Suvadin, Home

निडर न्यायकर्मीकाे संघर्षपूर्ण जीवन
खुमबहादुर, गाेविन्दराजहरुलार्इ जेल सजाय दिएका पूर्वन्यायाधीश प्रकाश वस्ती

निडर, स्पष्ट र अनुशासित छवि बनाएकैले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीलार्इ भ्रष्टहरुकाे समूहले सधैं चुनाैतीका रुपमा लिन्छ। उनी यस्ता नायक हुन्, जसले अाफ्ना सत्कर्मलार्इ धर्म बनाएका छन्। राष्ट्र र जनताकाे हितमै सधैं लडिरहन्छन्। समय-समयमा षड्यन्त्र र जालझेल व्यहाेरेपनि सत्यकाे पक्षमा बाेल्ने वस्तीले न्यायकाे लडाइँमा निरन्तर विजयी हासिल गरिरहेका छन्।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्ती।

काठमाडौं, भदौ २८ – उमेरले ६४ वर्ष पुगिसकेका छन्। तर, जोशजाँगर युवाकाे भन्दा कम छैन। स्वस्थ पनि छन्। बिहान १० बजे अफिस हाजिर हुन्छन्। शिरमा ढाका टोपी र कोट-पाइन्टमा सजिएर अफिस पुग्छन्।

दिनभर अफिसको काममै सक्रिय रहन्छन्। नियम र नीतिभन्दा बाहिर गएर एउटै काम गर्दैनन्। उनमा इमान्दारिता र अनुशासन छ। त्यही भएर पनि अहिले स्वतन्त्र रुपमा हिँड्ने अाँट गरिरहेका छन्।

निडर, स्पष्ट र अनुशासित छवि बनाएकैले राष्ट्रिय मानव अधिकार आयोगका सदस्य प्रकाश वस्तीलार्इ भ्रष्टहरुकाे जत्थाले सधैं चुनाैतीका रुपमा लिन्छ। उनी यस्ता नायक हुन्, जसले अाफ्ना सत्कर्मलार्इ धर्म बनाएका छन्।

राष्ट्र र जनताकाे हितमै सधैं लडिरहन्छन्। समय-समयमा षड्यन्त्र र जालझेल व्यहाेरेपनि सत्यकाे पक्षमा बाेल्ने वस्तीले न्यायकाे लडाइँमा निरन्तर विजयी हासिल गरिरहेका छन्।

दिनभर अफिसको काममै सक्रिय रहन्छन्। नियम र नीतिभन्दा बाहिर गएर एउटै काम गर्दैनन्। उनमा इमान्दारिता र अनुशासन छ। त्यही भएर पनि अहिले स्वतन्त्र रुपमा हिँड्ने अाँट गरिरहेका छन्।

बाल्यावस्था र पारिवारिक पृष्ठभूमि 

गोरखा जिल्लाको पालुङटारमा वि.सं. २०१० साल असार ७ गते प्रकाश वस्तीको जन्म भएको हो। उनले बाल्यकालमा धेरै समय गोरखामै बिताए। तर, बुवा जागिरे भएकाले वस्तीको बाल्यावस्था विभिन्न जिल्लामा पनि बित्यो।

बुवा काठमाडौं जिल्ला न्यायाधीश भएपछि वस्ती पनि काठमाडौं आए। प्रायः बुवा जागिरको शिलशिलामा सरुवा हुँदा प्रकाश वस्ती पनि त्यतै जान्थे। उनका बुवा जिल्ला न्यायाधीशबाट तत्कालीन अञ्चलाधीश बने। बुवाको जागिर कानूनी क्षेत्रमा भएकाले वस्तीको जीवनमा पनि कानूनले छोइसकेको थियो। जिज्ञाशु स्वभावका वस्ती पढाईमा अब्बल थिए।

दैलेखसँग वस्तीकाे विशेष लगाव र स्नेह छ। दैलेखमा बिताएका हरेक पल उनकाे मनमस्तिष्क अझै ताजै छ।

