Suvadin, Home

Cover Image

सन्दर्भ - ३७ औं बीपी स्मृति दिवस
जागरण अभियानले पनि जगाउन नसकेको कांग्रेस अझै कोमामै 

काठमाडौं । नेपाली कांग्रेसका शीखर पुरुष तथा प्रजातान्त्रिक समाजवादका चिन्तक विश्‍वेश्‍वरप्रसाद कोइरालाको आज ३७ औं स्मृति दिवस । कांग्रेसले स्मृति दिवसको अवसरमा विभिन्‍न कार्यक्रम गरी मनाउँदैछ । हिजो उनलाई फाँसी दिनुपर्छ भन्नेहरूका लागि आज बीपीको विचार चाहिएको छ । त्यसैगरी विदेशको दलाल पुँजीवादी देख्नेहरूले पनि आज बीपीलाई देशभक्त देख्‍न थालेका छन् । 

बारम्बारको हमला, आक्रमण, बहुदलका लागि गरेको संघर्ष र प्रजातन्त्र प्राप्तिमा बीपीको योगदान अतुलनीय छ । आज तिनै बीपी, जसले प्रजातन्त्र र बहुदल फर्काउन जनताले दुख पाएको भन्दै ०३५ सालमा दमौलीमा आयोजित एक सार्वजनिक कार्यक्रममै बीपीले आँशु झारेका थिए, त्यस्तो व्यक्तिले नेतृत्व प्रदान गरेको पार्टी नेपाली कांग्रेस अहिले कोमामा छ । गुट, उपगुटको चरम जालमा फसेको छ । व्यक्तिपरक स्वार्थ नमिल्दा पार्टी नै तहसनहस बनाउन कांग्रेस सेनाहरु (नेता-कार्यकर्ताहरु) तल्लिन भइरहेका छन् । 

पार्टीभित्र यतिबेला आन्तरिक विवादले सगरमाथाको उचाइ नापिरहेको छ । कांग्रेस कोमामा भएपछि सत्तारुढ दललाई दरिलो फाइदा पुगेको छ, जथाभावी निर्णय लिन। कांग्रेसले प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेपछि सरकारका एकाधिकारवादी निर्णय फिर्ता, स्थगित र रद्द गराउन आमनागरिक नै तात्‍नुपरेको छ। लामो समय सत्ताको रापमा रमाएको कांग्रेस गत निर्वाचन परिणामपछि कोमामा पुगेको थियो। उसका क्रियाकलाप हेर्दा अझै होसमा आएको देखिन्‍न ।

परिणामपछि जसरी पार्टी संगठन मजबुत तुल्याउने र सत्ताका खराब कामको जसरी निगरानी गर्नुपर्ने थियो, दुवैमा चुकेको छ कांग्रेस । त्यसमा लोकतन्त्रको हिमायती ठान्ने दलको नेतृत्व तहले आफूलाई लोकतान्त्रिक चरित्रमा ढाल्न नसक्दा समस्या उत्पन्‍न भएको भन्दै आलोचना भइरहेको छ । 

नेतृत्व तहमा आफूलाई निरन्तर स्थापित गराइराख्ने रणनीतिअनुरूप पार्टीलाई दाउमा राख्ने दृश्य निरन्तर मञ्चन भइरहेको छ । कांग्रेसको नेतृत्वमा शेरबहादुर देउवा निर्वाचित भएपछि पार्टीका विभागहरू विधानमा मात्र सीमित हुन पुगे । लामो समयदेखि पार्टीको नेतृत्वमा रहेका र त्यसको बलमा फाइदा लिन बानी परेकाहरु पदमा नहुँदा अत्तालिएका छन् । जसका कारण पार्टीको नेतृत्व तहलाई निर्णय गर्नै नदिने, अवरोध गर्ने र ढुंगामुढा गर्न कार्यकर्ता बोलाएर तैनाथ राख्‍ने संस्कृति कांग्रेसमा विकास भइरहेको छ । सभापति देउवालाई दाउमा राखेर बाहिर आफ्नो राजनीतिको रोटी सेक्‍नेहरुलाई कांग्रेसलाई खोक्रो बनाइरहेका छन् । सभापति देउवाले पनि आफ्नो स्वभाव र बानीमा परिवर्तन ल्याउनै कनै छनक देखाएका छैनन् ।

तिनमा लोकतान्त्रिक विधिअनुरूप निर्वाचन पद्धति अपनाइएको कांग्रेसका भ्रातृ संस्थाहरु जीवन्त रहने थिए । निर्वाचन गराएको खण्डमा भ्रातृ संस्थाहरू आफूअनुकूल नहुने हो कि भन्ने संकीर्ण सोच हावी हुँदा र विद्रोह तथा मनोनित गर्दा आफ्नो मान्छेले पो पद पाइहाल्छ भन्‍ने लोभ विभिन्‍न गुटमा हाबी हुँदा निर्वाचन प्रणाली नै लोप हुने अवस्थामा पुगेको छ । पार्टी र संगठन तदर्थ र ‘खाली’ वादको भुमरीमा परेपछि कांग्रेस थवप संकटमा फस्दै गएको छ । आफैं संकटमा फसेपछि सरकारको कामको मूल्यांकन, निगरानी र आलोचना गर्ने संगठित हैसियत पनि यस पार्टीले गुमाएको छ । प्रमुख विपक्षीहरूको ‘हैसियत’ बुझेपछि सत्तारुढ दललाई स्वार्थमूलक काम गर्ने बाटो खुलेको हो।

