Suvadin, Home

राजनीतिमा गगन थापा
९ कक्षामै पढ्दा जसले पञ्चायती संविधान जलाए

गगन थापा ९ कक्षामा पढ्दै थिए। २०४६ सालको जनआन्दोलन सुरू भएको बेला थियो। पञ्चायतको संविधान जलाउँदा त्यहीबेला पहिलोपटक टियर ग्यास लागेर उनी बेहोस् भएका थिए। ‘म झोलाबाट किताब सबै फालेर ढुंगा बोकेर प्रहरीसँग भिँडेको थिएँ,’ उनले सम्झे, ‘पारिवारिक वातावरणले गर्दा पनि सानैदेखि प्रजातान्त्रिक विचारबाट प्रभावित थिएँ।’ 
गगन थापा।

नोट : शुभदिन मिडिया एन्ड रिसर्च सेन्टर प्रालिद्वारा सञ्चालित-प्रकाशित नेपालको अाफ्नै सामाजिक सञ्जाल शुभदिन डटकमले नयाँ वर्ष २०७४ को विशेष उपलक्ष्यमा मुलुकका उत्कृष्ट ३० व्यक्तित्वको आवरण कथा प्रस्तुत शृंखला प्रारम्भ गरेको छ। यो शृंखलामा ‘नेपाल इन्स्पायरर’ शीर्षकमा क्रमबद्ध रुपमा दस दिनसम्म समाज र राष्ट्रका निम्ति उत्कृष्ट योगदान दिने व्यक्तिहरूको संघर्ष, जीवन र समर्पण उजागर गर्ने प्रयास गरिएको छ। प्रत्येक दिन तीन जना व्यक्तिको संघर्षको कथा प्रकाशित गरिने छ।

- सम्पादक 


काठमाडौं, वैशाख १ - ‘अब चिकित्सा शिक्षाको स्नातकोत्तर (एमडी) पढ्न विद्यार्थीले निजी मेडिकल कलेज जानुपर्दैन,’ ‘मेरो वर्ष : म स्वस्थ मेरो देश स्वस्थ अभियान–२०७४’को पत्रकार सम्मेलनपछि बिहीबार शुभदिनसँगको कुराकानीमा स्वास्थ्यमन्त्री गगन थापाले आफ्नो योजना खोतले, ‘एउटा अञ्चल अस्पतालबाट यसै शैक्षिक वर्ष (असार)देखि एमडी पढाइ निःशुल्क थाल्दैछु।’

थापाका अनुसार लुम्बिनी अञ्चल अस्पतालबाट असारदेखि एमडी पढाइ निःशुल्क हुँदैछ। चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस)मा जस्तो बेथिति हटाउनका लागि उनले नेपालका केही अञ्चल अस्पतालमा एमडी तहको पढाइ निःशुल्क गर्न लागिरहेका छन्। 

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को मातहत रहने गरी उनले एमडी पढाइ अञ्चल अस्पतालबाटै सुरू गर्न खोजेका हुन्। न्याम्सका उपकुलपतिसहितको एक टोली पन्ध्र दिनअघि त्यसको सम्भाव्यता अध्ययन गर्न फिल्डमा गएको थियो। टोलीले रिपोर्ट दिएपछि उनी कुन–कुन अस्पतालमा सम्भव छ भन्ने जानकारी लिएर योजना अगाडि बढाउँदैछन्। 

तर, लुम्बिनी अञ्चल अस्पतालमा चाहिँ निश्चितै भइसकेको हो। 

थापाका अनुसार धेरै अञ्चल अस्पतालहरूमा संरचना, जनशक्ति र बिरामी संख्या छ। ‘यति भएपछि के चाहियो र,’ थापा भन्छन्, ‘संरचना नभएका ठाउँमा रातारात गरेर पनि भवनको व्यवस्था गरिन्छ।’ 

