Suvadin, Home

होली वाइनको अभिषेक गराएर ल्याइएको गुठी विधेयक फिर्ता गरियोस् : सांसद बडु 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको वर्तमान दुई तिहाईको सरकारले नेपाल र नेपाली समाजको धार्मिक सांस्कृतिक समाजिक मूल्य मान्यता र मौलिक पहिचानलाई नै समाप्त पार्ने गरी योजनाबद्धरुपमा गुठी विधेयक २०७५ ल्याएको नेपाली काँग्रेसले आरोप लगाएको छ । 

व्यवस्थापिका संसदको बैठकमा बोल्दै कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले नेपाली समाजको गौरवपूर्ण मौलिक संस्कृति र पहिचना मेटाउँदै होली वाइनको अभिषेकको संस्कृतिलाई प्रतिस्थापन गर्ने आत्मघाती बाटोमा सरकार उद्दत भएको आरोप लगाएका हुन् ।

विधेयकको विरोधमा सडकमा स्वस्फूर्त रुपमा चलिरहेको आन्दोलनमा नेपाली काँग्रेसको ऐक्यबद्धता र समर्थन रहेको बताए ।

‘सरकार अहिले अन्धो भएको छ । दिनानुदिन बढिरहेको आन्दोलन देखिरहेको छैन । सरकार बहिरो भएको छ, जनताको आवाज सुनेको छैन,’ बडुले भने, ‘आन्दोलनलाई फगत सरकारको विरोध भनेर दमनमा सरकार उत्रिएको छ ।’

बडुले तत्काल उक्त विधेयक फिर्ता लिएर वार्ता र संवादको बाटोमा जान सरकारसँग जोडदार माग गर्दै यसबाट उत्पन्न हुने गम्भीर परिस्थितिका लागि सरकार स्वयम् जिम्मेवार हुने चेतावनी पनि दिए ।

उनले गुठी विधेयकबारे सरकारले दोहोरो चरित्र देखाएको पनि आरोप लगाए । ‘प्रधानमन्त्रीले यसरबारेमा सोचिनेछ, विचार गरिनेछ भन्ने र सरकारकै प्रवक्ताले सामन्ती अवशेष समाप्त पारेरै छाडिने अभिव्यक्ति दिने ? यो सरकारको दोहोरो चरित्र भयो । यो कुटेजस्तो र रोएजस्तो नाटक हामीलाई स्वीकार्य छैन ।

बडुका अनुसार संविधानको भाग ३ मौलिक हकको धारा २६ (२) ले प्रत्येक धार्मिक सम्प्रदायलाई धार्मिक स्थल र धार्मिक गुठी संचालन गर्ने हक हुनेछ भन्ने स्पष्ट उल्लेख गरेको छ ।

प्रस्तावित विधेयकको दफा ४ मा सरकारले प्राधिकरण गर्ने र दफा २३ मा गुठीको हक र दायित्व प्राधिकरणमार्फत सरकारमा हुने भनिएको छ । ‘यो स्वीकार्य हुन सक्दैन । यो आपत्तिजनिक छ,’ बडुको जिकिर थियो ।


 

More form the Internet

loading...