Suvadin, Home

अमेरिकी राष्ट्रपति ट्रम्प र दक्षिण काेरियाली राष्ट्रपति मुनबीच फोनवार्ता

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार भएको उक्त फोनवार्ताका क्रममा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै आगामी दिनमा उत्तर कोरियाली आणविक होडलाई के कसरी कमगर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो। उत्तर र दक्षिण कोरियाका बीचको सम्बन्धमा हालैका केही दिनयता सुधार आएको पाइएको समाचार आइरहेका बेला उनीहरुबीच भएको यस फोनवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ।
ट्रम्प र मुन। फाइल तस्वीर

वासिङ्टन, फागुन १८ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन–जे–इनबीच फोनवार्ता भएको छ।

अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले दिएको जानकारीअनुसार भएको उक्त फोनवार्ताका क्रममा कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका साथै आगामी दिनमा उत्तर कोरियाली आणविक होडलाई के कसरी कमगर्न सकिन्छ भन्ने बारेमा कुराकानी भएको थियो। 

उत्तर र दक्षिण कोरियाका बीचको सम्बन्धमा हालैका केही दिनयता सुधार आएको पाइएको समाचार आइरहेका बेला उनीहरुबीच भएको यस फोनवार्तालाई अर्थपूर्ण रुपमा लिइएको छ। 

हालैमात्र पनि उत्तर र दक्षिण कोरियाबीच ती देशका कार्यकारी अधिकारीबीच दक्षिण कोरियामा वार्ता भएको बताइएको थियो। 

उक्त द्विपक्षीय वार्तामा अधिकारीहरुले उत्तर कोरियामा हालैमात्र भएको शीतकालीन ओलम्पिक खेलकूदको बारेमा समीक्षा गर्नुका साथै दुई देशबीच हुने भनिएको द्विपक्षीय उच्चस्तरीय वार्ताको तयारीको बारेमा कुराकानी गरेका बुझिएको छ। 

दुई राष्ट्रपतिबीच बिहीबार भएको उक्त वार्ताका क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले हालैमात्र दक्षिण कोरियाले शीतकालीन ओलम्पिक खेलकूद सफलतापूर्वक सम्पन्न गरेकोले त्यसका लागि बधाई ज्ञापन गरेका थिए। 

उक्त खेलकूदलाई अमेरिकाले पनि चासोपूर्वक हेरेको थियो। उक्त खेलकूदको उद्घाटनमा अमेरिकी उपराष्ट्रपति माइक पेन्स र समापनका क्रममा राष्ट्रपति ट्रम्पकी छोरी इभान्का ट्रम्प जनाएका थिए। 

त्यस फोनवार्ताका क्रममा कोरियाली राष्ट्रपति मुनले उक्त ओलम्पिक खेलकूद, त्यसको समापन, उक्त खेलकूदका कारण उत्तर र दक्षिण कोरियाबीच बढ्दो सम्बन्ध र पछिल्लो कार्यकारी तहका अधिकारीहरुबीचको वार्तामा भएको प्रगतिका बारेमा जानकारी गराएका थिए। 

उक्त फोनवार्ताका क्रममा उनीहरुबीच उत्तर कोरियालाई निशस्त्रीकरणका लागि सहमत गराउने र उसँग शान्तिवार्ताका लागि आवश्यक पहल गर्ने विषयमा पनि कुराकानी भएको दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्युहाउसले भनेको छ । 

हालैमात्र पनि उत्तर कोरिया दक्षिण कोरियासँग विनाशर्त वार्ता गर्न इच्छुक रहेको कुरा बाहिर आएको थियो। तर त्यस विषयमा दक्षिणको कुनै प्रतिक्रिया भने आएको छैन। 

यही फेब्रुअरी ९ देखि १८ सम्म दक्षिण कोरियामा सम्पन्न भएको ओलम्पिक खेलकूदमा यी दुई देशका प्रतिनिधिको सहभागिताबाट सम्बन्धमा पछिल्लो समयमा केही सुधार आएको महसुश गरिएको छ। 

यसै खेलकूदका समयमा विकसित सम्बन्धका कारण उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डलले अमेरिकी अधिकारीसँग पनि भेटवार्ता गर्न चाहेको समाचार पनि हालै सार्वजनिक भएको थियो। 

दक्षिण कोरियामा आयोजना भएको यस शीतकालीन खेलकूदका कारण उत्तर र दक्षिण कोरियाका साथै उत्तर कोरियाको अरु देशसँगको सम्बन्धमा पनि सुधारको संकेत देखिएको अनुमान गरिएको छ।


 

More form the Internet

loading...