‘लौ अब एमडी पढ्न विद्यार्थी निजी मेडिकल कलेज जाउन् त,’ उनले हाकाहाकी चुनौती दिए।

तर, विद्यार्थीले एउटा सर्त मान्नैपर्छ। त्यो हो, पढिसकेको पाँच वर्षसम्म स्वास्थ्य मन्त्रालयले जहाँ खटाउँछ त्यहाँ जान तयार हुनुपर्छ। ‘निःशुल्क पढाउने, काम गरेबापत पारिश्रमिक पनि दिने, त्यति भएपछि एउटा न्यूनतम् सर्त त पूरा गर्नुपर्यो,’ थापा भन्छन्। 

न्याम्स स्वास्थ्य मन्त्रालय मातहत छ। मेडिकल काउन्सिलसँगको सहकार्यमा थापाले चिकित्सा शिक्षाको स्नातकोत्तर अञ्चल अस्पतालमै सञ्चालन गर्ने चाँजो मिलाउन थालेका हुन्। 
उनले यसो भनिरहँदा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) लथालिंग छ। एमबिबिएसमा सिट संख्या निर्धारणदेखि भर्नासम्म ठूलो चलखेल हुने गरेको छ। गरिब र पहुँच नभएका विद्यार्थीलाई त एमबिबिएस शिक्षा धेरै नै मुस्किल छ। 

एमबिबिएस तहको मेडिकल शिक्षा शिक्षा मन्त्रालय मातहत छ। आफ्नो मन्त्रालय मातहत नपरेकाले त्यहाँ देखिएका सुधार थापाले गर्न सकेनन्। ‘मैले भन्न सक्ने र कुरा राख्नसक्ने ठाउँमा त भनिरहेकै हुन्छु, गरिरहेकै छु,’ उनी भन्छन्, ‘नभएपछि के लाग्छ र?’

थापा जतिबेला स्वास्थ्य मन्त्रालय छिरे, उनले यहाँ बेथिति नै बेथिति देखेका थिए। त्यही भएर सुधारात्मक अभियान थालेका हुन्। तर, सत्ता समीकरण जेठमा बदलिन सक्ने भएकाले स्वास्थ्य क्षेत्रमा थालेका सुधारात्मक काम रोकिएलान् कि भन्ने चिन्ता उनलाई छ। 

‘घरिघरि डर लाग्छ, यस्ता राम्रा योजना लागू गर्न खोजिँदैछ, बीचमै रोकिए भने त कस्तो नमज्जा हुन्छ,’ थापा भन्छन्, ‘मलाई यहाँ पदको लोभ हैन, थालेका काम अपुरा होलान् कि भन्ने चिन्ता हो।’

***
धेरै नेताहरू मन्त्री बनेर सिंहदरबार छिर्छन्, केवल कुर्सीका लागि। कुर्सीको गरिमा बचाएर चर्चामा आउने थोरै मन्त्रीमध्ये थापा एक हुन्। थापा जब स्वास्थ्यमन्त्री भए, त्यसपछि उनले देशैभरिकोे स्वास्थ्य क्षेत्रमा सुधार ल्याएर वाहवाही र चर्चा बटुलेका छन्।     

पहिला त उनले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा चिकित्सक पठाए। जनताको दैलोमा स्वास्थ्य सेवा उपलब्ध गराउन मन्त्री थापाले देशभरिका १९८ प्राथमिक स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी, करार र छात्रवृत्तिका स्वास्थ्यकर्मी पठाउन सुरू गरे। 

जिल्ला–जिल्लामा सिटामोलसम्म नपाएको खबर आयो, उनले औषधि खरिद प्रक्रियामा हुने ढिलासुस्ती हटाइदिए। स्वास्थ्य निर्देशिका संशोधन गरेर हरेक जिल्लाले पाँच लाख रुपैयाँसम्मको औषधि बिना टेन्डर खरिद गर्न सक्ने व्यवस्था मिलाइदिए। 

