Suvadin, Home

जनताको चाहना सम्बोधन गर्न प्रजातन्त्र दिवसले प्रेरित गरोस : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्न प्रजातन्त्र दिवसले थप ऊर्जा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन् । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुकको आर्थिक–सामाजिक रुपान्तरण नेपाली जनताको चाहना भएको र जनताका ती चाहना सम्बोधन गर्न आजको दिनले प्रेरित गर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न प्रजातन्त्रलाई जीवन पद्धति बनाएर अघि बढ्ने प्रेरणा दिने विश्वास व्यक्त गरिन् । उनले प्रजातन्त्र दिवसले सबैलाई प्रजातन्त्रको आधारभूत मूल्य र मान्यता आत्मसात गर्दै अघि बढ्ने उत्प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गरेकी छन् ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई अङ्गीकार गर्दै न्याय र समानतामा आधारित समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गर्दै राष्ट्रपतिले यसलाई प्रजातन्त्रको ठूलो उपलब्धिका रुपमा लिन सकिने बताइन् । 

निरङ्कुशताविरुद्धको बलिदानीपूर्ण सङ्घर्षको परिणामस्वरुप मानवअधिकार तथा राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा प्रत्येक वर्ष फागुन ७ गतेलाई प्रजातन्त्र दिवसका रुपमा मनाइँदै आइएको छ ।


 

More form the Internet

loading...