Suvadin, Home
Nepal Telecom 939.7k

बैंककबाट पूर्वराजाको विज्ञप्ति, ‘नारायणहिटीबाट बाहिरिएको मात्र हुँ, जिम्मेवारीबाट पन्छिएको छैन’

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्। दुई सातादेखि बैंकक भ्रमणमा रहेका शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उतैबाट विज्ञप्ति जारी गर्दै नारायणहिटीबाट बाहिरिए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस कहिल्यै नगरेको बताएका हुन्।
पूर्वराजा ज्ञानेन्द्र शाह।

काठमाडौं, पुस २६ 


पूर्वराजा ज्ञानेन्द्र शाहले नेपालको सार्वभौमिकता कमजोर पार्ने प्रयास भइरहेको भन्दै आफू नारायणहिटी दरबारबाट बाहिरिए पनि जिम्मेवारीबाट टाढा नरहेको बताएका छन्। दुई सातादेखि बैंकक भ्रमणमा रहेका शाहले पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उतैबाट विज्ञप्ति जारी गर्दै नारायणहिटीबाट बाहिरिए पनि जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस कहिल्यै नगरेको बताएका हुन्।

‘स्मरणीय छ, नेपाली जनताको नेपाली जनताको इच्छा नै राजइच्छा हूने परम्परा रही आएको यस मुलुकमा तत्कालिक परिस्थिति समेतलाई दृष्टिगत गरी हामी नारायणहिटी राजदरवारबाट बाहिरिएका हौं,’ विज्ञप्तिमा शाहले भनेका छन्, ‘तर, जनता र राष्ट्रप्रतिको जिम्मेवारीबाट पन्छिएको महसुस हामीले कहिल्यै गरेका छैनौं र गर्ने पनि छैनौं।’

पूर्वराजा शाहले राजसंस्था समाप्त भएको दशक नबित्तै नेपाल बन्ने होइन, बच्ने हो कि होइन भन्ने चिन्ता देखिएको बताएका छन्। उनले देश कसैको क्रिडास्थल हैन, हुन सक्दैन र हुन पनि दिइनु हुँदैन भन्दै आक्रोश व्यक्त गरेका छन्। 

‘देशभक्त नेपालीहरूले एकताबद्ध भई सद्भाव, देशभक्ति र आसपी एकता तथा प्रेमको डोरीले मात्र नेपालको अस्तित्व र पहिचान जोगाउन सक्दछ,’ उनले भनेका छन्। 

नेपाली भनेको जो जहाँ बसे पनि नेपाली रहेको भन्दै शाहले देशमाथि संकट आइपर्दा एकताबद्ध हुन्छन् भन्ने उदाहरण दिनुपर्ने बताएका छन्। ‘विश्व समुदाय, समृद्धि प्राप्तिको निम्ति प्रतिस्पर्धा गरिरहँदा हामी पनि थप विपन्नतातर्फ अग्रसर हुँदै छौं,’ शाहले भनेका छन्, ‘विश्वमा राष्ट्रवादी भावनाको जागरण आउँदै गरेको सन्दर्भमा हामी भने राष्ट्रको अस्तित्वमाथिथ नै आँच पुग्ने व्यवहार प्रस्तुत गर्दैछौं, यस्तो दुःखद् र बिडम्बनापूर्ण अवस्थाको अन्त्य हुनैपर्छ।’ 

उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको वंशजको एक नेपाली हुनुका नाताले नेपालको नेपालको अस्तित्व, स्वाभिमान र गौरव चिरकालसम्म जोगाउन, नेपालीबीचको एकतालाई जीवन्त र स्थायी बनाउन, स्थिर, शान्त र समृद्ध नेपाल निर्माण गर्न सबै नेपालीलाई राष्ट्रिय झण्डामुनि गोलबद्ध हुन आह्वान गरेका छन्। 

शाहले पृथ्वीनारायण शाहको संघर्ष, नेतृत्व कौशल, दूरदर्शीता नेपाली जनताको सामूहिक साथ र सेनाको वीरताको परिणामस्वरुप देशको राष्ट्रियता, राष्ट्रिय एकता र सामाजिक सद्भाव संकटमा पर्दा सबै देशभक्त नेपालीलाई चिन्ताको विषय बनेको बताएका छन्। 

‘चार वर्ण छत्तीस जातको साझा फूलबारीको रुपमा रहेको यस मुलुकमा शान्तिप्रिय जनताबीचको एकता बिथोल्ने, देशको सार्वभौमिकता कमजोर पार्ने राज्य संयन्त्रलाई दुर्बल तुल्याउने, भौगोलिक एवम् क्षेत्रीय सार्वभौमिकता, अखण्डतामाथि प्रहार गर्ने कार्यमा जो जसले विषारोपण गरेको भए पनि तिनले नेपाल र नेपालविरूद्ध अक्षम्य अपराध गरेका छन्,’ शाहले भनेका छन्, ‘भाषा, धर्म, संस्कृति र राष्ट्रिय पहिचानका आधार भत्काउने प्रयास समेत भइरहेको छ।’ 

पुस ६ गते संघीयता र राजनीतिप्रति निकै वितृष्णासहित विज्ञप्ति जारी गरेका शाह त्यसको एक सातापछि पुस १३ गते थाइल्याण्ड गएका हुन्। स्रोतका अनुसार थाइल्याण्डमा केही दिन बिताएर हङकङ हानिँदै शाहले त्यहाँ उच्चस्तरीय राजनीतिक भेटघाट समेत गरेका थिए। उनी पुस २९ गते नेपाल फर्किने सम्भावना छ। 

यद्यपि, शाहको नेपाल फर्किने मितिबारे निर्मल निवासले बताएको छैन। स्वकीय सचिव फणिराज पाठकका अनुसार बैंककबाट पूर्वराजाले सन्देश पठाएका हुन्। ‘उहाँ कहिले आउनुहुन्छ मिति तय भइसकेको छैन,’ उनले भने, ‘पृथ्वी जयन्तीको पूर्वसन्ध्यामा उतैबाट आएको सन्देश मैले सबैतिर पठाएको हुँ।’

पुस ४ गते नै पूर्वरानी कोमल, पूर्वयुवराज्ञी हिमानी, अधिराजकुमारी प्रेरणा, नाति हृदयेन्द्रसहित गएका थिए। हिमानी छोराछोरीसहित आइतबार फर्किएकी छिन्।
 


 

More form the Internet

loading...