यसले नागरिकहरूले निःशुल्क औषधि नपाइरहेको विद्यमान असहजता किनारा लगाइदिएको छ।

स्वास्थ्य मन्त्रालयको सेवालाई पनि सोहीअनुरुप विकेन्द्रित गर्ने, बिग्रिएका भत्किएका संरचनालाई पाँच वर्षभित्र बनाउने र स्वास्थ्य क्षेत्र सुधार तीन पक्षलाई मन्त्री थापाले प्राथमिकतामा राखेर काम गरिरहेका छन्। यसका लागि जनशक्ति व्यवस्थापनमा उनले निकै चुनौती झेल्नुपरेको छ। ‘कहिले अहेबहरूको धर्ना बस्ने, कहिले पोलियो थोपा खुवाउने कार्यक्रममा असहयोग गर्ने त झेलिनैरहेको छु,’ उनी भन्छन्, ‘तर, म कुर्सीमा रहुञ्जेल सुधारका कामबाट थोरै पनि बिचलित हुने छैन।’ 

***
२०३३ सालमा काठमाडौंस्थित प्रसूतिगृहमा जन्मेका मन्त्री थापाको बाल्यकाल सिन्धुपाल्चोकको लामोसाँघुमा बितेको थियो। बुबा महेन्द्रकुमार थापा नेपाल विद्युत प्राधिकरणको इञ्जिनियर भएकाले उनको बाल्यकाल त्यहाँ बितेको थियो। 

उनले २ कक्षासम्म त्यहीँँ पढेका थिए। 

सोलुखुम्बु पुर्ख्यौली घर हो। पछि काठमाडौं रातोपुल सरेको थियो थापा परिवार। उनी २ देखि कक्षा १० सम्म काठमाडौंस्थित सिद्धार्थ बनस्थलीमा पढे। मध्यमवर्गीय परिवारका चार जना छोरामध्ये गगन एक हुन्। 

सबैले दाजुभाइले त्यही स्कुल पढे। पढाइमा बढी दबाब थियो। काठमाडौंमा घर भएको सरकारी कर्मचारीको छोरा भएका कारण पढाइमा आर्थिक बोझ थिएन। 

बाबु र आमा रामेश्वरी चार छोरा कोही डाक्टर, कोही इञ्जिनियर बन्नुपर्छ भनेर सुझाइरहन्थे, अपेक्षा राख्थे। उनी पढेको स्कुलले वर्षैपिच्छे एसएलसीमा बोर्ड टपर जन्माउँथ्यो। तर, उनले चाहिँ ल्याएनन्। किनभने उनी पढाइको बीचमै राजनीतितिर बरालिन थालेका रहेछन्। 

सिद्धार्थ बनस्थलीमा पढ्दै गर्दाको एउटा घटना थापाले सम्झे। उनी ९ कक्षामा पढ्दै थिए। २०४६ सालको जनआन्दोलन सुरू भएको बेला थियो। 

पञ्चायतको संविधान जलाउँदा त्यहीबेला पहिलोपटक टियर ग्यास लागेर उनी बेहोस् भएका थिए। ‘म झोलाबाट किताब सबै फालेर ढुंगा बोकेर प्रहरीसँग भिँडेको थिएँ,’ उनले सम्झे,

‘पारिवारिक वातावरणले गर्दा पनि सानैदेखि प्रजातान्त्रिक विचारबाट प्रभावित थिएँ।’ 

सिद्धार्थ बनस्थलीमै सहकर्मी नेता प्रदीप पौडेल पनि पढ्थे। कक्षा १० मा पढ्दै उनी त नेतै भइसकेका थिए। गगन उनलाई यदाकदा पछ्याइरहेका थिए। 

नेविसंघको राजनीतिमा लाग्नुमा घरको वातावरणले पनि प्रभावित पारेको थापा बताउँछन्। आर्मीका जागिरे गगनका हजुरबुबाले केही समय पञ्चायती शासनबाट प्रताडित हुनुपरेको थियो।

