Suvadin, Home

स्थानीय निर्वाचनका लागि कांग्रेसको तयारी तीव्र

नेपाली कांग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ। कांग्रेसले संविधानबमोजिम राज्यको पुनर्संरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट सम्बन्धित तहमा पार्टी संगठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ। 
कांग्रेस केन्द्रीय समिति बैठक।

भीष्मराज ओझा, काठमाडौं, चैत १६ – नेपाली कांग्रेसले आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरी तीव्र तयारी थालेको छ।

कांग्रेसले संविधानबमोजिम राज्यको पुनर्संरचना र स्थानीय तहको निर्वाचनका लागि पार्टीका तर्फबाट सम्बन्धित तहमा पार्टी संगठन परिचालन गर्ने र उम्मेदवार चयन गर्नेलगायतका विषयमा आफ्नो विधानमा थप व्याख्या र स्पष्ट गरेको छ। 

कांग्रेसको तीन दिनसम्म राजधानीमा बसेको केन्द्रीय समिति बैठकले १३औं महाधिवेशनबाट गठित पार्टी संरचना कायम रहने गरी विद्यमान संरचनामार्फत जनस्तर (टोलस्तर) सम्म संगठन विस्तार गरी परिचालन गर्ने निर्णय गरेको केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले जानकारी दिएका छन्। 

निर्वाचन प्रयोजनका लागि स्थानीय समन्वय समिति गठन

स्थानीय तहको निर्वाचन प्रयोजनका लागि पार्टीले गाउँपालिका र नयाँ गठन भएको नगरपालिकाको केन्द्र रहेको गाउँ एकाइ सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक तथा सबै एकाइ कार्यसमितिका हाल बहाल सबै पदाधिकारीलाई गाउँपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरेको छ। 

नगरपालिका–उपमहानगरपालिका विस्तार भई नगरपालिका–उपमहानगरपालिका–महानगरपालिका गठन भएकोमा नगरका सभापतिलाई संयोजक र अन्य एकाइ सभापतिलाई सहसंयोजक र सबै एकाइ कार्यसमितिका सबै पदाधिकारीलाई नगरपालिका–उपमहानगरपालिका–महानगरपालिका समन्वय समितिको सदस्य कायम गर्ने निर्णय गरिएको नेता बडूले जानकारी दिए। 

वैशाख ७ गतेभित्र उम्मेदवार चयन गरिसक्नुपर्ने

कांग्रेसले आगामी वैशाख ७ गतेभित्र जिल्लास्थित संयन्त्रमार्फत सबै तहका लागि उम्मेदवार चयन गरिसक्न स्थानीय नेतृत्वलाई निर्देशन दिने निर्णय गरेको केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिए। उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर जिल्ला सभापतिले गर्नुपर्ने व्यवस्था छ। 

उम्मेदवार चयनका सम्बन्धमा पार्टीले एकै निर्वाचन क्षेत्रअन्तर्गत उम्मेदवारको नाम, सम्बन्धित गाउँ, नगर, उपमहानगर वडा, महानगर वडा समन्वय समितिको सिफारिसको आधारमा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धीको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्ने व्यवस्था गरिएको छ।

त्यस्तै दुई वा दुईभन्दा बढी क्षेत्रीय कार्यसमितिले सिफारिस गर्नुपर्ने अवस्थामा सम्बन्धित क्षेत्रमा रहेका पार्टीका केन्द्रीय सदस्य, सम्बन्धित क्षेत्रका सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार, क्षेत्रीय सभापतिको पदमा निर्वाचन भएको भए निकटतम प्रतिस्पर्धीको उपस्थितिमा भएको क्षेत्रीय कार्यसमितिको संयुक्त बैठकले सिफारिस गर्ने नेता यादवले बताएका छन्।

उक्त सिफारिसको आधारमा केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिस्पर्धी, सम्बन्धित क्षेत्रका क्षेत्रीय सभापति, सांसद, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकले सर्वसम्मत निर्णय गर्नेछ।

जिल्ला समन्वय समितिका प्रमुख, उपप्रमुख र सदस्यको चयन सम्बन्धित जिल्लाका केन्द्रीय सदस्य, जिल्ला सभापतिको पदको निर्वाचनमा निकटतम प्रतिष्पर्धी, दोस्रो संविधानसभाका प्रत्यक्षतर्फका उम्मेदवार समेतको उपस्थितिमा भएको जिल्ला कार्यसमितिको बैठकबाट सर्वसम्मत निर्णय गर्नेछ।

प्रहरी प्रमुखका सम्बन्धमा सर्वाेच्चको निर्णय हस्तक्षेप

कांग्रेसले संविधानले संवैधानिक सर्वोच्चता, बहुदलीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तलाई स्वीकार गर्दै कार्यकारिणी अधिकारको स्पष्ट व्यवस्था गरेको भएता पनि प्रहरी प्रमुख नियुक्ति सम्बन्धमा सर्वोच्च अदालतले हालै गरेको निर्णयले कार्यकारिणी अधिकार क्षेत्रमा हस्तक्षेप भएको महसुस गरेको छ। 

कांग्रेसले संसद्मा प्रस्तावित संविधान संशोधन विधेयक संसद्मा रहेका सबै दलको यथाशक्य सहमतिमा पारित गर्न नेपाली काँग्रेसले अग्रसरता लिने र त्यसका लागि संसद्मा रहेका सम्पूर्ण दलसँगको संवादलाई तीव्र र सार्थक बनाउन पहलकदमी लिने निर्णय गरेको छ।

कांग्रेसले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न आवश्यक वातावरण बनाउन सरकारलाई आग्रह गर्दै निर्वाचनमा सहभागी हुन सम्पूर्ण राजनीतिक दललाई अपिल गरेको छ। 

पार्टीले भूकम्पबाट प्रभावितलाई सबैलाई राहतको बाँकी किस्ता उपलब्ध गराउन तथा बाढी, पहिरोपीडितलाई भूकम्प प्रभावितसरह राहत दिने निर्णय गरेको छ। त्यस्तै घर जग्गा अनुदान अविलम्ब उपलब्ध गराउन सरकारसँग माग गरेको छ। 

अनुशासन समितिमा श्रेष्ठ, लेखामा यादव

कांग्रेसले विधानअनुसार अनुशासन समितिको संयोजकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठलाई चयन गरेको छ। लेखापरीक्षण समितिको संयोजकमा केन्द्रीय सदस्य चित्रलेखा यादवलाई चयन गरेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताएका छन्।

पार्टीले गत फागुन २६ गते कञ्चनपुर जिल्लामा नेपाल–भारत सिमानामा भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट गोविन्द गौतमको मृत्यु भएको घटनालाई दुःखद्, खेदजनक र दुर्भाग्यपूर्ण भनेको छ।

साथै घटनाको सम्बन्धमा भारतको उच्च कूटनीतिक तहमा पहल गरी घटनाको यथार्थ छानबिन गरी दोषीमाथि कारबाही अगाडि बढाउन, मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ। 

आइतबारदेखि सुरु बैठकले यसअघि सभापति शेरबहादुर देउवाको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठन गरिसकेको छ। पार्टीका ४२ वटा केन्द्रीय विभाग कायम गर्ने निर्णय गरेको मुख्य सचिव पौडेलले जानकारी दिए।

त्यस्तै वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा केन्द्रीय निर्वाचन परिचालन समिति र केन्द्रीय सदस्य महेश आचार्यको संयोजकत्वमा स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र तयारी समिति समेत गठन गरिसकेको छ। रासस


 

More form the Internet

loading...