Suvadin, Home

सरकारले चुनावमा ध्यान नदिएको विपक्षीको आरोप

एमालेसहितका विपक्षी दलका नेताहरुले सरकारले निर्वाचन गराउन चासो नदिएको आरोप लगाएका छन्। एमाले नेता रघुवीर महासेठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन नगराउन विभिन्न बहानाबाजी गरिरहेको आरोप लगाए।

काठमाडाैं, पुस २८


एमालेसहितका विपक्षी दलका नेताहरुले सरकारले निर्वाचन गराउन चासो नदिएको आरोप लगाएका छन्।

एमाले नेता रघुवीर महासेठ र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले निर्वाचन नगराउन विभिन्न बहानाबाजी गरिरहेको आरोप लगाए।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै एमाले नेता  महासेठले सरकार विभिन्न बहाना बनाएर निर्वाचन हुन नदिने खेलमा लागि रहेको बताए। ‘प्रधानमन्त्री पुष्पकमल दाहाल निर्वाचनको नाममा सरकारको आयु बढाउन लागि परेका छन्,’ उनको जिकीर थियो।

उनले सरकार विदेशीको इसारामा चलेकाले उनीहरुको निर्देशनबिना निर्वाचनको मिति घोषणा नहुने दाबी समेत गरे।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुखले मात्रै निर्वाचन घोषणा हुने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले ठूला दलहरुप्रति संकेत गर्दै १९/१९ वर्षसम्म स्थानीय निर्वाचन नगरेर लोकतन्त्रको मुरली बजाउन लाज नलाग्ने भन्दै कटाक्ष पनि गरे। ‘सरकारले निर्वाचन हुन नदिन संविधान संशोधन प्रस्ताव ल्याएर अत्तो थापिरहेको छ,’ अध्यक्ष केसीले भने, ‘संविधान संशोधन प्रस्ताव फिर्ता लिएर निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गछु।’

संघीय सदभावना पार्टीका अध्यक्ष अनिल झाले भने निर्वाचन गराउनका लागि संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित हुनुपर्ने पुरानै अडान दोहोर्याए । उनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित गरी निर्वाचनको वातावरण बनाउन प्रमुख प्रतिपक्ष एमाले पनि सहमतिमा आउने विश्वास व्यक्त गरेका थिए।


 

More form the Internet

loading...