कांग्रेसलाई सघाएको भनेर गगनका हजुरबुबालाई जेलसम्म हालिएको रहेछ। 

सोलुखुम्बुबाट काठमाडौं घरमा आउजाउ गर्नेहरू बाक्लै थिए। नातेदार धेरै कांग्रेसमा रहेछन्। पाहुना आउँदा सुत्ने ठाउँ दाजुभाइ सुत्ने कोठामै हुन्थ्यो। ‘खाली प्रजातन्त्र र नेपाली कांग्रेसको कुरा मात्र गरिरहन्थे, त्यसैले पनि कांग्रेस के हो त भन्ने कौतुहलता मनमा डुलिरहन्थ्यो,’ उनी भन्छन्। 

जनआन्दोलन एकदमै ठिक छ भनेर घरमा सबैले भन्थे। त्यसले पनि उनलाई पञ्चायती संविधान जलाउन र प्रहरीलाई ढुंगा हान्न आत्मबल जागेको थियो।  

कक्षा १० मा पढ्दै थिए। जनआन्दोलन सकिएर मुलुकमा चुनावको माहौल बनेको थियो।  
उमेरअनुसार बानी व्यहोरामा परिवर्तन हुनखोज्थ्यो। ‘कानमा मुन्द्री लाउन, कपाल पाल्न मन लाग्ने,’ उनी सम्झन्छन्, ‘घरमा त यो आवारा हुनलाग्यो भनेर निकै हेरविचार गर्नुहुन्थ्यो।’

स्कुल बिदाको समय परेको थियो। ठूलोबुबाका छोरा दमननाथ ढुंगाना उठेको क्षेत्रमा चुनावी कार्यक्रममा सहभागी हुन गइरहन्थे। घरमा एक्लै छोड्यो भने कता जान्छ, के गर्छ कि भन्ने पिरले बाबुले उनलाई दमननाथ ढुंगानाको चुनावी कार्यक्रममा पठाइदिएछन्। 

उनलाई त के खोज्छस् भएछ। ‘टेम्पोमा चढेर माइकिङ गर्न थालियो,’ उनी भन्छन्, ‘बाल कांग्रेस भनेर जुलुश निस्किन्थ्यो, त्यसमा सहभागी भइन्थ्यो।’ 

यसरी हिँड्ने मौका मिलेपछि त उनी खाँटी कांग्रेस भइहाले। 

***

एसएलसी पास गरेपछि। पारिवारिक सुझावअनुसार कि डाक्टर कि इञ्जिनियर बन्नुपर्ने। त्यही सुझावमुताबिक उनी अस्कल क्याम्पसमा आइएस्सी पढ्न लागे। त्यहाँ पढ्दा उनले भरत गुरुङहरू भेटे। प्रदीप पौडेल पनि त्यहीँ थिए। क्याम्पसमा उनीहरूसँगको उठबसले गगनको नेतागिरी सुरू हुनथाल्यो। पढाइमा थोरै बाधा पर्न थालेछ। उनी केही समय पुल्चोक इञ्जिनियरिङ कलेज गए, अनि त्रिचन्द्र कलेज फर्किए। 

त्रिचन्द्रमा त राजनीतिक गतिविधि झन् उदारपूर्वक हुन्थे। भरत र प्रदीपहरूको संगतमा परेका थापा नेविसंघबाट टाढिन सकेनन्। ‘सेकेन्ड इयर सकेर अमेरिकातिर जाउँ कि भन्ने सोच थियो,’ उनले भने, ‘त्यही वर्षमा स्ववियु चुनाव भयो, म स्ववियु सदस्यमा निर्वाचित भएँ।’ 

त्यसपछि त चिनेजानेको नेताको परिचान बन्यो। बिएस्सी पढ्दा त पूरै नेविसंघमय जीवन भइसकेको थियो। उनी त्रिचन्द्र कलेजबाट लगातार स्ववियु सचिव र सभापति निर्वाचित भए। 

पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि अवसरलाई सही तरिकाले सदुपयोग गर्ने मौका मिल्यो। स्वभावैले राष्ट्र र राजनीतिमा उनी सुधार खोज्छन्, चाहन्छन्। विकृति विसंगतिविरूद्ध पार्टीभित्र होस् वा सरकारमा रहँदा उनी बिमति राख्छन्। नकारात्मक कार्यलाई सिधै इन्कार गर्छन्, हटाउन खोज्छन्। कहिलेकाहीँ त ‘गगन अलि गर्छ खोज्छ’ भन्नेहरू पनि देखिन्छन्, भेटिन्छन्। उनी वास्ता गर्दैनन्, आफ्नो लय र अडानमा बहिरहन्छन्।

