Suvadin, Home
Bridge Water

भारतीय पूर्व प्रधानमन्त्री बाजपेयीको स्वास्थ्य अवस्था स्थिर, तर जटिल

भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएको छ। सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना भएका वाजपेयीको स्वास्थ्य अवस्था स्थिर रहेपनि जटिल नै रहेको चिकित्सकहरूले जनाएका छन्।
अटल बिहारी वाजपेयी।

नयाँ दिल्ली ३० जेठ – भारतीय पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्यमा समस्या देखिएको छ। सोमबार अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना भएका वाजपेयीको स्वास्थ्य अवस्था स्थिर रहेपनि जटिल नै रहेको चिकित्सकहरूले जनाएका छन्।

पूर्व प्रधानमन्त्री ९३ वर्षीय वाजपेयी बिरामी भएको खबर पाएलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कांग्रेस आइका अध्यक्ष राहुल गान्धी लगायतका भारतीय नेताहरूले उपचाररत अस्पताल पुगेर वाजपेयीको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

प्रधानमन्त्री मोदी र गान्धी दुवैजना अस्पतालमा नै पुगेर वाजपेयीको स्वास्थ्य अवस्थाबारे बुझेका थिए। ड्रविडा मसन्नेत्र काजागाम (डिएमके)का अध्यक्ष एम के स्टालिन तथा आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रवावु नाइडुले पूर्वप्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्थाप्रति चिन्ता व्यक्त गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि कामना गरेका छन्।

स्टालिनले वाजपेयीको स्वास्थ्यबारे पाएको सूचनाबाट आफू अत्यन्तै चिन्तित बनेको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्य लाभका लागि ट्वीटर सन्देशमा जनाएका छन्।

स्टालिनले लेखेका छन्, 'पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयी विरामी भई अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस अस्पताल भर्ना भएको खबरले मलाई चिन्तित तुल्याएको छ। उहाँको शीघ्र तथा पूर्ण स्वास्थ्य लाभका लागि कामना गर्दछु। मलाई विश्वास छ उहाँ छिट्टै स्वस्थ्य अवस्थामा घर फर्किनु हुनेछ।' 

अस्पतालका वरिष्ठ चिकित्सक तथा प्राध्यापक आरती विजले एक विज्ञप्ति जारी गरी पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य स्थिर रहेको र उपचारको नतिजा सकारात्मक देखिइरहेको बताएका छन्। 

प्राध्यापक विजद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था स्थिर छ। सबै मुख्य मापदण्डहरू स्थिर छन्। उहाँ सङ्क्रमण निको नहुँदासम्म अस्पतालमा नै रहनुहुनेछ।' 

वाजपेयी भारतीय जनता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने पहिलो नेता हुन्।