Suvadin, Home

भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधन, एम्समा लिए अन्तिम स्वास

भारतीय पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल बिहारी वाजपेयीको निधन भएको छ। पूर्वप्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको हो।
अटल बिहारी वाजपेयी।

इन्द्रकमल जैरु, नयाँ दिल्ली, ३१ साउन – भारतीय पूर्व प्रधानमन्त्री एवं भारतीय जनता पार्टीका वरिष्ठ नेता अटल बिहारी वाजपेयीको निधन भएको छ। 

पूर्वप्रधानमन्त्री वाजपेयीको ९३ वर्षको उमेरमा बिहीबार दिल्लीस्थित एम्स अस्पतालमा निधन भएको हो। वाजपेयीको बिहीबार पाँच बजेर ५ मिनेट जाँदा निधन भएको हो। अल भारतीय आयुर्विज्ञान संस्थान एम्समा उनको लाइफ सपोर्ट सिष्टममा राखेर विषेश उपचार प्रयास गरिएपनि बचाउन सम्भव भएन। 

एम्सले पत्रकार सम्मेलनमार्फत वाजपोयीलाई बचाउनका लागि एम्सका चिकित्सकको विशेष पहल सार्थक हुन नसकेको बताएको छ। 

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो ट्वीटर पेजमा पूर्व प्रधानमन्त्री वाजपेयीजीको निधनले आफूलाई ठूलो दुःख लागेको उल्लेख गरेका छन्। भारतीय जनता पार्टीका एकजना संस्थापक नेता वाजपेयी विभिन्न समयमा तीन पटक देशको कार्यकारी प्रमुख बनेका थिए।

वाजपेयीको एम्समा उपचार भएको थियो। त्यहाँ उनको स्वास्थ्य अवस्था खस्केपछि जीवनरक्षा प्रणालीमा राखिएको थियो। मधुमेहका बिरामी वाजपेयीको गत जुन ११ तारिखदेखि अस्पतालमा भर्ना गरिएको थियो। वाजपेयीको मिर्गौलाको सङ्क्रमणलगायत विभिन्न स्वास्थ्य समस्या पनि देखिएको थियो। 

कवि हुँदै प्रधानमन्त्री बनेका वाजपेयी

प्रसिद्ध हिन्दी कविको परिचय बदल्दै तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल भएका अटल बिहारी वाजपेयी निष्ठावान् राजनीतिज्ञको अविस्मरणीय छवि छाडेर बिहीबार सधैँका लागि बिदा भएका छन्। 

भारतमा सबभन्दा लामो समयसम्म सांसद बनेका बाजपेयी जवाहरलाल नेहरू र इन्दिरा गान्धीपछि सबभन्दा लामो समयसम्म प्रधानमन्त्री पनि बनेका थिए। गठबन्धन सरकारलाई स्थायित्व र सफलता प्रदान गर्ने प्रधानमन्त्रीको रूपमा पनि उनलाई सम्झने गरिन्छ। 

सन् १९२४ डिसेम्बर २५ तारिखका दिन उत्तर प्रदेशको आगरा जनपदको प्राचीन स्थान बटेश्वरमा उनको जन्म भएको थियो। उनले कानपुरको डीएवी कलेजबाट राजनीति शास्त्रमा प्रथम श्रेणीमा एमएको परीक्षा उत्तीर्ण गरेका थिए। एलएलबीको पढाई शुरू गरेपनि छोडेर विद्यार्थीकालदेखि नै राष्ट्रिय स्वयंसेवक संघमा लागेका थिए। 

महात्मा रामचन्द्र वीरद्वारा रचित अमर कृति विजय पताका पढेर आफू परिवर्तन भएको बताउने बाजपेयीले डा श्यामाप्रसाद मुखर्जी र पण्डित दीनदयाल उपाध्यायको निर्देशनमा राजनीतिको पाठ पढेका थिए। 

राष्ट्रियस्तरको वादविवाद प्रतियोगिताहरूमा भाग लिन थालेपछि सार्वजनिक छवि बनाउदै गएका वाजपेयीले पाञ्चजन्य, राष्ट्रधर्म, दैनिक स्वदेश र वीर अर्जुनको सम्पादक बनेका थिए। उन प्रखर वक्ता पनि हुन्।

प्राध्यापन पेशामा रहेका र राम्रा कवि मानिएका आफ्ना पिता कृष्ण बिहारी वाजपेयीको प्रेरणाबाट उनी साहित्यिक क्षेत्रमा लागेका हुन्। वाजपेयीको पहिलो कविता ताजमहल मानिन्छ। राष्ट्रप्रतिको वैयक्तिक संवेदनशीलता, संघर्षमय जीवन, परिवर्तनशीलता, जेलवास सबै परिस्थितिको प्रभाव एवं अनुभूति वाजपेयीका कवितामा पाइन्छ। 

भारतीय जन संघका संस्थापक वाजपेयीले सन् १९६८ देखि १९७३ सम्म त्यसको अध्यक्षको रुपमा राजनीतिक नेतृत्व गरे। सन् १९५५ मा लोकसभाका लागि गरेको पहिलो पटकको प्रतिस्पर्धामै उनी पराजित भए। सन् १९५७ मा बलरामपुरबाट जनसंघको तर्फबाट विजयी भई लोकसभामा पुगे।

सन् १९५७ देखि १९७७ सम्म जनसंघंको संसदीय दलको नेता बने। सन् १९६८ देखि १९७३ सम्म भारतीय जनसंघको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हालेका थिए। सन् १९७७ देखि १९७९ सम्म भारतको विदेश मन्त्री बनेर वाजपेयीले विदेशमा भारतको छवि राम्रो बनाउन सफल भए। उनले संयुक्त राष्ट्रसंघमा हिन्दीमा भाषण गरेर भारतीयलाई गौरवान्वित गराएका थिए। 

सन् १९८० मा भारतीय जनता पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका वाजपेयीले ६ अप्रिल, १९८० मा सो पार्टीको अध्यक्ष पदको जिम्मेवारी पाए। त्यसपछि दुईपटक राज्यसभामा निर्वाचित भए। र, सन् १९९७ मा प्रधानमन्त्रीका रूपमा पहिलो पटक देशको बागडोर सम्हाल्ने ऐतिहासिक अवसर पाएका थिए। 

उनले सन् १९९८ को अप्रिल १९ तारिखका दिन पनि पुनः प्रधानमन्त्री पदको शपथ ग्रहण गर्दै १३ दलको गठबन्धन सरकारमार्फत् पाँच वर्षमा देशको विकासमा अनेक आयाम थपेका थिए। 

आफ्नो कार्यकालमा उनले परमाणु शक्ति सम्पन्न देशहरूको सम्भावित क्रोधबाट विचलित नभई अग्नि दुई नामक परमाणु परीक्षण गरेर देशको सुरक्षाका लागि दृढ कदम उठाएका थिए।

उनले सय वर्षभन्दा लामो कावेरी जल विवाद समाधान गरेका थिए। ग्रामीण रोजगार सिर्जना एवम् विदेशमा बसेका भारतीय मूलका मानिसहरूका लागि वीमा योजना पनि शुरू गराएका थिए। 

वाजपेयीकै नेतृत्वमा सन् २००४ को लोकसभा चुनावमा भिडेको भाजपाले नतिजा आफ्नो पक्षमा पार्न नसकेपछि प्रतिपक्षमा बस्न बाध्य भयो। त्यसपछि उनले राजनीतिबाट सन्यास घोषणा गरेका थिए।


 

More form the Internet

loading...