 

क्याम्पसे जीवनमै नेविसंघको महामन्त्री, उपाध्यक्ष भए। महामन्त्री भएपछि राजनीति पनि नयाँ मोडमा पुग्यो। गुरुराज घिमिरे र उनी जिम्मेवारीबाट हटाइए। कारण थियो – गणतन्त्र वकालत गरेको। पार्टीले संवैधानिक राजतन्त्र विधान टेकिरहँदा उनीहरू गणतन्त्रवादी भइसकेका थिए। तीन चार वर्ष त पदविहीन भए। 

‘त्यसपछि पार्टी राजनीतिमा फर्किएँ, तल्लो कमिटीबाट काम थालेँ, क्षेत्रीय सभापति भएर,’ उनले भने, ‘धेरैजसो साथीभाइले जिस्क्याएका थिए, उडाएका थिए तर मलाई तल्लो कमिटीमा काम गर्न अप्ठेरो थिएन, किनभने पार्टीको तल्लो निकाय नै नबुझेको मान्छेले माथिल्लो निकायमा काम गर्दा अप्ठेरो हुन्छ भन्ने मलाई लाग्यो।’ 

क्षेत्रीय सभापति हुँदै उनी पहिलो संविधानसभा निर्वाचनमा सभासद पनि भए। दोस्रो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर ४ बाट प्रत्यक्ष निर्वाचित भए। कांग्रेसको तेह्रौं राष्ट्रिय महाधिवेशनमा आफ्नै ससुरा अर्जुननरसिंह केसीसँग महामन्त्री पदमा भिडे। तर, दुबैले पराजय व्यहोरे। 

त्यो चुनाव पार्टीमा युवा नेतृत्वको लडाइँका लागि एउटा परीक्षामात्रै थियो। 

***

पुष्पकमल दाहाल सरकारमा स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि अवसरलाई सही तरिकाले सदुपयोग गर्ने मौका मिल्यो। स्वभावैले राष्ट्र र राजनीतिमा उनी सुधार खोज्छन्, चाहन्छन्। विकृति विसंगतिविरूद्ध पार्टीभित्र होस् वा सरकारमा रहँदा उनी बिमति राख्छन्। नकारात्मक कार्यलाई सिधै इन्कार गर्छन्, हटाउन खोज्छन्। 

कहिलेकाहीँ त ‘गगन अलि गर्छ खोज्छ’ भन्नेहरू पनि देखिन्छन्, भेटिन्छन्। उनी वास्ता गर्दैनन्, आफ्नो लय र अडानमा बहिरहन्छन्।

उनी मन्त्री भइकन मन्त्रालयले मानव अंग प्रत्यारोपण नियमावली २०७३ बनाएको छ। देशभित्रै पहिलोपटक कलेजो प्रत्यारोपण सेवा थालिसकिएको छ। यो नियमावलीले अब मस्तिष्कघात भई मृत्यु भएकाको आठ अंग लिन र प्रत्यारोपण गर्न मिल्ने बाटो खुला गरिदिएको छ। मस्तिष्कघातले मृत्यु भएकाबाट दुई मिर्गौला, दुई फोक्सो, प्यांक्रियाज, सानो आन्द्रा र आँखा अर्को व्यक्तिमा प्रत्यारोपण गर्ने सुविधा यो नियमावलीले मिलाएको छ। 

यही वर्षबाट बाथ, मुटु रोग शल्यक्रिया निःशुल्क गरिएको छ। मिर्गौला रोगीको लागि डायलासिस सेवा निःशुल्क भइसकेको छ। २०७४ वैशाख १ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा निःशुल्क भइसकेको छ। 