दैलेखमा बिताएका ती दिन

गाेरखामा जन्मिएका वस्ती बुवासँगै दैलेख पुगे। दैलेखसँग उनकाे विशेष लगाव र स्नेह छ। दैलेखमा बिताएका हरेक पल उनकाे मनमस्तिष्क अझै ताजै छ। बुवाको सरुवा भएपछि वस्ती पनि दैलेख गएका हुन्।

उनी त्यतिबेला १४ वर्षका थिए। दैलेखमा हुँदा उनी 'क्रिम पिरियड'मा थिए। 'दैलेखमा एउटा नयाँ बजार छ, त्यहाँ चौर छ,' उनी भन्छन्, 'त्यहाँ खेलेरै दिन बिताउँथ्याैं।' वस्तीलाई उक्त चौर घडेरीका हिसावले तत्कालीन गाउँ पञ्चायतले वितरण गरेको भन्ने थाहा थिएन।

त्यतिबेला जग्गा वितरण गर्दा गाेलाप्रथा गर्ने व्यवस्था थियो। जग्गा वितरणका क्रममा आफूले पनि लटरी तानेर खेलेको आफूलाई त्यतिबेला थाहा नभएको वस्ती बताउँछन्। जब उनी सर्वोच्च अदालतमा न्यायाधीशको रुपमा आए, वि.सं. २०६५ सालमा दैलेखको अंश मुद्दा आयो।

मुद्दा हेर्दा आफैले खेलेको मैदानको मुद्दा आएको वस्तीले थाहा पाए। 'मुद्दा हेर्ने कि नहेर्ने भनेर म दाेधारमा परेँ,' वस्तीले शुभदिनसँग भने। अर्को सम्झिने कुरा चाहिँ दैलेखको स्कूल हाे, जहाँबाट उनले अघि बढ्ने श्रेय प्राप्त गरे।

शिक्षकले ६ जिल्लाका राजधानी कहाँ हो भनेर प्रश्न साेधेका थिए। वस्तीले प्रश्नको उतर राजधानी काठमाडौं हो भनेर दिए। त्यही कारण भूगोलमा फेल भए।

भूगोलमा फेल भएका वस्ती यसरी भए पास

वि.सं. २०२१ सालमा दैलेखको हार्इ स्कूलमा भूगोल पढाउने शिक्षक नेपालगञ्जका थिए। त्यतिबेला वस्ती ११ वर्षका थिए।

शिक्षकले परीक्षामा ६ जिल्लाका राजधानी कहाँ हो भनेर प्रश्न गरेका थिए। वस्तीलाई ६ जिल्लाका सदरमुकामको नाम थाहा थियो। वस्तीले प्रश्नको उतर दिँदा जिल्लाको राजधानी काठमाडौं हो भनेर दिएका थिए। त्यो लेखेकै कारण भूगोलमा फेल भए। वस्तीकाे उत्तरले दैलेख जिल्ला नै हल्लियाे। त्यो सानो घटनाले ठूलो रुप लिएको वस्ती बताउँछन्।

त्यही घटनाले वस्तीको उत्तरपस्तिका जाँच्ने शिक्षक दैलेख छोडेर नेपालगञ्ज फर्किन बाध्य भए। पछि वस्तीलाई विद्यालय सञ्चालक समितिको निर्णयले नै पास भएको घोषणा गर्यो। त्यही कारणले नेपालको भूगोलप्रतिको माया वस्तीमा अंकुरित भयो। उक्त घटनाले उनको जीवनमा नयाँ तरंग ल्यायो। तर्क गर्ने क्षमताको विकास पनि गर्यो।   

राजविराजको बसाई

दैलेखबाट बुवाको सरुवा भएपछि वस्ती पनि सप्तरीको राजविराजमा पुगे। त्यहाँ उनी तीन वर्ष बसे। राजविराजमा रहँदा आर्दश शिक्षक पाएको उनी बताउँछन्। त्यहाँ आफूले हिन्दी, मैथिली भाषासँगै मिथिला कला-संस्कृतिका बारेमा ज्ञान लिने अवसर पाएकाे उनले बताए।

