्, आमनागरिक।
यतिसम्म कि, बिजुली बत्ती एकैछिन अवरुद्ध भयो भने पनि ‘कुलमान छुट्टीमा छन् कि के हो, बत्ती गयो त’ भन्ने ट्रेन्ड नै बसिसकेको छ। तर, ती कुलमानले कत्ति संघर्ष गरेर हामीलाई उज्यालो प्रदान गरेका छन् भन्ने जानकारी चाहिँ उनी स्वयम् र सीमित नागरिकले मात्रै मनन् गरेका छन्।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ भ्रष्ट कर्मचारीतन्त्र र पूर्वाग्रही राजनीतिक दलका नेताका कारण कुनै समय विचलित पनि भएका थिए।
तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए। उर्जामन्त्री जनार्दन शर्मा भए। नेपाल विद्युत प्राधिकरणको बागडोर सम्हाल्न कुलमान घिसिङ आइपुगे।
कुलमान घिसिङ हरेक साँझ हरेक नेपालीका मन उज्यालो दिने मानवरुपी भगवान भएर आउँछन्। नेपाली जनताले वर्षौदेखि भोग्नु परेको लोडसेडिङ अन्त्य गरेका कुलमानले आगामी हिँउदमा पनि विद्युत नियमित हुने प्रष्ट पारेका छन्।
‘झोलामा खोला बोकेर हिँड्नेहरु’का लागि र जलविद्युतको क्षेत्रमा तस्करी गर्न लिप्त माफियाको जालो तोडेका कुलमान घिसिङ भ्रष्टाचारविरुद्धको आन्दोलनमा अहिलेका सबैभन्दा सशक्त योद्धा हुन्, जसले नेपाल विद्युत प्राधिकरणलाई सुधार्न सफल भएका छन्।
विद्युत माफियाको लुट चलिरहेका बेला नेपालीका आखाँका नानी बनेर कुलमानको उदाएका छन्। कुलमानको नेतृत्वले १८ घण्टे लोडसेडिङको अन्त्यसँगै एउटा आशाको दीप जलाएको छ।
आफ्नो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजनाका बारेमा शुभदिनलाई जानकारी दिँदै घिसिङले साँझको समयमा उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्ट पारेका हुन्।
हिँउदमा लोडसेडिङ हुँदैनः कुलमान
आफ्नो एक वर्षे कार्यकालमा भएको प्रगति र आगामी कार्ययोजनाका बारेमा शुभदिनलाई जानकारी दिँदै घिसिङले साँझको समयमा उद्योगमा बिजुली काटेर भएपनि लोडसेडिङ हुन नदिने योजना रहेको स्पष्ट पारेका हुन्। लोडसेडिङ फेरि हुँदैछ भन्ने आशंकालाई चिर्दै घिसिङले अब लोडसेडिङ नहुने बताएका हुन्।
उनले प्रसारण प्रणाली र सवस्टेश ओभरलोड भइरहेकाले क्षमता बढाउने काम भइरहेको उनले जानकारी दिए। ‘हामीसँग पर्याप्त भएर हैन, संकटका बेला माग व्यवस्थापन गरेर नै लोडसेडिङ कम गरेका हौं,’ उनले भने, ‘आउँदा दिनमा पनि यही विधि अपनाइने छ, कुनै आयोजनामा समस्या आएर बन्द भए हामीसँग रिजर्भ क्षमता छैन।’
२ करोड थान एलइडी चिम वितरण र सोलारबाट बिजुली उत्पादन गर्ने योजना कार्यान्वयनमा आएको भए माग व्यवस्थापन गर्न सहज हुने उनले बताएका छन्। एलइडीले साँझ र सोलारले दिउँसोको माग व्यवस्थापन गर्न सहज हुने उनको तर्क छ।
कार्यकारी निर्देशक घिसिङले सुदूरपश्चिमा ३० मेगावाटको चमेलिया आयोजनाको काम २ महिनामा सम्पन्न भई विद्युत उत्पादन शुरु गर्ने जानकारी दिए। चमेलिया अर्धजलाशययुक्त आयोजना भएकाले सुदूरपश्चिममा साँझको माग व्यवस्थापन गर्ने उनले बताएका छन्।
घिसिङका अनुसार १ हजार मेगावाटसम्म विद्युत आपूर्ति भइरहेको छ। ३ सय मेगावाट साँझ ३ घण्टासम्म औद्योगिक क्षेत्रमा लोडसेडिङ गरेर व्यवस्थापन भइरहेको उनले बताएका छन्। यो वर्ष बिजुली चुहावट ३ प्रतिशत घटाएर २० प्रतिशतमा झार्ने योजना उनले सार्वजनिक गरेका छन्।