लोकतन्त्रकै निम्ति चुनौती दिने विधेयक ल्याउँदा होस् या जनभावनाविपरीत सरकारी निर्णय हुँदा होस्, कांग्रेस नेतृत्व कतिपय बेला मौनता साँध्ने त कतिपय अवस्थामा देखावटी विरोध मात्रैमा सीमित देखिन्छ । सरकारका दर्जन बढी विवादास्पद निर्णयमा प्रमुख प्रतिपक्षी कांग्रेस आफ्नो भूमिका दर्ज गर्न असफल रह्यो। संसदमा स्वर उच्चारण गर्न चुक्यो। लोकतान्त्रिक संविधान र जनभावनाविरुद्धका कानुन निर्माण र संशोधनको प्रयास भइरहँदा किन कांग्रेस जाग्‍न सकेन ? आमतहमा आएका स्वाभाविक प्रश्न हो यो ।

आफ्नै जननेता बीपी स्मृति दिवस पनि गुटगत रुपमा फरक-फरक स्थान र समयमा मनाइँदैछ । यसबाट पनि पुष्टि हुन्छ कि कांग्रेस अहिले एक पार्टीभन्दा पनि विभिन्‍न समूहरुको झुण्डजस्तै बन्‍न पुगेको छ । 

 प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक भएमा मात्र संसदीय अभ्यास र लोकतन्त्र बलियो हुन्छ भन्ने हेक्का कांग्रेसले राख्न सकेको छैन । चिनी, सुन, वाइडबडी, बूढीगण्डकी काण्डसँगै बालुवाटार जग्गा प्रकरणमा समेत प्रमुख प्रतिपक्षको भूमिका सुषुप्त हुनु कांग्रेसको भविष्यकै निम्ति सकारात्मक दृश्य होइनन्। यस्ता कैयन् विवादित विषयमा बोल्न नसक्नु र बोलेको आवाज पनि मधुरो हुनुले प्रतिपक्ष कतै सत्तापक्षकै धापमा परेको त छैन भन्ने सन्देश प्रवाहित भइरहेको छ ।

पार्टीलाई सक्रिय र क्रियाशील तुल्याउन नसक्दा होस् या सरकारका कामको निगरानी गर्न नसक्नुको जसअपजस नेतृत्व र खासगरी पार्टी सभापति देउवाकै काँधमा पर्छ । कांग्रेसले आफूलाई संघीयता कार्यान्वयनमा देखाएको उदारताको अनुभूति गराउन पहिला उसले आफ्नो संगठन पनि संघीय संरचनाअनुसार बनाउनुपर्ने थियो । तर, कांग्रेसले त्यतातिर पनि ध्यान दिएको देखिदैँन । 

जनतालाई जागृत गर्न आयोजित देशव्यापी राष्ट्रिय जागरण अभियानले कांग्रेसका शीर्ष नेतालाईसमेत जागृत गर्न सकेन् । जागरण अभियानमा देशदौडामा खटिएका नेताले पार्टी सभापति आलोचना गर्न र निर्वाचनमा हारको परिणाम पहिल्यानै बढी समय खर्च गरे । यसले उनीहरुको मानसिकता जागृत नभएको स्पष्ट हुन्छ । यती धेरै विषयवस्तु, सन्दर्भ र प्रसंग हुँदाहुँदै पनि आफ्नो पदीय हैसियत, नैतिकता र पार्टीले जीम्मेवारी बिर्सेर आफ्नै नेताको दोहोलो काड्दा फाइदा कसलाई हुन्छ भन्‍नेसम्म पूर्वमूल्याकंन गर्न नसक्ने कांग्रेसका नेतालाई जागृत गर्नुपर्ने पहिलो आवश्यकता देखिन्छ । 

कांग्रेसजत्तिको अनुभवी पार्टीले प्रतिपक्षको भूमिका नबुझेको पक्कै होइन र लोकतन्त्रको मूल्य-मान्यता र आदर्शको दुहाइ दिन चुक्दैन पनि । तर, राष्ट्रियता, सार्वभौमिकता तथा बहुलवाद, स्वाधीनता, संसदीय पद्धति, न्यायिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानवाधिकारजस्ता मूल्य-मान्यता धर्मराउँदा बोल्ने हैसियत गुमाउँदै गएको देखिन्छ । 

त्यसको मूल कारण हो- आफ्नै दलभित्र लोकतान्त्रिक दृश्य कायम गर्न नसक्नु । जागरण अभियानका बेला स्थानीय तह तथा जिल्ला तहका नेताकार्यकर्ताले नै केन्द्रमा नेताहरू जागृत हुनुहोस्, तल्लो तहमा हामी जागृत छौं भन्ने दबाब दिए। यीलगायतका कारणहरुबाट पुष्टि हुन्छ कि कांग्रेस अझै कोमामै छ । जनतलाई जागृत गर्नुभन्दा पहिले केन्द्रका नेतालाई जागृत गर्नु र भ्रष्ट मानसिकता त्याग्‍न प्रतिबद्ध हुनु आवश्यक देखिन्छ । कांग्रेस दरिलो भयो भने सरकार दरिलो बन्छ र मुलुकको समृद्धिको यात्रा सहज बाटोमा अघि बढ्न सक्छ । 


 

More form the Internet

loading...