त्यतिबेला राजविराजमा कर्मचारीका छोराछोरी बाहेक अन्यले त्यो विद्यालयमा पढ्न पाउँदैनथिए। उनी भन्छन्, 'राजविराजमा हुँदा समग्र तराई-मधेश चिन्ने मौका पाएँ, मिथिला संस्कृति जीवनकाे एउटा हिस्सा नै हुन पुग्याे।'

पारिवारिक वातावरणले गर्दा दुई जिल्लामा उनले अध्ययन गरे। वस्तीका बुवाकाे राजविराजबाट चितवन बुवा सरुवा भएपछि उनी त्यतै गए। र, चितवनबाट एसएलसी पास गरे।

पहिलो पटक पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसमा कानून संकाय चलाउन जाने तीन शिक्षकमध्ये एक प्रकाश वस्ती पनि हुन्।

अध्ययनसँगै जागिर 

वस्तीले ल क्यामपसमा २१ वर्ष अध्यापन गरेर राजीनामा दिएका छन्। त्यतिबेलै विद्यार्थी र शिक्षकबीचकाे सम्बन्धका विविध अायामलार्इ बुझ्ने माैका पाएकाे उनी बताउँछन्। स्नातक गरेपछि उनी कानूनका विद्यार्थी बने। उनले पढाउन पनि शुरु गरे।

पहिलो पटक पोखरामा रहेको पृथ्वीनारायण क्याम्पसमा कानून संकाय चलाउन जाने तीन शिक्षकमध्ये एक प्रकाश वस्ती पनि हुन्। उनी त्यहाँ शिक्षक हुनुभन्दा अघि धुव्रसिंह थापा डिन थिए।

त्यतिबेला वस्तीले दिएको एसएलसीको रिजल्ट आएको थिएन। 'डिनलाई एसएलसीमा प्रथम भएको भन्ने कुरा थाहा थियो, तर मलाई थाहा थिएन,' वस्तीले भने, 'त्यति बेलै जागिरको अफर आयो, तर मैले जागिर नखाने भनेर अस्वीकार गरेँ।'

त्यसपछि उनले कानून संकायको ‘ल जर्नल’ निकाल्न शुरु गरे। नेपाल ल रिभ्यू (नेपाल कानून परिचर्चा) पनि प्रकाशित भयाे। त्यसमा प्रबन्ध सम्पादकको रुपमा काम गर्न थाले। त्यहाँ काम गर्दा ह्रस्व र दीर्घ सिक्ने मौका पाएको उनी बताउँछन्।

त्यसबेला वस्तीलाई पढाउने गुरु ध्रुबचन्द्र गौतम, कृष्ण गौतम लगायत थिए। ल क्याम्पसमा बिहान पढाउने वस्तीले दिउँसो नेपाल ल फर्ममा गएर काम सिक्न थाले। त्यहाँ उनले असिष्टेन्ट भएर काम गरे। त्यसपछि उनले ल फर्म चलाउन शुरु गरे।

३२ वर्षसम्म कानून व्यवसाय गरेका वस्ती नेपाल बार एशोसिएशनका महासचिव, बारका पार्षद्मा विभिन्न जिम्मेवारीमा रहेर काम गरे। वस्तीकै कार्यकालमा काउन्सिल, कानून व्यवसायी परिषद् ऐन आएको थियो।

'त्यस बेला गुरूहरु आदर्शवान हुनुहुन्थ्याे, गुरुले शिक्षा दिने, शिष्यले ग्रहण गर्ने संस्कार थियाे,' उनी भन्छन्, 'अहिले शिक्षाका नाममा व्यापार भइरहेकाे छ, अनुशासन हराएको छ।'