विशिष्ट व्यक्तिले उपचारका नाममा राज्यकोष लुटिरहेका थिए। आर्थिक रुपले सब्बलै रहेकी आफ्नै पार्टीकी नेतृ सुजाता कोइरालाले पचास लाख रुपैयाँ राज्यकोषबाट लिँदा उनले बिरोध गरे। नेपालमै पनि उपचार गर्नसक्ने हुँदाहुँदै थप आर्थिक व्ययभार हुने गरी विदेश जाने प्रचलनलाई उनले रोके। कम्तीमा विशेषज्ञ डाक्टरको सुझाव वा सिफारिसबिना विदेशमा उपचार गर्न जाने परिपाटीमा उनले तगारो लगाइदिए। 

उनले १५ लाखभन्दा बढी उपचार खर्च नदिने नीति बनाएका छन्। नवजात शिशुको निःशुल्क उपचार, सैनिक अस्पताल सर्वसाधारणका लागि खुल्ला, सबै सरकारी अस्पताल ९ देखि ३ बजेसम्म खुल्ला गर्नुपर्ने, ३ देखि ५ बजेसम्म विस्तारित सेवा सञ्चालन गर्ने व्यवस्था मिलाए। 

बिना दर्ता सञ्चालन भएका स्वास्थ्य संस्था कानुनी दायरामा ल्याउने प्रक्रिया सुरू भइसकेको छ। नवीकरणबिना सञ्चालन भएका स्वास्थ्य संस्थालाई कारबाही थालिसकिएको छ। 
अस्पतालहरूमा रिक्त दरबन्दी पूर्ति गर्न सात सय चिकित्सक करारमा नियुक्ति गरिएको छ। हरेक प्राथमिक स्वास्थ्य केन्द्रदेखि जिल्ला अस्पतालमा चिकित्सक र विशेषज्ञ चिकित्सक पुर्याइसकिएको छ। 

सूर्तीजन्य पदार्थ जथाभावी बेच्न रोक लगाउने, खोप निर्देशिका, एम्बुलेन्स निर्देशिका, प्रयोगशाला, मदिरा नियन्त्रण तथा नियमन नीति, नियुक्ति तथा मनोनयन मापदण्ड, स्वास्थ्य संस्था स्थापना तथा सञ्चालन, चिकित्सक तथा स्वास्थ्यकर्मीको सेवा सुविधा कार्यविधि मन्त्रिपरिषदबाट पारित भइसकेको छ। 

मदिरा ऐन, आयुर्वेद नीति, मेडिकल काउन्सिल ऐन, औषधि ऐन, प्रजनन स्वास्थ्य ऐन, गुणस्तर सुनिश्चिततासम्बन्धी ऐन, मानसिक स्वास्थ्य नीति, अपाङ्गतासम्बन्धी नीति, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा ऐन, बिमा ऐन, जनस्वास्थ्य ऐन, एकीकृत स्वास्थ्य पूर्वाधार विकास परियोजना पनि ल्याउने तयारी भइरहेको थापाले बताएका छन्। 

***

राजनीतिमा युवा आकर्षण कम हुँदै गएको छ। उनी राजनीति गर्ने मान्छे आम मान्छेजस्तो हुँदैन भन्छन्। आम मान्छेभन्दा राजनीतिकर्मीको जीवन फरक हुन्छ। मान्छेको पारिवारिकदेखि सामाजिक जिम्मेवारी पृथक हुन्छ। ‘कस्तो जिन्दगी जिउने त्यो व्यक्तिको छनोट हो, राजनीतिमा आउनुपर्छ भनेर म जबरजस्ती कसैलाई भन्दिनँ,’ उनी भन्छन्, ‘आफू जहाँ योग्य छु जस्तो लाग्छ त्यहीँ बस्ने हो, केही गरेर देखाउने हो र परिवर्तन गर्ने हो भने राजनीति पनि हो, चाहे त्यो सकारात्मक वा नकारात्मक परिवर्तन होस्, राजनीति एउटा क्षेत्र चाहिँ हो।’ 

