Suvadin, Home

मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी

आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना शुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम शुरु भइसकेको छ। 
काठमाडौँका निर्वाचन क्षेत्रबाट मतपेटिका राष्ट्रिय सभागृह भृकुटीमण्डपमा ल्याइँदै। तस्वीरः रोशन सापकोटा/रासस

काठमाडौं, मंसिर २२ – निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको मंसिर १० र २१ गते सम्पन्न निर्वाचनको मतगणना तथा मतपेटिका संकलनको विवरण आउने क्रम जारी रहेको जानकारी दिएको छ। 

आयोगका अनुसार, मंसिर १० मा निर्वाचन सम्पन्न भएका ३२ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ निर्वाचन क्षेत्रको मतगणना शुरु भई कतिपय निर्वाचन क्षेत्रको अन्तिम परिणाम आउने क्रम शुरु भइसकेको छ। 

मुस्ताङ, मनाङ र रुकुम पूर्वको पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सम्पन्न भइसकेको छ। तर, विजयीको पूर्ण विवरण आयोगलाई आैपचारिकरुपमा प्राप्त भइसकेको जनाउँदै आयोगका प्रवक्ता नवराज ढकालले भने, 'ती जिल्लामा अब समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभा र प्रदेशसभातर्फको मतगणना शुरु हुँदैछ।' 

यसैगरी, मंसिर २१ गते बिहीबार ४५ जिल्लाका प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभा सदस्यतर्फ २५६ निर्वाचन क्षेत्रमा सम्पन्न भएको निर्वाचनका अधिकांश मतपेटिका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य अन्तिम चरणमा पुगेको छ। 

निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्रबाट बिहान १० बजे प्राप्त जानकारीअनुसार, सिन्धुली तेह्रथुम जिल्लाको ५७ मध्ये २०, सिन्धुली जिल्लाको १३७ मध्ये १८, काभ्रेपलान्चोकको १८९ मध्ये ३, नवलपरासी पूर्वको ११२ मध्ये १३, प्यूठानको १५१ मध्ये तीनवटा मतपेटिका ल्याउने क्रममा छन्। 

त्यसैगरी, सल्यानको १११ मध्ये ३३, दैलेखको १३६ मध्ये २२, सुर्खेतको १३८ मध्ये ८, डोटीको ११५ मध्ये २२, कैलालीको २३१ मध्ये १४, डडेल्धुराको ७७ मध्ये २१ मतदानस्थलमा मतपेटिका ल्याउँदै गरेको अवस्थामा छन्। अन्य मतपेटिका सदरमुकाम ल्याइसकिएको आयोगले जनाएको छ। 

दोस्रो चरणमा मतदान सम्पन्न भएका ४५ जिल्लामध्ये मतपेटिका संकलन भई उपत्यकाको ललितपुरका दुईवटा निर्वाचन क्षेत्रको मतगणना कार्य शुरु भइसकेको र क्षेत्र नम्बर–१ को मतगणना शुरु गर्ने तयारी हुँदैछ। त्यसैगरी, काठमाडौं तथा भक्तपुर जिल्लाका मतपेटिका संकलन भइसकेकाले केहीबेरमै मतगणना शुरु हुने आयोगले जनाएको छ।


 

More form the Internet

loading...