वि.सं. २०३६ सालपछि शिक्षामा विकृति आएको देखेको वस्तीकाे धारणा छ। २०३६ साल पछिको शिक्षा व्यापारीकरण हुन थालेको उनी बताउँछन्। तर, अहिले शिक्षामा केही सुदृढीकरण भएको उनकाे विश्लेषण छ।

उनले भने, ‘नयाँ पुस्ता राज्यको जिम्मेवारीमा पुग्न आवश्यक छ, पूरानो पुस्ताले मुलुक हाँकेकाे छ, तर त्यो ठाउँ नयाँ पुस्ताले लिनैपर्छ।’ राज्यले क्षमतावान र युवापुस्तालाई नेपालमै बस्ने वातावारण मिलाउन सक्नुपर्ने उनको भनाई छ। 

अहिले उनी मानवअधिकार आयोगको सदस्य भएपनि सम्पादनकै कार्य गरिरहेका छन्।

४० वर्ष सम्पादन

अध्ययनको अध्याय पूरा गरेपछि प्रकाश वस्तीले ४० वर्षसम्म सम्पादनमा बिताएका छन्। अहिले उनी मानवअधिकार आयोगको सदस्य भएपनि सम्पादनकै कार्य गरिरहेका छन्।

रिपोटिङ गर्दै-गर्दा पनि मानवअधिकार आयोगले प्रकाशित गर्ने संवाहकको सम्पादनकाे जिम्मेवारी वस्तीले नै लिएका छन्। वस्तीले प्रकाशित प्रारम्भ गरेकाे 'कानून' पत्रिकाकाे १ सय २४ अाइसकेकाे छ। प्रधान सम्पादकका रुपमा उनले १२ वर्षसम्म काम गरेका छन्।

त्यो पत्रिकामा कसैको सहयोग थिएन, उनले व्यक्तिगत लगानीमै पत्रिका निकालेका हुन्। त्यतिबेला प्रकाशित हुने न्यायदूत पत्रिकामा सहयोगीका रुपमा वस्तीले काम गरे। आफूलाई अहिले पनि वकिल र अधिवक्ताको रुपमा चिनाउँछन्, वस्ती। उनका कानूनका क्षेत्रमा ३ सय वटा लेख, ९ वटा पुस्तक प्रकाशित भएका छन्।

अख्तियारमा कानूनी सल्लाहकार

अख्तियार दुरुपयाेग अनुसन्धान अायाेगमा वस्तीले ६ वर्ष कानूनी सल्लाहकारकाे जिम्मेवारीमा रहेर काम गरे। क–कसलाई मुद्दा चलाउनुपर्थ्यो। त्यो कुरा आयुक्तले निर्णय गर्थे।

उनकाे भूमिका विशुद्ध कानून व्यवसायीको थियाे। जब चार्जसिट बनेर आउँथ्यो, तबमात्र उनले अध्ययन गर्ने र बचाउकर्ताको भूमिका खेल्ने गर्थे। गोविन्दराज जोशी वा अरु कुनै मुद्दाका सन्दर्भमा उनकाे भूमिका त्यही नै थियाे।

'उपेन्द्रकेशरीजी र म पूराना साथी हौं, उहाँ र मैले एउटै मुद्दामा काम पनि गरेका थियौं, वकिलको काम भनेको सकेसम्म बनाइदिने हो, जानाजान वा नजानेर बिगार्ने भूमिका कुनै पनि वकिलले खेल्दैन र खेल्नुहुँदैन,' उनले भने, 'वकिलको धर्म हित गर्ने हो, अहित नगर्ने होइन।'

अाफूले क्लाइन्ट बिगार्ने भूमिकामा कहिल्यै नखेलेकाे उनले बताएका छन्। अख्तियारका तत्कालीन प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायसँग उनकाे मित्रता तथा नातागोता केही थिएन।