उनका विचारमा अहिले राजनीतिमा युवा आकर्षण कम छ। त्यसमा राजनीतिको मात्र हैन, व्यक्ति आफैंको कमजोरी पनि छ। ठिक बेठिक परीक्षण गर्ने, चिन्तन मनन गर्ने स्वभावमा कमी आउन थालेको छ। ‘मान्छेले आफ्नो चाहनाको गहिराइ नाप्ने हो,’ उनी भन्छन्, ‘म परिवार, समाज, राष्ट्र, राजनीति सबैतिर समय दिएर अगाडि बढिरहेको छु।’ 

२०६५ सालमा अञ्जना केसीसँग बिहे गरेका उनका दुई छोरी छन्। राजनीति, समाज, मन्त्रालय, शुभचिन्तक सबैलाई समय दिएर उनी प्रायः शनिबार पारिवारिक भ्रमणमा निस्किन्छन्। ‘मैले जिन्दगीका सबै पक्षलाई समेटेर हिँडेको छु,’ उनी भन्छन्। 

***
गगन स्वास्थ्य मन्त्रालय रहुन् नरहुन्, २०७४ साल ‘म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान आजैबाट सुरू भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले यसको शुभारम्भ गरेका छन्। 

यसको उद्देश्य जीवनशैलीमा आधारित रोगको उच्च प्रकोप न्यूनीकरण गर्ने, समयमै रोगको पहिचान, रोकथाम र उपचार खर्चको बृद्धि न्यूनीकरण, अकाल मृत्यु र अपांगता न्यूनीकरण, जीवनशैलीमा सामान्य परिवर्तन ल्याउने नै हो। 

थापाका अनुसार नसर्ने रोगमा अहिले एकतिहाइ जनसंख्यामा हाइपरटेन्सन, १५ प्रतिशतमा मधुमेह, ४४ प्रतिशत मृत्यु, ८० प्रतिसत बिरामीको कारक एनसिडी, हरेक वर्ष ८ हजारदेखि १० हजार नयाँ क्यान्सर बिरामी, ४३ प्रतिशत श्वासप्रश्वासका बिरामी, ४० प्रतिशत मुटुरोगी, १२ प्रतिशत मधुमेह र ५ प्रतिशत क्यान्सर छ। 

यसको मुख्य कारण धूमपान, मध्यपान, वातावरणीय पक्ष र खाद्यवस्तु हुन्। थापाका अनुसार १८.५ प्रतिशत जनसंख्याले नेपालमा धूमपान गर्छन्। त्यसमा दक्षिण एसियामै बढी धूमपान गर्ने १५ प्रतिशत नेपाली महिला छन्। नेपालमा १७ प्रतिशतले मध्यपान गर्छन्, १८ प्रतिशत मोटोपना र ४ प्रतिशत अति मोटोपना छ। ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा दाउरा, गुइँठा लगायतको प्रयोग र सहरी क्षेत्रमा घरबाहिर वायुप्रदूषण उच्च छ। खाद्यवस्तुमा विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ र असन्तुलित खानपिन शैली रोग निम्त्याउने कारण हुन्। 

मानवीय स्वास्थ्यमा नकारात्मक असर पारिरहेका वस्तुको पहिचान, जनचेतना तथा समयमै रोगको निरोपण प्रयास यो अभियानको उद्देश्य हो। ‘कम्तीमा आफ्नो, परिवार र समुदायको स्वास्थ्यसँग सजग र सचेत गराउने प्रयास मन्त्रालयको हो, यो अभियानले वर्षभरि जनताको स्वास्थ्यसँग सम्बन्धित सबै कार्यक्रमहरू गाउँ–गाउँसम्म पुर्याउँछ,’ उनले भने। 

मन्त्री थापाले यो अभियानमा सार्वजनिक चासो कतिधेरै छ बुझिरहेका छन्। यो अभियानबाट थापाले हरेक नागरिकको स्वास्थ्यमा पहुँच, सुधार र रोग निरोपणमा सर्वपक्षीय सरोकारको क्रान्ति ल्याउने सपना बुनेका छन्।  


 

More form the Internet

loading...