Suvadin, Home

Cover Image

सन्दर्भ : चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण
 शून्यबाट ७० वर्षमै विश्वशक्ति बनेको चीन : सिद्धान्तमा समाजवादी, व्यवहारमा पूँजीवादी 

सन् १९४९ मा कम्युनिस्ट पार्टीले माओ त्से तुङको नेतृत्वमा च्याङ काई शेकले नेतृत्व गरेको राष्ट्रवादी कोमिङताङ पार्टीलाई हराएर सत्ता हासिल गर्दा चीन गरिबीले थिलथिलो भएको थियो । तर, ७० वर्ष नपुग्दै चीन विश्वमै आर्थिक शक्तिशाली मुलुक बन्यो ।

अक्टोबर १, मंगलबारका दिन चीनले आफ्नो ७० औं वर्षगाँठ बनायो । उक्त अवसरमा चीनको तियानमेन चोकमा आर्थिक र सामरिक शक्ति प्रदर्शन गर्‍यो । निकै गरिब मुलुकबाट उठेर ७० वर्षको अवधिमै विश्वमा आर्थिक 'सुपरपावर' बन्ने यो यात्रामा आइपुग्दा के ७० वर्षअघि पुँजीवादको कट्टर आलोचक रहेका चिनियाँ कम्युनिस्ट पार्टीका चेयरम्यान माओले देखेको चीन रह्यो त भन्‍ने प्रश्न उठेको छ ।  

चीनका संस्थापक माओले बेइजिङको तियानमेन स्क्वायरमा जम्मा भएका जनतामा अगाडि चीन जनवादी गणराज्य भएको घोषणा गर्दा भनेका थिए, "चीन जनवादी गणराज्य र केन्द्रीय जनवादी सरकारको आज स्थापना हुँदैछ । चिनियाँ जनवादी गणराज्यको प्रतिनिधित्व गर्ने हाम्रो सरकार पूरा मुलुकको एकमात्र वैधानिक सरकार हो ।" 

माओले आफ्नो भाषणमा 'समानता' र 'लाभमा बराबर हिस्सेदारी' मा जोड दिँदै भनेका थिए, "हामी समानता, लाभमा सबैको बराबर हिस्सा र विदेशी सरकारको क्षेत्रीय सम्प्रभुताको सम्मान गर्ने सिद्धान्तको पालना गर्न चाहन्छौं ।" 

'समाजवादी चीन' मा माओको सपना 

७० औं वर्षगाँठ समारोहका अवसरमा राष्ट्रपति सी जिनपिङले पनि एकता, विकास र बलियो हुनुपर्नेमा जोड दिँदै भने, "आज 'समाजवादी चीन' दुनियाँको सामने उभिएको छ ।" 

तर, प्रश्न उठ्छन् कि के चीन वास्तवमै 'समाजवादी' चीन हो ? आर्थिक सुपरपावर बनेको चीनले के आफ्नो संस्थापक माओको सपनालाई पूरा गरेको छ ?

यस विषयको जवाफमा चीन मामिलाकी जानकार दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयकी प्रोफेसर अलका आचार्यले भनिन्, "चीनमा कम्युनिज्मको भावको अंशमात्र बाँकी रहेको छ । चीन एक कुराले मात्रै कम्युनिस्ट हो कि त्यहाँ कम्युनिस्ट पार्टीको सत्ता छ । यही कारण चीनले साम्यवादको जामा ओढिरहेको छ । तर, यसको वास्तविक अर्थ र विचारधाराको खोजी गर्ने हो भने चीनमा कम्युनिस्टको भाव खासै देखिँदैन ।" 

आचार्य थप्छिन्, "माओ चीन एक शक्तिशाली, सम्पन्न र बलियो मुलुक भएको देख्न चाहन्थे । यो उनको सपना त पूरा भएको छ तर, पछिल्लो ४० वर्षमा चीनले जुन नीति अपनाएको छ, त्यो नीति माओ र उनका क्रान्तिकारी साथीले देखेको समाजवादको सपनाभन्दा बिल्कुल फरक छ । माओको सपना थियो- समानताको यस्तो देश, जहाँ सबै नागरिक बराबरी हुन् । उचनीचको भावना नहोस् । पुँजीवादको न्यूनतम भूमिका देख्‍न चाहन्थे उनी । उनी सोच्थे कि मुलुकको मजदुर वर्ग सरकारमा पुगोस् । किसान र मजदुर कम्युनिस्ट पार्टीका आधार थिए । तर, आज उनीहरुले नै समस्या झेल्नु परेको छ । न्यू मिडिल क्लास नामको तप्का अहिले बढेको छ । जोसँग पैसा छ र जसले उपभोक्तावादमा विश्वास राख्छन् । यो सबै कुरा माओको सपनासँग बिल्कुल मेल खाँदैन । 