'उहाँ कानूनमा ठूलो हो, म उहाँलार्इ त्यसरी नै चिन्थेँ,' उनले भने। वस्तीका अनुसार सबै मुद्दा पुनरावेदनमा दर्ता हुन्थे, अख्तियारले १२ वटा मुद्दा लगेको रहेछ।

'१२ मध्ये ११ वटामा मैले बचाउँ गर्ने वकिलको भूमिका निर्वाह गरेँ,' उनले भने, 'जति मुद्दामा हामी जान्थ्यौं, सबैमा जित्थ्यौँ।' सायद, त्यही कारणले होला, उपाध्यायले अाफूलार्इ विश्वास गरेकाे उनकाे धारणा छ।

'अचानक फोन गरेर डिल्लीबजारस्थित मेरो अफिसमै आइपुग्नुभयो,' उनले भने, ‘मेरो सल्लाहकार बसिदिनुहोस्, तपार्इलाई पैसा कति चाहिन्छ भनेर सोध्नुभयो।'

अख्यियारको प्रमुख आयुक्तकाे अवधि ६ वर्ष हुने भएकाले त्यति समयका लागि सल्लाहकार बसिदिन उपाध्यायले वस्तीलार्इ अाग्रह गरे। अख्तियारमा ६ वर्षसम्मकाे कानूनी सल्लाहकारकाे भूमिका फलदायी रहेकाे उनले बताएका छन्। 

'मलाई जोगाउन सक्ने अस्त्र आत्मविश्वास र अर्को मेहनत, यी दुई बाहेक अरु कसैले मलाई जोगाउँदैन भन्ने पूरा विश्वास थियो।'

सर्वोच्च अदालतका अस्थायी न्यायाधीश

वि.सं. २०६५ माघ ९ गते सर्वोच्च अदालतमा अस्थायी न्यायाधीशकाे जिम्मेवारीमा वस्ती नियुक्त भए। न्याय सम्पादनकाे अनुभव पनि उनले त्यति बेला हासिल गरेका हुन्। वि.सं. २०७० चैत्र २९ गते सर्वोच्च अदालतको अस्थायी सेवाबाट वस्तीकाे अवकाश भयाे।

५ वर्षको न्याय सेवामा ४ वर्ष उत्कृष्ट न्यायाधीशको रुपमा रहेका वस्ती वर्षभरिमा सबैभन्दा बढी मुद्दा छिन्ने न्यायाधीशका रुपमा परिचित थिए। वस्तीले सबैभन्दा बढी देवानी र भ्रष्टाचार मुद्दा हेर्ने गर्थे।

भ्रष्टाचारको मुद्दामा बढी हेरेकै तथा कसैकाे दबाबमा नपरेका कारण स्थायी हुन नसकेको वस्तीकाे ठहर छ। उमेर र कामको हिसावले प्रधानन्यायाधीश हुने भन्दै उनलार्इ सर्वोच्चमा लगिएको थियाे। त्यही बेला वस्ती अख्तियारमा प्रवेश गरे। त्यहाँ वस्तीले चार्जसिट दर्ताको जिम्मेवारी पाएका थिए। उनी अख्तियारमा हुँदा नयाँ ऐन बनेको थियो।

'विधेयकमा एउटा राम्रो पक्ष भनेकाे दफा हाे, जुन दफाका अाधारमा भ्रष्टाचार मुद्दा नेपाल सरकारले चाहेर पनि फिर्ता लिन सक्दैन,’ उनले भने। सरकारी वकिल नहुँदा पनि नेपाल सरकारबाट बहस गर्ने पहिलो व्यक्ति प्रकाश वस्ती नै हुन्।

उनले गोविन्दराज जोशी र खुमबहादुर खड्काको मुद्दा हेरेर सरकारको प्रतिरक्षा गरेका थिए। त्यही 'राजनीतिक इगाे'का कारण आफू स्थायी नहुन सकेको वस्तीको टिप्पणी छ।

'अन्तिममा मसँग दुई वटा चिज थियो, त्यो हो, इमान र मेहनत,' उनले भने, 'मलाई जोगाउन सक्ने अस्त्र एउटा आत्मविश्वास र अर्को मेहनत, यी दुई बाहेक अरु कसैले मलाई जोगाउँदैन भन्ने पूरा विश्वास थियो।' अहिले वस्तीकाे त्यही इमान र इज्जतकाे बलमा जपक्षीय काम गरिरहेका छन्।

सम्पत्तिको अफर!

