Suvadin, Home

‘नेपालको संविधान विश्वकै उत्कृष्ट’, राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले के भने?

नेपालको संविधान जारी भएको आज दुर्इ वर्ष पुरा भएकाे छ। २०७२ असोज २ गते  तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका थिए।
photo source: kaymu.com

काठमाडाैं, असाेज ३–नेपालको संविधान जारी भएको आज दुर्इ वर्ष पुरा भएकाे छ। २०७२ असोज २ गते  तत्कालीन राष्ट्रपति रामवरण यादवले नेपालको संविधान २०७२ मा हस्ताक्षर गर्दै संविधान जारी भएको घोषणा गरेका थिए।

संविधानसभा भवनमा आयोजित एक विशेष समारोहबीच यादवले नयाँ संविधान जारी गरेसँगै अन्तरिम संविधान २०६३ निष्क्रिय भएको थियो।
त्यसअघि नयाँ संविधानका पाँचवटा प्रतिलाई ढोग्दै राष्ट्रपति यादवले त्यसमा हस्ताक्षर गरेका थिए।

जनताका प्रतिनिधिले पारित गरेको पहिलो र नेपालको सातौं संविधान हो। संविधान सभाको दोश्रो निर्वाचनबाट निर्वार्चित संविधान सभाले २०७२ साल भदौ ३० गते यो संविधान २ तिहाई भन्दा बढी मतले पारित गरेको थियोे।  

संविधान जारीको दुई वर्ष पुग्दा अहिले मुलुक निर्वाचनमय बनेको छ।स्थानीय तहको चुनाव सम्पन्न भइसकेको छ। प्रदेश २ को मतपरीणाम आउन बाँकी छ। प्रदेश र संघको निर्वाचन आगामी मंसीर १० र २१ गतेका लागि तय भएको छ। तसर्थ नेपालीका लागि २०७४ निर्वाचन  वर्ष रहनेछ।

संघीयतासहितको नयाँ संविधानको सन्दर्भमा सातै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न हुनु, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको मिति तय हुनुले मुलुक अब आर्थिक समृद्धिको मुद्दामा केन्द्रित हुने दिशामा अघि बढेको छ।
नयाँ संविधानको नाम नेपालको संविधान २०७२ रहेको छ, जसमा जम्मा धारा ३ सय ८ धारा छन। त्यसैगरी संविधानमा ३५ भाग र ९ वटा अनुसूची छन।

निर्वाचनले लोकतन्त्रका संरचनालाई थप संस्थागत गर्ने छ : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी शुभकामना व्यक्त गरेकी छन्। 

संविधान दिवस २०७४ का अवसरमा राष्ट्रपति भण्डारीले दिएको शुभकामना सन्देशमा नेपाली जनताको लामो संघर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट निर्मित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको आजको दिन महत्वपूर्ण ऐतिहासिक दिन भएको उल्लेख गरेकी छन्।

‘संविधान जारी भएपछि सम्पन्न गर्नुपर्ने स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ भने प्रादेशिक र संघीय निर्वाचन घोषणा भएर त्यसको तयारीमा हामी जुटिरहेका छौँ। यी सबै निर्वाचनले राज्य संचालनका संवैधानिक र कानुनी व्यवस्था एवम् लोकतन्त्रका संरचनालाई थप संस्थागत र सुदृढ गर्नेछन् भन्ने मैले विश्वास लिएको छु,’ जारी शुभकामना सन्देशमा भनिएको छ।

 

देश आर्थिक समृद्धिको यात्रामा जाने छः उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले जनआन्दोलन, सशस्त्र संघर्ष, जनयुद्ध र २०६२÷०६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णिम दिन संविधान दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन्। 

शुभकामना सन्देश जारी गर्दै उपराष्ट्रपति पुनले संविधान कार्यान्वयनका प्रमुख पक्ष स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको र प्रदेश र संघको निर्वाचन घोषणा भइसकेकाले  उत्साहका साथ सहभागी हुन आह्वान गरेका छन्।
 

नेपालको संविधान विश्वकै उत्कृष्ट :  प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान दिवसले राष्ट्रिय एकता र समृद्धिको मार्गमा हिँड्न प्रेरित गरोस् भने कामना गरेका छन्। 

शुभकामना सन्देश दिँदै प्रम देउवाले नेपालको संविधान लोकतान्त्रिक मूल्यमान्यता, समावेशिता र नागरिक अधिकारको सन्दर्भमा विश्वकै उत्कृष्ट रहेको उल्लेख गरेका छन।् संघीयता, शक्ति पृथकीकरण र सन्तुलन, आवधिक निर्वाचन, मानवाधिकार, सहभागितामूलक राजनीतिक प्रणाली, स्वतन्त्र न्यायपालिका, संयुक्त राष्ट्र संघको बडापत्रप्रतिको सम्मान एवं समाजवादोन्मुख अर्थतन्त्रलगायत गुणलाई संविधानले अंगीकार गरेको उनले बताएका छन्। 

प्रधानमन्त्रीले सन्देशमा यसको सफल कार्यान्वयनका लागि यसले निर्दिष्ट गरेको लोकतान्त्रिक संस्थाहरूको सबलीकरण गर्दै अगाडि बढ्न आवश्यक रहेकामा जोड दिए। स्थानीय, प्रान्तीय र संघीय तहको निर्वाचनसँगै मुलुक संक्रमणकालीन अवस्था पार गर्दै राजनीतिक स्थायित्व र आर्थिक विकासको नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्रीको भनाइ छ।


 

More form the Internet

loading...