माओ पुँजीवादका कट्टर विरोधी थिए । तर, ७० वर्षको अवधिमा चीन पुँजीवादको मार्गमा अघि बढिरहेको छ । विश्वमै सबभन्दा तिव्रगतिमा प्रगति गरिरहेको मुलुक बनेको छ । चीनको आर्थिक विकास र समृद्धिबाट सम्पूर्ण विश्व आश्चर्यचकित छ । सन् २०१८ मा भएको चिनियाँ कम्युनिस्ट पार्टीको अधिवेशनबाट राष्ट्रपति सी जिनपिङको विचारधारालाई संविधानमा समावेश गर्दै चीनका पहिलेका कम्युनिस्ट नेता र संस्थापक माओको बराबरको मान्यता दिइएको छ । 

त्यस समय आफ्नो सम्बोधनमा राष्ट्रपति सीले चिनियाँ विशेषताको समाजवादको दृष्टिकोण व्यक्त गरेका थिए । उनले भने, "यो नयाँ अवधिमा हाम्रो लक्ष्यतर्फ बढ्ने दिशामा पछिल्लो सफलतालाई निरन्तरता दिनका लागि ऐतिहासिक प्रयास गर्नुपर्छ । खुलापनबाट प्रगतिको मार्ग प्रशस्त हुन्छ । आफूलाई एक्लो राख्दा तपाईं पछि पर्नुहुन्छ । चीन दुनियाँको लागि आफ्नो ढोका बन्द नगर्ने बरु पहिलेभन्दा बढी खुला भएर अघि बढ्नेछ ।" 

चीनको वर्तमान अर्थव्यवस्था सीकै 'चिनियाँ विशेषताको समाजवाद'मा आधारित छ । यसलाई 'जिनपिङ विचारधारा'समेत भन्‍ने गरिन्छ । यसको अर्थ के हो र यो कति सफल रहन्छ ? यस विषयमा दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयका प्रोफेसर स्वर्ण सिंहले चीन आजको समयमा एक सोसलिष्ट एकोनोमी विथ चाइनिज क्यारेक्टरस्टिक्सका नामले चिनिने बताए ।

उनले भने, "चीनको एक युनिक मोडल छ र यो सफल हुन्छ भन्ने लागिरहेको छ । रुस अथवा सोभियत संघको केन्द्रीय योजना होस् वा पश्चिमी मुलुकको उदार बजार । दुबैलाई झट्का लागेको छ । तर, चीनको आर्थिक वृद्धि दर भने टिकिरहेको छ । १९५० को दशकमा चीनका संस्थापकको पनि सपना यही थियो । चीनको आर्थिक सफलतालाई नकार्न सकिँदैन । 

शाओपिङको नीति अनुसरण 

जुन समय चीनमा कम्युनिस्ट पार्टी सत्तामा आएको थियो, त्यस समय मुलुक निकै गरिब थियो । न त चीनको अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध थियो, न त कुनै देशसँग ट्रेडिङ पार्टनरसिप नै । 

माओले आफ्नो मृत्यु (१९७६) सम्म २७ वर्ष चीनको नेतृत्व गरे । उनले उक्त अवधिमा मुलुकको आत्मनिर्भरतामा नै जोड दिए । सन् १९५० मा 'ग्रेट लिप फरवार्ड' का अनुसार चीनले कृषि आधारित अर्थव्यवस्था र औद्योगिकरणमा जोड दिइयो । त्यससँगै कम्युनिस्ट पार्टीमा आफ्नो प्रतिद्वन्द्वीबाट मुक्ति पाउनका लागि सन् १९६६ देखि १९७६ सम्म सांस्कृतिक क्रान्ति चलाइयो । 

माओको निधनपछि सत्तामा आएका देङ सिआओ पिङले सुधारवादी कलम उठाउँदै चीनको अर्थ व्यवस्थाको नयाँ रुप दिने प्रयास गरे । प्रोफेसर अलका आचार्य चीनलाई माओदेखि सी जिनपिङसम्म पुग्नमा देङ सिआओ पिङको महत्वपूर्ण भूमिका निर्वाह गरेका बताउँछिन् । 

