Suvadin, Home

विदेशी लगानी कर्तालाई ऊर्जा क्षेत्रमा लागनी गर्न मन्त्री पुनको आग्रह

सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानुनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानी गर्न उर्जा मन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । 

काठमाडौं । सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानुनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ नेपालमा लगानी गर्न उर्जा मन्त्री वर्षमान पुनले विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । 

संयुक्त अरब इमिरेटको अबुधावीमा जारी ‘बल्ड इनर्जी फोरम’ को ऊर्जा मन्त्रिस्तरीय सत्रलाई सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले नेपालमा लगानीका लागि खुला हृदयसाथ आउन आग्रह गरेका हुन् ।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको तथ्याङ्क पेश गर्दै पाँच हजार मेगावाट विद्युत् निर्यातका लागि छुट्याइएको समेत उनले बताए । नेपालको कूल ऊर्जा खपतको ८० प्रतिशत ऊर्जा परम्परागत बायोमास तथा पेट्रोलियम पदार्थ जस्ता प्रणालीमा नै रहेको भन्दै उनले देशभित्रै पनि जलविद्युत् र नवीकरणीय ऊर्जा खपतका लागि प्रशस्त आधार रहेको बताए ।

उनले जलविद्युत् र नवीकरणीय ऊर्जा सात प्रतिशतमात्रै उपभोग भइरहेको भन्दै त्यसलाई क्रमशः वृद्धि गर्दै लैजाने योजनामा आफूहरु रहेको प्रष्ट पारे । हालसम्म ८८ प्रतिशत जनसङ्ख्या ग्रिड र अफग्रिडका माध्यमबाट विद्युतीय पहुँचमा पुगेको र विद्युत्को प्रतिव्यक्ति उपभोग २४५ किलोवाट प्रतिघण्टा रहेको उनले उल्लेख गरे । उनले भने, 'हामीले प्रसारण र वितरण प्रणालीलाई बढाउँदै र विस्तार गर्दै लगेका छौँ ।'

उनले छिमेकी देशसँग पनि बजार पहुँचका लागि सहकार्य गरिरहेको जानकारी गराउनुभयो । मन्त्री पुनले छिमेकी देश भारतसँग ऊर्जा व्यापार र प्रसारण प्रणाली अन्तर आबद्धता सम्झौता भएको र त्यस्तै प्रकृतिको सम्झौताका लागि चीन र बङ्गलादेशसँग सहमति भएको बताए । 

उनले ऊर्जा क्षेत्रमा अन्तरदेशीय विद्युत् व्यापारका लागि आधारभूत सहमतिमा पुगेको पनि उल्लेख गरे । दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठनका (सार्क) देशसँग ऊर्जा सहयोग तथा आदानप्रदानका लागि ‘फ्रेमवर्क’मा सहमति जुटिसकेको बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) सदस्य राष्ट्रबीच पनि ऊर्जा क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतामा सहमति भइसकेको उनको भनाइ थियो ।


 

More form the Internet

loading...