वस्तीका अनुसार न्यायाधीश हुँदा सम्पत्तीकाे अफर आउँछन्। 'तर, यसले भनेको मान्दैन र टेर्दैन, अन्यायविरुद्ध लड्न अडिग रहन्छ भन्ने जानेपछि आउँदैनन्,' उनले भने। उनले एउटा घटना पनि सुनाए।

'म वकिल थिएँ, विभिन्न व्यक्तिले मुद्दा दिन्थे, वकिल भएर गएको फुर्ति पनि थियो, मेरै जिल्लाको मान्छे, म उहाँलाई दाइ भन्छु,' वस्तीले थपे, 'उहाँ भोलि यो मुद्दा तेरोमा पर्छ, तैँले हेर्दिनु पर्याे भन्नु भयाे।'

कुन मुद्दा कसकहाँ पर्छ भन्ने न्यायाधीशलाई पनि त्यही दिनकाे बेञ्चमा मात्रै थाहा हुन्छ। 'तर, ती दाइलाई अघिल्लो दिनै थाहा भएछ, मुद्दाको बारेमा त मलाई केही थाहै छैन, नहेरी कसरी थाहा हुन्छ भनेपछि उहाँले हैन–हैन, हामी हिजो बिहानै बालुवाटार (प्रधानन्यायाधीश निवास) गएका थियौं, प्रधानन्यायाधीश केदार गिरीलाई भेटेर अाएकाे जानकारी दिनु भयाे।'

वस्तीले अगाडि थपे, 'एउटा मेरो मान्छे, एउटा तेरो मान्छे भन् भन्नुभयो। मैले त तेरो नाम भनें। बेञ्चमा भरतराजजी र म थियौं। भरतराजजीलाई यो कुरा शेयर गरें। अर्काे बेञ्चमा दामोदर शर्मा र म थियौं।

त्यो मुद्दा करिब ७०-७२ लाखको थियो। रीट जारी गर्दा ७०-७२ लाख आउँथ्यो। अनुपराज शर्मा रोल नम्बर-२ मा हुनुहुन्थ्यो। म उहाँलाई दाइ भन्छु। अनुपराज शर्माले भन्नुभयो, ‘यो कुरा हल्ला गर्ने होइन, यस्ता कुरा धेरै आउँछन्। चूप लागेर बस। गर्न मन लागे गर्नु, गर्न मन नलागे यो कुरा मनमै राख्नु, कसैलाई नभन्नु।’

त्यसपछि  दामोदर श्रीमान्लाई ‘श्रीमान् यस्तो–यस्तो कुरा’ भनेर बेलिविस्तार लगाएँ। उहाँले रोक लगाउनु भएन। त्यो मुद्दा मैले पहिले हेरिसकेको थिएँ। यो मुद्दा हार्छस् त्यो सम्पत्ति कुनै क्लाइन्टले किन्ने भन्ने कुरा उठेको थियो।

कुरा मनकामना केबलकारको हो। मैले १६–१७ वर्ष त्यो कम्पनीको वकिल भएर काम गरेको थिएँ। त्यो जग्गा भैंसेपाटी प्लानिङको हो, २१ रोपनी छ। मैले भनेँ, ‘पैसा धेरै छ भने हाल्नोस्, फोकटमा पैसा कमाएको भएदेखि, नभए नहाल्नुस्!’