उनले भनिन्, "माओले चीनलाई स्वतन्त्रता प्रदान गरेका थिए भने देङ सिआओपिङले चीनलाई सम्पन्न बनाए । देङ सिआओले सत्ता सम्हालेसँग सुधारको योजना ल्याए र चीनको कायापलट गरिदिए । उनले ल्याएको सुधारमा माओको राजनीतिक आर्थिक विकासको सिद्धान्तबाट अलग हुँदै गए र चीनमा बजारको भूमिका बढ्दै गयो । उनको एक भनाइ थियो- सोसलिज्म क्यान नट बी बिल अन पोभर्टी अर्थात् गरिबीका आधारमा समाजवादी व्यवस्था हुन सक्दैन ।" 

माओले प्रगतिसँगै सामाजिक सम्बन्धलाई पनि समतावादी बनाउन र आत्मनिर्भर बनाउन जोड दिएका थिए । तर, देङ सिआओपिङले 'ग्रोथ' (आर्थिक प्रगति) मा जोड दिए । 

उनको विचार थियो कि एकपटक आर्थिक उचाई हासिल भएमा बाँकी समस्याहरु स्वत: समाधान हुनेछन् । तर, प्रोफेरस अलका आचार्य भन्छिन्, "अहिलेको अवस्थामा चीन सबैभन्दा विषम अवस्थामा छ कि उसको नीतिले एकतर्फी ग्रोथमात्र भएन, त्यसले पर्यावरणमा समेत असर गर्‍यो । 

विश्वको कारखाना बन्दै चीन 

देङ सिआओ पिङले जुन आर्थिक नीति बनाएका थिए, पछि पनि त्यही नीतिका आधारमा चीन अघि बढ्यो । देङ सिआओले किसानलाई आफ्नो जमिनमा खेति गर्ने सुविधा दिएका थिए । जसले गर्दा मानिसको खानपिनको संकट कम हुँदै जनताको जीवनस्तरमा सुधार आयो । 

जब सन् १९७९ मा अमेरिका र चीनको कूटनीतिक सम्बन्ध स्थापित भयो र विदेशी लगानीको बाटो खुल्यो तब सस्तो मजदूर र सस्तो जग्गाको फाइदा उठाउनका लागि विदेशी लगानी भित्रियो । 

सन् २००१ मा चीन विश्व व्यापार संगठनमा सामेल भएपछि यसको आर्थिक प्रगतिको रफ्तार थप वृद्धि भयो । त्यसको केही समयमै चिनियाँ सामान विश्वभर पाइन थाले भने चीन विश्वलाई आवश्यक पर्ने वस्तु उत्पादनको कारखाना बन्यो । 

प्रोफेसर स्वर्ण सिंहले चीनले साम्यवादलाई कसरी नयाँ परिभाषा दिए भन्ने विषयमा भने, "कार्ल मार्क्सको दर्शन अनुसार मजदुर क्रान्ति आफैं सिर्जना हुन्छ । उनको विचार थियो - जब पूँजी केही सीमित व्यक्तिको हातमा मात्रै रोकियो भने अधिकांश मानिस कमजोर हुन्छन् र क्रान्ति सिर्जना हुन्छ । तर, यस्तो भएन । त्ससकारण सोभियत संघको गठनको समयमा लेनिनले एक पार्टी बनाउनुपर्‍यो । जब माओले चीन क्रान्ति गरे, तब त्यहाँ पुँजीवाद थिएन । त्यहाँ किसान थिए । चीनले साम्यवादको नयाँ परिभाषा बनाए । आज फेरि पुँजीवादीको पनि समावेश गरिँदै छ ।" 

प्रोफेसर सिंहले थपे, "चीनको ७० औं वर्षगाँठमा उद्योगीहरुको झाँकीसमेत प्रस्तुत गरिएको थियो । माओको सोच मजदूरलाई महत्व दिने सोच थियो । माओको त्यस सोचबाट चीन अहिले ठूला उद्योगीहरुको सेलिब्रेट गर्नेसम्म पुगेको छ । परिवर्तन आएको छ । यसरी हेर्दा आर्थिक वृद्धिमा रफ्तारमा निकै सफल भएको छ ।" 

