Suvadin, Home

अछाममा यस्तो छ चुनावी सरगर्मी
भीम रावललार्इ राेक्न सक्लान् त भरत स्वाँरले?

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा अछाममा चुनावी सरगर्मी बढेको छ। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अछाममा उम्मेदवारहरू आमसभासँगै घरदैलो कार्यक्रममा व्यस्त छन्।
एमाले उपाध्यक्ष भीम रावल र कांग्रेस अछामका सभापति भरतबहादुर स्वाँर।

गीता कुँवर, अछाम, कात्तिक ३० – प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिदै जाँदा अछाममा चुनावी सरगर्मी बढेको छ। दुईवटा प्रतिनिधिसभा र चारवटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको अछाममा उम्मेदवारहरू आमसभासँगै घरदैलो कार्यक्रममा व्यस्त छन्। 

अछाममा मुख्य प्रतिस्पर्धी मानिएका नेपाली कांग्रेस र वामगठबन्धनबीच हुने देखिएको छ।  त्यसमा पनि क्षेत्र नम्बर १ मा अझै रोमाञ्चक प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।

अछाम क्षेत्र नम्बर १ मा वाम गठबन्धन तर्फबाटका उम्मेदवार एमाले उपाध्यक्ष भीमबहादुर रावल र पूर्वजिल्ला विकास समिति सभापति समेत रहेका कांग्रेस अछामका सभापति भरतकुमार स्वाँरबीचको प्रतिस्पर्धालाई धरैले चासोका साथ हेरेका छन्।

पहिलो पटक २०४८ सालमा कांग्रेसका बलवहादुर कुँवरसँग पराजित भएका रावल २०५१ को निर्वाचनमा गोविन्दबहादुर शाहलाई पराजित गर्दै पर्यटन राज्यमन्त्री बनेका थिए। 

२०५६ को चुनावमा कांग्रेसका उम्मेदवार गोविन्दबहादुर शाहसँग फेरि चुनाव लड्दा उनी पराजित भएका थिए।

 दाेस्राे संविधान सभाको निर्वाचनमा कांग्रेसका उम्मेदवार मेघराज खड्कालाई पराजित गर्दै संविधानसभा सदस्य बनेका रावल २०७२ सालको असोजमा गृहमन्त्रीको पद समालेका थिए।

सरकारको फेरबदलसँगै अर्को पटकको मन्त्रीमण्डल विस्तारमा रक्षा तथा उपप्रधान मन्त्रीको पद समालेका रावल प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसका उम्मेदवार भरतकुमार स्वारका लागि हेभिवइटका उम्मेदवार हुन्।

यस अघि चारपटक चुनाव लडेका रावलले दुई पटक जित र दुई पटक हार व्यहोरेका छन्।

रावलविरुद्ध स्वाँर नै किन?

वि.सं. २०५१ सालदेखि उम्मेदवारका आकांक्षी स्वारले कुनै पनि चुनावमा टिकट पाएनन्। तर, कांग्रेसको संगठन बनाउन र जोगाउन भने सदैव सक्रिय रहे।

उनी हेविवइट उम्मेदवार रावललाई टक्कर दिन सक्ने उम्मेदवार भएको र वामगठवन्धनसँगको प्रतिस्पर्धा गर्न जनतादेखि नेता कार्यकर्ताले उनलाई विश्वास गरेका कारण उम्मेदवार बनेको कांग्रेस महासमिति सदस्य राजन कुँवरले बताए।

०४९ देखि ०५४ सम्म जिल्ला विकास समिति अछामका सभापति रहेका स्वाँर ०५७ मा कांग्रेस पार्टी विभाजनसँगै प्रजातान्त्रिक कांग्रेसका जिल्ला सभापति बनेका थिए। 

पार्टी एकतासँगै उनी फेरि कांग्रेसका जिल्ला सभापति बने। वाम गठबन्धनसँगको चुनौतीपूर्ण प्रतिस्पर्धामा स्वाँर नै उपयुक्त उम्मेदवार भएको महासमिति सदस्य कुँवरको बुझाई छ।

जिल्ला निर्वाचन कार्यालय अछामको तथ्यांक अनुसार ०७० सालको संविधानसभा सदस्यको निर्वाचनमा अछाम क्षेत्र नम्बर १ मा ५६ हजार ५ सय ७४ मतदाता थिए। जसमा ४२ हजार चार सय ३३ मत सदर भएको थियो। कांग्रेसले १२ हजार नौ सय ६८, एमालले १७ हजार सात सय २५ र माओवादीले १० हजार नौ सय ६७ मत प्राप्त गरेका थिए।

०७० सालको निर्वाचनमा खसेको मतको संख्या अनुसार अहिलेको वामगठबन्धन र लोकतान्त्रिक गठबन्धनबीचको मतान्तर करिब १५ हजारको छ।

अछाम क्षेत्र नम्बर २ मा कांग्रेसबाट कांग्रेस अछामका पूव सभापति पुष्पबहादुर शाह र वाम गठबन्धनबाट एमालेका वर्तमान जिल्ला सचिव यज्ञबहादुर बोगटी चुनावी मैदानमा छन्।

प्रदेशतर्फ क्षेत्र नम्बर १ को (क) मा दोस्रो संंविधानसभा निर्वाचनमा भीमबहादुर रावलसँग निकटम प्रतिस्पर्धी भएर चुनाव हारेका नेपाली कांग्रेसबाट मेघराज खड्का र एमालेबाट गोविन्दबहादुर कुँवर चुनावी मैदानमा छन्।

सोही क्षेत्रको (ख) मा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार बैंकर झपट बोहरा र कांग्रेसबाट कांग्रेस पूर्वजिल्ला सचिव टेकबहादुर साउँद प्रतिस्पर्धामा छन्।

क्षेत्र नम्बर २ को (क) मा वाम गठबन्धनबाट माओवादी केन्द्रका केन्द्रीय आयोजक समिति सदस्य अक्कलबहादुर रावल र नेपाली कांग्रेसबाट रिटायर्ड शिक्षक सुरतबहादुर विष्टले टिकट पाएका छन्।

सोही क्षेत्रको (ख) प्रदेशमा नेपाली कांग्रेसबाट दोस्राे संविधानसभा निर्वाचनमा एमालेका भरत साउँदसँग निकटतम प्रतिद्धन्दी भएर पराजित भएका बलबहादुर कुँवर र एमालेबाट एमाले जिल्ला सचिवालय सदस्य बलबहादुर सोडारीले टिकट पाएका छन्।


 

More form the Internet

loading...