मैले फेरि त्यो मुद्दा हेरिसकेको थिएँ, त्यही मुद्दा जिताउनुपर्ने रहेछ। मनकामना केबलकारलाई बेच्नुपर्ने, टेण्डर कल भयो। कसैले अर्नेष्ट मनि राख्यो। टेण्डर त हाल्यो, पछि र्पुयाउन सकेन।

२१ रोपनी जग्गा र्पुयाउन नसकेपछि जफत हुने भयो। जफत गर्न मिल्दैन भन्यो भने पैसा फिर्ता हुने रहेछ। मैले दोमोदर शर्मालाई भनेँ, ‘श्रीमान् यस्तो–यस्तो रहेछ यो मुद्दा। नहेर्ने भनेको छु।’

भर्खर न्यायाधीश भएर गएको थिएँ। मेरो भाइमार्फत एउटा संस्था आयो, ‘तेरो दाइ बेबकुफ रहेछ, मान्यो भने उसलाई खर्बपति र तँलाई अर्बपति बनाइदिन्छौँ!’ भन्दै। यस्ता अफर मलाई थुप्रै आए। अरुलाई पनि आउँछन्। ‘खाएर’ काम गर्छ भन्ने चाल पाएपछि त झन् कति हो, कति आउँछन्।'

भ्रष्टाचार रोक्ने प्रयास

वरिष्ठ अधिवक्ता श्रीहरि अर्यालको नेतृत्वमा अदालतका विसंगति औंल्याउने काम भयो। एउटा आयोग बनेको थियो। वास्तवमा वकिलको आँखाबाट अदालतभित्रबाट भ्रष्टाचार शब्द उच्चारण नगरे पनि विकृति र विसंगतिको अध्ययन वस्तीकाे टिमले शुरु गर्याे।

त्यो रिपोर्ट करिब–करिब चार सय पेजको प्रकाशित छ। त्यो टिममा हुनेवाला प्रधानन्यायाधीश सबै राखौँ भन्ने वस्तीकाे प्रस्ताव थियो। प्रधानन्यायाधीशले ‘राख्दिनँ’ भनेकाे उनी सम्झन्छन्।

'तर, उहाँपछि हुने प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठ र खिलराज रेग्मीलाई चाहिँ राख्नुभयो,' उनले भने, 'मैले मलाई नराख्नुस्, मलाई धेरैले लखेटिरहेका छन् भने, किनभने त्यो समूह (विचौलिया)ले हालिमहाली गरेकाे थियो।'

त्यो कमिटीमा बसेर प्रतिवेदन तयार पारेकाे उनले बताए। 'खिलराज रेग्मीले भन्नुभयो, श्रीमान् यो सबै नराख्नुस्, यो सबै राख्दा हाम्रै आन्द्राभुँडी देखिन्छ,’ वस्तीले भने, 'मैले लागू गर्ने तपाईहरुले नै हो, के फरक पर्छ, रामप्रसाद श्रीमान्ले त केही गर्नु पनि भयो भने।'

उनका अनुसार अन्ततः त्यो प्रतिवेदन बाहिर आयो। तर, बाहिर जे आएको छ, त्यो १० भागको एक भाग मात्रै हो। लुकाइएको र बाहिर ल्याइएको हेर्दा जोकोही छक्क पर्छन्।

इमान्दार व्यक्तिमा 'क्षमता कम'

वकिलको रुपमा वस्तीले जुन न्यायपालिका देखेको थिए, भित्र बुझ्दै जाँदा त्यहाँ फरक रहेछ। खराब र असल जहाँ पनि हुने तर तराजुको भाँडामा बराबर राख्दा खराब बढ्यो भने असल मान्छे घट्दै जाने उनकाे तर्क छ।

उनले भने, 'अहिले न्यायपालिका त्यस्तै छ, जो व्यक्ति इमान्दार छ, त्यसमा क्षमता कम छ, जो व्यक्ति क्षमतावान छ, त्यो धेरै बेइमान छ, त्यसकारण न्यायसम्पादनमा प्रश्न उठ्छ।' न्यायालयभित्र पनि विचौलिया रहेकाे उनकाे तर्क छ। फोनमार्फत पैसा कमाउनेहरुको सञ्जाल पनि  छ।