शहरमा लोडसेडिङ अन्त्य गरेपछि हिरो भएका कुलमान अहिले ग्रामीण जीवनमा पनि ज्योति बनेर उदाएका छन्। उनको योगदानलाई नागरिकले उच्च श्रद्धा र सम्मानका साथ लिएका छन्।
तर, यो चामत्कारिक कार्य कसरी सम्भव भयो त? ‘यो कुनै मिराकल होइन, जादु होइन, मैले सामान्य व्यवस्थापन मात्रै गरेको हुँ,’ शुभदिनसँगको कुराकानीमा घिसिङले सालिन ढंगले जवाफ दिए।
‘नेपालमा उत्पादिन बिजुली बेच्न अब धेरै समय लाग्दैन।’
घिसिङ नेपाल विद्युत प्राधिकरणको सुद्धीकरणसँगै उत्कृष्ट व्यवस्थापकीय जिम्मेवारी निभाइरहेका छन्। त्योभन्दा धेरै चाहिँ कुलमान घिसिङ नेपाली जनताका लागि त्यस्ता ‘आइडल’ हुन्, जसले मुलुकलाई उज्यालो बनाउने जिम्मेवारी बोकेको विद्युत प्राधिकरणको संस्कारमै ‘ब्रेकथ्रु’ गरेका छन्।
विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले सुधारका संकेत त लोडसेडिङमुक्त गरेर दिई नै सकेका छन्। उनी दावीका साथ भन्छन्, ‘नेपालमा उत्पादिन बिजुली बेच्न अब धेरै समय लाग्दैन।’
तामाकोशी जलविद्युत आयोजना तथा अन्य केही जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न हुने बित्तिकै नेपालमा उत्पादित बिजुली बेच्ने दिन आउने उनले प्रष्ट पारेका छन्।
सुधार र व्यवस्थापनमा जोड दिएका घिसिङले अन्तरवार्ताका क्रममा पनि त्यही शब्द दोहोर्याउँदै भने, ‘यही बिजुली पहिले पनि थियो, अहिले पनि छ, तर पहिले व्यवस्थापकीय कमजोरी थियो, त्यसमा सुधार गरेका हौं।’
निर्माणाधीन अवस्थामा रहेका जलविद्युत परियोजना चाँडै सम्पन्न गर्ने उनको योजना छ।
शान्त स्वभाव र सामथ्र्यवान
पेशाले इञ्जिनियर घिसिङको जन्म रामेछापमा वि.सं. २०२७ मंसिर १० गतेका दिन भएको हो। रामेछापको दुर्गम बेथान गाविसमा बुवा कृपासिंह घिसिङ तामाङ र आमा स्व. सेतीडोल्मा घिसिङ तामाङका साइला सुपुत्र कुलमानका ६ जना दाजुभाइ र ३ जना दिदीबहिनी छन्।
उनीकी श्रीमती दीपा तामाङ हुन्। घिसिङले कक्षा पाँचसम्मको अध्ययन गाउँकै प्राथमिक विद्यालयमै गरे। त्यसपछि उनको अध्ययन यात्रा काठमाडौंबाट अघि बढ्यो। दाजुहरुका साथमा उनी पनि काठमाडौं आए। र, अमरआदर्श आवासीय माविबाट पढाई अघि बढाए।
वि.सं. २०४३ सालमा एलएलसी पास गरेका घिसिङले उच्च शिक्षा भारतबाट आर्जन गरेका छन्। काठमाडौंको अमृत साइन्स क्याम्मपसबाट आइएस्सी उतीर्ण गरेका घिसिङले सन् १९९४ मा भारतमा जम्सेदपुरबाट इलेक्ट्रिकल इञ्जिनियरिङको अध्ययन पूरा गरेका छन्।
पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट उर्जा प्रणालीमा स्नातकोत्तर गरेका घिसिङले पोखरा विश्वविद्यालयबाट इएमबीए गरेका हुन्।
घिसिङले चिलिमेलाई मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा विकास गरेका छन्।
चिलिमेबाट चम्किए
नेपालबाट पढ्नकै लागि भारतको जम्सेदपुर गएका घिसिङ २०५१ सालतिर नेपाल फर्किए। जागिरे जीवनको सुरुवातमा उनी नेपाल विद्युत प्राधिकरणमा सातौं तहको इञ्जिनियर भए।
