भक्तपुर–२ दलहरुकाे विवादले मतगणना शुरु हुन सकेन, पर्सामा गणना शुरू हुँदै
भक्तपुर, मंसिर २२ – भक्तपुर क्षेत्र नम्बर–२ मा विवादका कारण मतगणना कहिले शुरु गर्ने भन्ने अनिश्चित बनेको छ। बिहान १० बजे सर्वदलीय बैठकमा सहमति हुन नसकेपछि मतगणना अनिश्चित बनेको हो।
डेढ घण्टा लामो सर्वदलीय बैठकपछि नेपाली कांग्रेसका प्रतिनिधि निशान ढुंगेलले बालकोट घटनाको निष्पक्ष छानवीन गर्नुपर्ने, घाइतेको उपचार हुनुपर्ने र घरमा भएका क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग राखेको बताएका छन्।
बालकोट घटनाको निष्पक्ष छानबिन हुनुपर्ने, घाइतेको उपचार हुनुपर्ने, घटनाको मुद्दा दर्ता हुनुपर्ने, धेरै घरमा क्षति पुगेको, क्षतिपूर्ति दिनुपर्ने, उनको माग रहेको र माग पूरा नभएसम्म मतगणना गर्न नदिने बताएका छन्।
लोकतान्त्रिक गठबन्धनलाई बाहिर राखेर मतगणना भए त्यसबाट उत्पन्न हुने परिस्थितको जिम्मेवारी आफुले नलिने पनि उनले बताएका छन्।
यता वाम गठबन्धनले भने बालकोट मतगणनालाई रोक्न नहुने माग गरेका छन्। वाम गठबन्धनका तर्फबाट एमालेका जिल्ला उपाध्यक्ष वचन देउजाले बालेकाट घटनाको छानबिन गर्नुपर्ने मागमा कुनै आपत्ति नभएको बताउदै बाहिर भएको झगडाको विषयलाई लिएर मतगणना रोक्न नहुने बताएकाछन्।
निर्वाचन अधिकृत उत्तम सिलवालले सर्वदलीय बैठकमा छलफल भए पनि मतगणना नरोकिने बताउँदै सहमतिमै केही समयपछि मतगणना शुरु हुने दाबी गरेका छन्।
यसैगरी, वीरगन्जको श्रीपुरमा मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक अायाेजना गरेकाे छ। मतगणना भर्खरै शुरू भएकाे छ।