प्रगतिको अर्को पक्ष

पछिल्लो ४० वर्षमा चीनले आफ्नो लगानी बढाउनका लागि, व्यापारका नयाँ मार्गको खोजीका लागि निकै सुधार गरेको छ । यससँगै आफ्नो मुलुकको गरिबहरुको जीवनस्तर उकास्ने विषयमा पनि सफल भएको मानिन्छ । 

तर, यस गतिमा भइरहको प्रगति गरिरहेको मुलुकको सफलताको कथाको अर्को पक्ष छ । अचानक भएको समृद्धिले असमानता पनि बढोत्तरी ल्याएको छ। प्रोफेसर स्वर्ण सिंहका अनुसार 'फ्रि मार्केटका कारण चीनको तीन-चार मुलुकमा भएको आर्थिक वृद्धिको इन्जेक्सन लागेको छ । त्यसमा विषमता बढी छ । 

सिंह भन्छन्, "चीनलाई लाग्छ कि हर समस्याको समाधान आर्थिक विकासबाट भइहाल्छ । तर, यो सोच पूर्णरुपमा ठिक हो भन्न सकिँदैन । जो सशक्तिकरणबाट लाभान्वित छन्, उनीहरु आफ्नो अधिकारका विषयमा आफ्नो कुरा राख्न चाहन्छन् । हङकङमा भइरहेको प्रदर्शन अथवा अन्य बिग्रहका समस्या आर्थिक प्रगतिबाट समाधान हुन्छन् । ७० औं वर्षगाँठका अवसरमा बोल्दै सीले पनि 'सबै नागरिकलाई समृद्ध बनाइने' बताए । हङकङ र मकाउका विषयमा बोल्दै त्यहाँ पनि समृद्धिसँगै स्थिरता कायम गर्ने बताए । 

"चीनलाइ लाग्छ समृद्धि आउँदैमा मानिसहरुका समस्या र चिन्ता सकिनेछन् । तर, अन्य मुलुक यस्तो विचारसँग सहमत हुन सक्दैनन् । पश्चिमी देशको दर्शन 'आर्थिक समृद्धिबाट मानिसका आवश्यकतामात्र पूरा हुन्छन् ।' पश्चिमी मुलुकमा अभिव्यक्ति स्वतन्त्रतालाई आर्थिक समानताभन्दा अघि हुनुपर्ने मान्यता छ । पश्मिचमी देशको विश्लेषण के छ भेन आर्थिक प्रगतिले सबै समस्या समाधान गर्ने चीनको दृष्टिकोणबाट सकारात्मक परिणाम निस्कने सम्भावना कम छ ।" 

प्रोफेसर अलका आचार्य भन्छिन्, "आर्थिक समृद्धिबाट आएको विषमताका कारण चीनको वर्तमान नेतृत्वको सामने चुनौती खडा भएका छन् । त्यससँग जुध्नका लागि माओको नाम र राष्ट्रवादको सहारा लिइँदै छ ।" 

यो कुरा मंगलबार राष्ट्रपति सीले दिएको भाषणमा समेत देखिन्छ । अलका भन्छिन्, "चीनले अहिले मुलुकलाई अघि बढाउन राष्ट्रवादको सहारा लिइरहेका छन् । सीलाई थाहा छ कि समाजमा अस्थिरता छ र समस्या पनि छन् । कहीँ-कहीँ त स्थिति बेहाल पनि छ । यसमा सीले माओका बराबर नेताका रुपमा आफूलाई प्रोजेक्ट गरिरहेका छन् । उनी कैयैं विषयमा माओको बाहनामा समर्थन जुटाउने कोशिस गरिरहेका छन् ।" 

सीमित खुला बजारका बाबजुद चीनले जुन आर्थिक प्रगति गरेको छ, त्यो पूरै विश्वका लागि एक उदाहरण हो । देङ सिआओको 'ग्रोथ' रणनीतिको हरेक नेताले आफ्नो हिसाबमा अघि बढाउने कोशिस गरिरहेका छन् । जसमा सी धेरै हदसम्म सफल भएका छन् । 

यसरी हेर्दा शक्तिशाली र आत्मनिर्भर चीनमा माओका सपना पूरा भइरहेको देखिन्छन् । तर, माओले ७० वर्षअघि नयाँ मुलुक बनाउँदा देखेको सपना 'समानता' र 'लाभको बराबर हिस्सेदारी' भने कहीँ पनि देखिँदैन । 

*अनुवाद : आदर्श राठौर  (बीबीसी)


 

More form the Internet

loading...