काम गर्ने क्रममा घिसिङको सरुवा रसुवाको चिलिमे जलविद्युत परियोजनामा भयो। चिलिमेमा उनी प्रबन्ध सञ्चालकको जिम्मेवारीमा गए। उनले चिलिमेलाई मुलुकको नमूना जलविद्युत आयोजनाको रुपमा विकास गरे।
चिलिमे जलविद्युतमा वि.सं. २०६७ साउनदेखि २०७१ असारसम्म प्रबन्ध सञ्चालक रहेका घिसिङकै नेतृत्वमा चिलिमेकै आम्दानीबाट रसुवागढी जलविद्युत, मध्यभोटेकोसी, साञ्जेन माथिल्लो परियोजनाको थालनी गरियो।
समय क्रमसँगै उनलाई आयोजनाबाट काठमाडौं फिर्ता बोलाइयो। दुई वर्ष ‘बिजिनेस’ विहीन भएका उनलाई वि.सं. २०७३ साल भदौ २९ गतेको मन्त्रिपरिषदको बैठकले २० वर्षदेखि विद्युत प्राधिकरणमा कार्यरत छन्।
चिलिमे जलविद्युतको शेयर आमनागरिकहरुबाट विद्युत क्षेत्रका दलालले खोस्न थालेपछि घिसिङकौ अगुवाईमा एउटै गाउँ ७ करोड रुपैयाँ बराबरको शेयर फिर्ता भएको थियो। जसबाट रसुवाका नागरिक उनलाई प्रिय मान्न थाले।
तर, दलालहरुका आँखामा उनी कसिंगर भएर बिझाउन थाले। यही घटनाले नै एमाले कार्यकर्ता र दलालको बहकावमा लागेर तत्कालीन उर्जामन्त्री ज्ञवालीले घिसिङलाई काम गर्न नदिएको प्राधिकरण स्रोतले जनाएको छ।
घिसिङका ६ सुत्र
योजनाबद्ध काम गर्न रुचाउने कुलमान घिसिङले एकपछि अर्को कामको सूची तयार गरेका छन्। उनको कामको सूची यस प्रकार छः आवश्यकता अनुसार विद्युत आपूर्ति, गुणस्तरीय बिजुली, भरपर्दो आपूर्ति, सुरक्षित विद्युत, वातावरणीय आउटलुक, प्रभावकारी सेवा प्रवाह।
घिसिङका अनुसार अहिले पनि आवश्यकता अनुसारको विद्युत आपूर्ति हुन सकेको छैन। ‘स्तरीय भोल्टेज, राम्रो भोल्टेज अहिले पनि दिइसकिएको छैन,’ उनले भने, ‘हामी अहिले यसको समाधानमा कोसिसमा छौं।’
‘थौरे समय लाग्छ, तर धेरै कामको रिजल्ट हामी दिँदैछौं।’
उनले सडकमा यत्रतत्र टाँगिएका तारलाई व्यवस्थित गर्ने र सहरमा देखिएका कुरुपता हटाउनका लागि भूमिगत रुपमा तार बिछ्याउने योजना रहेको जनाएका छन्। अहिले बेला–बेला विद्युत आपूर्ति बन्द भएको स्वीकार्दै घिसिङले यसको निराकरण आवश्यक रहेका उल्लेख गरे।
वातारवणीय प्रभाव र प्रभावकारी सेवा दिन प्राधिकरण प्रतिवद्ध रहेका उनले बताएका छन्। ‘विद्युत कहिल्यै नजाने गरिको प्रविधि ल्याउनु पर्छ,’ उनले भने, ‘थौरे समय लाग्छ, तर धेरै कामको रिजल्ट हामी दिँदैछौं।’ घिसिङले सहरदेखि गाउँसम्म विद्युत विस्तार गर्न ग्रामीण विद्युतीकरणलाई तीव्रताका साथ अघि बढाउनु पर्ने बताएका छन्।
राधा ज्ञवालीको बक्रदृष्टी, जनार्दनको साथ
वि.सं. २०७१ सालमा तत्कालीन ऊर्जामन्त्री राधा ज्ञवालीले घिसिङलाई नेपाल विद्युत प्राधिकरणमा फिर्ता बोलाइन्। तर, उनका लागि ज्ञवालीको त्यो कदम नयाँ अवसरको रुपमा सिर्जना भयो। वि.सं. २०७१ असोजमा घिसिङ प्राधिकरणको निर्देशक भए।
११ तहमा बढुवा भएर निर्देशक बनेकका घिसिङलाई नयाँ जिम्मेवारी दिइयो। राहुघाट जलविद्युत आयोजना प्रमुखको जिम्मेवारी पाएका उनी प्रचण्ड नेतृत्वको सरकारमा जनार्दन शर्मा उर्जामन्त्री भएपछि नेपाल विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक भए। तर, स्थायी जागिरबाट राजीनामा दिएर घिसिङले प्राधिकरणको प्रबन्ध निर्देशकलेको जिम्मेवारी सम्हालेका हुन्।