'पहिले यस्तो पुस्ता थियो त्यो सकियो, ग्रहणको अवस्थामा हामी छौं,' उनले भने, 'ग्रहणको उपजले मुलुक सञ्चालन भइरहेको छ, त्यस कारण अब नयाँ पुस्ता आउनु पर्छ, त्यो पुस्तालाई विचलित हुने खालकाे हुनुहुँदैन।'

मुलुकको प्रत्यक अंगमा क्षयीकरण 

वस्तीको विचारमा मुलुकका हरेक अंगमा क्षयीकरण भएको छ। 'के कार्यपालिका कार्यतालिका जस्तै छ? के विद्यायिकाले अाफूले जिम्मेवारी पूरा गरेकाे छ?,' उनी भन्छन्, 'अख्तियार पनि अख्तियार जस्तो छैन, हरेक क्षेत्र क्षयीकरण भएको छ।'

भ्रष्टहरुकाे हालीमुहाली रहेकाे उनी बताउँछन्। 'पहिले यस्तो पुस्ता थियो त्यो सकियो, ग्रहणको अवस्थामा हामी छौं,' उनले भने, 'ग्रहणको उपजले मुलुक सञ्चालन भइरहेको छ, त्यस कारण अब नयाँ पुस्ता आउनु पर्छ, त्यो पुस्तालाई विचलित हुने खालकाे हुनुहुँदैन।'

मुलुकमा दुख पाएका नेता पनि रहेकाे उनी बताउँछन्। 'देशमा भावी पुस्ताले यस्तो दुख नभोगुन् भन्ने सोचेर अगाडि बढ्नु जरुरी छ,' उनी भन्छन्।

'अब मलार्इ नेतृत्व गर्ने कुनै पनि संस्था छैनन्, सबै सिध्याएँ, मेरो खराब बानी के छ भने, दुःख पाउने। अरुले लेखेको मलाई चित्त बुझ्दैन, मेरो राय मैले आफैँले लेख्नुपर्छ। प्रायः रायमा ह्रश्वदीर्घ मिलेकै हुनुपर्छ।'

अवकाश पछिका ३ महिना

वि.सं. २०७० चैत २९ गते वस्तीकाे न्यायाधीशकाे जिम्मेवारी सकियो। न्यायाधीशको आचारसंहिता अनुसार कहिँ गएर अन्तरवार्ता दिन नहुने, केही बोल्न नहुने र कहिँ कतैसँग भेटघाट गर्न पाइँदैन।

'मेरो थुप्रै फैसला बाँकी थिए, लेख्न बाँकी थियो, सही गर्न बाँकी थियो, तीन महिना मैले चुपचाप बिताएँ,' उनले भने, 'अब मलार्इ नेतृत्व गर्ने कुनै पनि संस्था छैनन्, सबै सिध्याएँ, मेरो खराब बानी के छ भने, दुःख पाउने। अरुले लेखेको मलाई चित्त बुझ्दैन, मेरो राय मैले आफैँले लेख्नुपर्छ। प्रायः रायमा ह्रश्वदीर्घ मिलेकै हुनुपर्छ।'

अन्त्यमा

प्रकृतिले धेरै दिएको छ, नेपालमा त्यसको उपयोग गर्ने व्यक्तिको खाँचो र पर्खाइ रहेकाे पूर्वन्यायाधीश प्रकाश वस्ती बताउँछन्।

'चुनावपछि पनि देशको मुहार फेरिएन भने संक्रमणकालको अन्त्य हुने खालको राजनीति वातावरण बनेन भने यो जनता नै समस्या भाेग्न बाध्य हुन्छन्, उनले भने, 'भ्रष्टाचारमुक्त वातावरण बनाउनतिर सबै जागाैं, हरेक कुरामा प्रणाली र थिति बसाल्नुपर्छ।'


 

More form the Internet

loading...