बाह्रघरेदेखि बेलायतसम्मकाे यात्राः
बुवाको सपना पूरा गर्न समाजसेवामा सक्रिय लाहुरे युवा!
उत्तम रिजाल, झापा, ९ पुस – भनिन्छ – ‘बालबालिका बदमासी गर्छन्, तर बदमास हुँदैनन्।’ हो, बालसुलभ बदमासी जीवनको सरल र सफल मार्ग खोज्ने एउटा गोरेँटो पनि हो।
स्कूले जीवनमा अभिभावकले अह्राएको नटेर्नुपनि यही बालापनको एउटा मिठो बदमासी हो। तर, बालबालिकाको नियत बदमास हुने चाहिँ पटक्कै हुँदैन।
बुबाको इच्छा विपरीत काम गर्दै हिँड्ने झापा दमकका रोहित राई अहिले ब्रिटिश आर्मीमा कार्यरत छन्। त्यति बेला बुबाको मन दुखाएकोमा भगवानसँग क्षमा माग्छन् रोहित। किनभने त्यो बालसुलभ बदमासीलाई अहिले उनले मनन् गरेका छन्।
रोहित अचेल बुबाको सपना कसरी पूरा गर्ने भन्ने सोच्छन्। र, कोर्छन् नयाँ योजनाहरु। ड्यूटीबाट फुर्सद पाउँनासाथ उनको ध्यान त्यतै हुन्छ। उनी निरन्तर मेहनत गर्छन्। मेहनतबाट सफलताका सिँढी चढ्दै भविष्य सुन्दर बनाउनु पनि उनको लक्ष्य हो।
८–९ वर्षको हङकङ बसाइपछि बेलायत पुगेका रोहित वि.सं. २०६० सालमा ब्रिटिश आर्मीमा भर्ती भए।
बाह्रघरेदेखि बेलायतसम्म
वि.सं. २०३१ साल श्रावण १८ गते दमक–१९ सानो बाह्रघरेमा जन्मिएका रोहित राईका बुवाको चाहना चाहिँ उनलाई वकिल बनाउने थियो। बुवाको चाहना पूरा गर्न छोडेर मन दुखाएपनि अहिले गरिरहेको कामबाट बुवालाई पूर्ण रुपमा सन्तुष्ट बनाउने रोहितको अठोट छ।
८–९ वर्षको हङकङ बसाइपछि बेलायत पुगेका रोहित वि.सं. २०६० सालमा ब्रिटिश आर्मीमा भर्ती भए। सो दिनलाई आफ्नो जीवनको टर्निङ प्वाइन्ट मान्ने उनी विश्वका ३९ भन्दा धेरै देश घुमिसकेका छन्।
ब्रिटिश आर्मीको फोर्समा रहेर आतंकवादविरुद्ध लडिरहेका रोहित अफगानिस्तानमा रहेका बेलाको निकै ठूलो संकट आएको अनुभव सुनाउँछन्। ‘मृत्युसँग लडेर फर्किनु पर्थ्यो’ – राईले शुभदिनसँग भने।
विद्यार्थी जीवनमा बुवाको मन दुखाएकोप्रति निकै भावुक बन्ने रोहित बुवाकै चाहना अनुसार वकिल त बनेनन्। तर, असल कर्मबाट बुवाको आत्मशान्तिको कामना उनी गरिरहन्छन्।
पारिवारिक पृष्ठभूमि र अबको योजना
प्रजातन्त्र सेनानी स्व. मुगाधन राई तथा कृष्णकुमारी राईका १० औं सन्तान हुन् रोहित राई। उनको परिवार पनि राजनीतिक रुपमा प्रशिक्षित थियो।
अहिले बेलायतमा बसेपनि नेपालमा के गर्ने भनेर योजना बुन्नै व्यस्त छन् रोहित। यसमा ब्रिटिश आर्मीका प्रशिक्षक खुकुरी ट्रेनर उनकै दाजु राष्ट्र राईले साथ दिएका छन्।
विद्यार्थी जीवनमा बुवाको मन दुखाएकोप्रति निकै भावुक बन्ने रोहित बुवाकै चाहना अनुसार वकिल त बनेनन्। तर, असल कर्मबाट बुवाको आत्मशान्तिको कामना उनी गरिरहन्छन्।
रोहित ट्रष्टका माध्यमबाट सामाजिक कार्यमा होमिएका छन्। बुवाआमाको नाममा स्थापित मुगाधन कृष्णकुमारी राई मेमोरियल ट्रष्टका नामबाट रोहितले स्वदेश आएलगत्तै म्याराथुनको आयोजना गरे।
जसलाई उनले यस क्षेत्रमा रहेका खेलकुदप्रति रुची राख्नेलाई सम्मान गर्न आयोजना गरिएको भनी प्रष्ट्याए।
म्याराथुन गर्नुअघि रोहितले पूर्व क्षेत्रमै पहिलो पटक च्यारिटी डान्स पार्टीको पनि आयोजना गरी मनोरञ्जन दिलाउने प्रयास गरे। रोहित र राष्ट्र राईकै सहयोगमा सगरमाथा मल्टीमार्सल आर्ट एकाडेमी स्थापना गरिएको छ। प्रशिक्षक दीपक धिमालले निःशुल्क तालिम पनि दिइरहेका छन्।
भविष्यमा विभिन्न क्षेत्रका विपन्न विद्यार्थीहरुलाई आफ्नै लगानीमा अध्ययन गराउने उद्देश्य रहेको बताउने रोहित समाज नबनुञ्जेल र नबदलुञ्जेल मुलुक बन्न नसक्ने बताउँछन्।
ट्रष्टकै माध्यमबाट दमकको सरस्वती उच्च माविका दृष्टिविहीन विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुलाई न्यानो कपडा वितरण तथा खाद्यान्य दिने योजनाका साथ नेपाल आए उनी। ‘देशले के दियो होइन देशलाई के दिएँ भनेर नसोचेसम्म समुन्नत नेपाल सम्भव छैन’ – रोहितले भने।
समाज सेवा नै उत्तम जीवन भन्ने बुवाको विचारलाई ठ्याक्कै टिपेका रोहित ब्रिटिश आर्मीपछिको जीवन समाजसेवामै समर्पित गर्ने योजनामा छन्।