Suvadin, Home

पुनर्निर्माण प्राधिकरण सिइओमा पोखरेल नियुक्त

सरकारले पुनर्निर्माण प्राधिकरण कार्यकारी सिइओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी सिइओ सुशील ज्ञवालीलाई अवकाश दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।
गोविन्द पोखरेल।

काठमाडौ, पुस २७


सरकारले पुनर्निर्माण प्राधिकरण कार्यकारी सिइओमा गोविन्द पोखरेललाई नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्राधिकरणका कार्यकारी सिइओ सुशील ज्ञवालीलाई अवकाश दिने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले बताए।

केही दिनअघि नै ज्ञवालीलाई मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको भए पनि सरकारले स्ष्टीकरण मात्र सोधेको भनिएको थियो। बुधबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियुक्त गरेसँगै ज्ञवाली औपचारिक रुपमा बर्खास्तमा परेका हुन्।

बैठकले प्राधिकरणको कार्यकारी अधिकृतमा डा। गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यसैगरी बैठकले राष्ट्रिय बिदाको पुनरावलोकन गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको छ। कुन दिवसमा राष्ट्रिय बिदा दिने, कुन दिवस र पर्वमा प्रादेशिक र स्थानीय स्तरमा बिदा दिने भन्नेबारे सुझाव पेश गर्न गृह मन्त्रालयलाई एक महिनाको समय दिइएको सूचना तथा सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए।

बैठकले भूकम्पबाट क्षतिग्रस्त विद्यालय पूनर्निर्माणका लागि करारमा कर्मचारी नियुक्तिको अनुमति दिने निर्णय पनि गरेको छ। नियुक्त गरिएका कर्मचारीहरुको करार अवधि एक वर्षको हुने पनि प्रवक्ता कार्कीले जानकारी दिए।

को हुन् पोखरेल?

पोखरेल नवीकरणीय ऊर्जा तथा योजनाका क्षेत्रका अनुभवी मानिन्छन्। यसअघि सुशील कोइराला सरकारले उनलार्इ अध्यादेशमार्फत प्राधिकरणको सिइअो बनाएको थियो। अध्यादेशको अवधि सकिएपछि उनी कामबाट बञ्चित भए। त्यसपछि केपी अोली सरकारले ज्ञवालीलार्इ प्राधिकरण सिइ सिइअो नियुक्त गरेको थियो।

पोखरेल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पनि थिए।

प्युठान जिल्लाको रास्पुरकोट गाविसमा सन् १९६७ जनवरीमा जन्मेका पोखरेलले जर्मनीको फ्लेन्सवर्ग विश्वविद्यालयबाट सन् १९९७ मा ग्रामीण ऊर्जा प्रविधि तथा सीप विस्तारमा स्नातकोत्तर गरेर सोही विश्वविद्यालयबाट सन् २००४ मा ‘ऊर्जा अर्थतन्त्र र नीति’ विषयमा विद्यावारिधी गरेका थिए।

ऊर्जा, नीति, रणनीति, कार्यक्रम तयार, योजना कार्यान्वयन र जलवायु परिवर्तनका विषयमा विशेष चासो राख्ने प्रा पोखरेलकै नेतृत्वमा यही वैशाखमा गएको भूकम्पपछिको आवश्यकता मूल्याङ्कन (पिडिएनए) प्रतिवेदन तयार भएको थियो। 

उनले नवीकरणीय ऊर्जा तथा जलवायु परिवर्तन घटाउनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा महत्वपूर्ण योगदान दिएका छन्। प्राध्यापक पोखरेल नवीकरणीय ऊर्जाका क्षेत्रमा क्षेत्रीय तथा विश्वस्तरमा गरिने विभिन्न अनुसन्धानमा पटक-पटक सहभागी भएका थिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञाप्रतिष्ठानमा संलग्न पोखरेलले विश्व बैंक तथा एसियाली विकास बैंकबाट सञ्चालित नवीकरणीय ऊर्जासम्बन्धी कार्यक्रमको नेतृत्व सम्हाल्लेका थिए। उनी त्रिभुवन विश्वविद्यालय अन्तर्गतको थापाथली इन्जिनियरिङ संस्थानको क्याम्पस प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विभिन्न विश्वविद्यालयमा अध्यापन गराउँदै आएका छन्। 
 


 

More form the Internet

loading...