Suvadin, Home
ब्रसेल्समा रहेका ब्रिटिश राजदूत सर टिम ब्यारोले युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कलाई लिज्बन सन्धिको धारा ५० लाई सकृय बनाउने एउटा चिठी दिएका छन्। त्यो चिठीमा ब्रिटिश प्रधानमन्त्री टरीजा मेले आगामी दुई वर्षमा ब्रिटेनको बहिर्गमनको प्रक्रिया अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेकी छिन्। धारा ५० सक्रिय भएसँगै उनले देश एउटा महत्वपूर्ण यात्रामा जान लागेको भन्दै संसदलाई सम्बोधन गरिन्।

काठमाडौं, चैत १६- ब्रसेल्समा रहेका ब्रिटिश राजदूत सर टिम ब्यारोले युरोपेली परिषदका अध्यक्ष डोनल्ड टुस्कलाई लिज्बन सन्धिको धारा ५० लाई सकृय बनाउने एउटा चिठी दिएका छन्। त्यो चिठीमा ब्रिटिश प्रधानमन्त्री टरीजा मेले आगामी दुई वर्षमा ब्रिटेनको बहिर्गमनको प्रक्रिया अगाडि बढाउने विषयमा आफ्नो धारणा राखेकी छिन्। धारा ५० सक्रिय भएसँगै उनले देश एउटा महत्वपूर्ण यात्रामा जान लागेको भन्दै संसदलाई सम्बोधन गरिन्।

आगामी केही दिन भित्रमा युरोपेली संघले आफ्नो सुरूवाती प्रतिक्रिया दिँदै एउटा वक्तव्य जारी गर्नेछ। त्यो वक्तव्य थुप्रै पृष्ठको हुनेछ र त्यसले ब्रिटिश प्रधानमन्त्री मेको पत्रको उत्तर दिँदै इयुका सर्तहरुको व्याख्या गर्नेछ।

तर, इयुका २७ सदस्य राष्ट्रले कसरी वार्ता गर्नेछन् भन्ने कुरा एप्रिल महिनाको अन्त्यमा हुने शिखर सम्मेलनमा मात्रै निर्धारण हुनेछ।

त्यसैले प्रत्यक्ष वार्ता आगामी मे वा जुन महिनासम्म सुरु नहुन सक्छ। सम्बन्ध विच्छेदबारेको सहमति र भविष्यमा ब्रिटेन र इयुको सम्बन्धका बारेमा एकैचोटी वार्ता गर्ने कि एकपछि अर्को गर्ने भन्ने विषयमा सुरुमै मतभेद हुनेछ।

ब्रिटेनले तिर्न बाँकी के कस्ता ऋण तिर्नुपर्छ भन्ने विषयमा सबभन्दा ठूलो मतभेद हुन सक्छ। ब्रिटेनमा बस्ने इयुका नागरिक र इयुमा बस्ने ब्रिटिश नागरिकका अधिकारका बारेमा पनि चाँडै वार्ता गरिनेछ।

भविष्यमा गरिने कुनै पनि व्यापारिक सम्झौताका बारेमा भने आगामी शरद ऋतुमा वार्ता सुरु हुने र सन् २०१८ सम्म जारी रहने धेरैको अनुमान छ। त्यस्तो सम्झौता आगामी अक्टोबर महिनासम्म गर्न सकिएमा ब्रिटेनले सन् २०१९ को मार्च महिनामा इयु छोड्ने बेलासम्ममा इयुको संसदले त्यो सम्झौता अनुमोदन गर्न सक्नेछ।

युरोपेली आयोगका अध्यक्ष जाँ क्लाउड युंकर लगायतका युरोपेली नेताले बताएका छन्। इयु छोडेकोमा उनीहरुले ब्रिटेनले दण्ड दिने प्रयास गर्ने छैनन्। तर, हाल इयुको अध्यक्ष रहेको माल्टाका प्रधानमन्त्री जोसेफ मस्क्याटले इयु सदस्यता उत्कृष्ट विकल्पका रुपमा देखिनु जरुरी भएको बताएका छन्। युरोपेली आयोगका प्रमुख वार्ताकार मिसेल बार्निएले त्यसलाई एउटा लामो र कठीन पथको पहिलो दिन भनेका छन्।

जर्मनीका इयु आयुक्त गुण्टर इयोटिंगरले ब्रिटेनको बहिर्गमनले सिंगै युरोपका लागि र विशेषगरी ब्रिटेनका लागि नकारात्मक सन्देश दिएको बताएका छन्।

संसदलाई सम्बोधन गर्दै प्रधानमन्त्री मेले भनिन्, ‘आज सरकारले ब्रिटश जनताको प्रजातान्त्रिक मत र संसदको स्पष्ट धारणामाथि कदम चाल्दैछ। धारा ५० को प्रक्रिया अब अघि बढेको छ। यो एउटा ऐतिहासिक क्षण हो र यसबाट अब पछि हट्न मिल्दैन।’

ब्रिटेनले अब आफ्नो निर्णयहरु आफैं गर्ने र कानुनहरु आफैं बनाउने भन्दै उनले अब अझ बलियो र न्यायपूर्ण आफ्ना सन्तानले गर्व गर्न सक्ने ब्रिटेन बनाउने बताइन्।
‘यो क्षण भनेको देश एकताबद्ध हुने क्षण हो,’ उनले सांसदहरुलाई बताइन्। (बिबिसीबाट)


 

More form the Internet

loading...