Suvadin, Home
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको रक्षा गर्न आफ्नो पार्टी आन्दोलनमा जानु परेको बताएका छन्। गौतमले जनता आफैले बनाएको संविधानको रक्षा आफ्नो पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दावी गरेका हुन्।
वामदेव गाैतम।

काठमाडौं, पुस २१


प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको रक्षा गर्न आफ्नो पार्टी आन्दोलनमा जानु परेको बताएका छन्। गौतमले जनता आफैले बनाएको संविधानको रक्षा आफ्नो पार्टी नेतृत्वबाट मात्रै सम्भव रहेको दावी गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजना गरिएको प्रदर्शन तथा विरोधसभाका लागि तयार गरिएको पार्टीको स्वयम्सेवक दस्तालाई बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आवश्यक निर्देशन दिँदै उपाध्यक्ष गौतमले संविधानको रक्षा गर्न सबै लाग्नुपर्ने बेला आएको पनि स्पष्ट पारे। उनले अनेकौँ षड्यन्त्र चिर्दै संविधानको रक्षा गर्न सबै पक्षलाई आह्वान गरे।

उपाध्यक्ष गौतमले संविधान कार्यान्वयन हुन नदिने बाह्य षड्यन्त्रलाई माओवादी नेतृत्वको सरकारले साथ दिएको आरोप लगाए। गौतमले संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको वातावरण बनाउन सरकारलाई पुनः आग्रह गरे।

सर्वाेच्च अदालतले दिएको आदेश संविधान संशोधन प्रस्ताव फिर्ता गर्नुपर्ने आशयका साथ आएको जिकिर गर्दै उनले अब निर्वाचनमा केन्द्रित हुनु पर्नेमा जोड दिए। गौतमले संविधानको रक्षा गर्दै कार्यान्वयनमा लैजान सरकारलाई सदन र सडक दुवै क्षेत्रबाट दबाब दिनु परेको बताए।

कार्यक्रममा एमाले सचिव प्रदिप ज्ञवालीले संविधान संशोधन प्रस्तावको औचित्य नरहेको दाबी गरे। सचिव ज्ञवालीले जनताको चाहना अनुसार सर्वोच्च अदालतको आदेश आएकाले सरकार संविधान संशोधन प्रस्ताव फिर्ता गर्न बाध्य हुने चेतावनी दिए।

एमालेले सीमांकनसहितको हेरफेर गर्ने अधिकार सम्बन्धित प्रदेशसभालाई मात्रै रहेको उल्लेख गर्दै संविधान संशोधन प्रस्ताव फिर्ता गर्न माग गर्दै सदन र सडक संघर्षलाई तीव्र बनाउँदै लगेको छ। एमालेसहितका विपक्षी गठबन्धनले सरकारले ल्याएको संविधान संशोधन प्रस्तावविरुद्ध शुक्रबार काठमाडौंमा प्रदर्शन गर्ने तयारी तीव्र पारेको छ।


 

More form the Internet

loading...