Suvadin, Home

पूर्वराजाको खुलासा
’२०६३ मा प्रतिनिधिसभा पुनःस्थापनाअघि दलसँग सहमति भएको थियो’

पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थापिका संसद पुनःस्थापना गर्दा २०६३ सालमा राजनीतिक दलसँग सहमति भएको खुलासा गरेका छन्। नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा देशबासीका नाममा सम्बोधन गर्दै पूर्वराजा शाहले संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय भएको बताएका छन्। 
पूर्वराजा शाह।

काठमाडौं, चैत ३१ - पूर्वराजा ज्ञानेन्द्र शाहले व्यवस्थापिका संसद पुनःस्थापना गर्दा २०६३ सालमा राजनीतिक दलसँग सहमति भएको खुलासा गरेका छन्। नयाँ वर्ष २०७४ को पूर्वसन्ध्यामा देशबासीका नाममा सम्बोधन गर्दै पूर्वराजा शाहले संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय भएको बताएका छन्। 

पटक–पटक देशको राजनीतिक परिस्थितिबारे टिप्पणी गर्दै आएका शाहले पहिले पनि घुमाउरो पारामा दलसँग सहमति भएको बताएका थिए। तर, यसपालि नयाँ वर्षको पूर्वसन्ध्यामा शाहले खुलेरै सहमतिविपरीत निर्णय गरिँदै गएको बताएका छन्। 

तर, के सहमति भएको थियो भनेर शाहले उल्लेख गरेका छैनन्। प्रतिनिधिसभा पुनःस्थापनापछि त्यसले शाहको अधिकार खोस्दै गएको थियो। २०६५ जेठ १५ गते औपचारिक रुपमा गणतन्त्र घोषणा भएपछि शाहले नारायणहिटी दरबार छोडेका थिए। 

उनले संसद पुनःस्थापनापछि सहमतिविपरीत निर्णय हुँदै जाँदा पनि आफूले मौनपूर्वक साथ दिएको बताएका छन्। 

‘२०६३ सालमा सालमा जनचाहनालाई विचार गरी राजनीतिक दलका नेताहरूसँग बनेको सहमतिअनुसार संसद पुनःस्थापना गरिँदा राजनीतिक संकट अन्त्य भई मुलुकमा शान्ति, स्थायित्व र समृद्धिको द्वार खुल्ने अपेक्षा हामी सबैले राखेका थियौं,’ पूर्वराजाले भनेका छन्, ‘संसद पुनःस्थापनापछि पूर्वसहमति प्रतिकूल निर्णय हुँदै जाँदा पनि हामी सबैले देशको भविष्य र जनताको हितलाई केन्द्रविन्दुमा राखी मौनतापूर्वक साथ दिएका हौं।’

पूर्वराजा शाहले यस अवधिमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीचको शक्ति सन्तुलन असन्तुलित भएको र विश्वमा प्रचलित प्रजातान्त्रिक मूल्य, मान्यता र मर्म प्रतिकूल व्यवहार राजनीतिक तहमा प्रकट भएको बताएका छन्। ‘जनताको चाहना बमोजिम शान्ति, स्थिरता र समृद्धिको मार्ग तय गर्ने दिशामा पटक–पटक चुकेको अनुभूति जनताले गर्नु परिरहेको छ,’ शाहले भनेका छन्। 

हिमाल, पहाड र तराई नै नेपालको विश्व परिचय भएको वास्तविकतालाई आत्मसात गरी तदअनुरुप व्यवहार गर्न नसक्दा नेपाली नेपालीबीच अविश्वास, अनेकता र आशंका उत्पन्न हुने स्थिति पैदा भएको उनले बताएका छन्। सनातन धर्म र निष्ठामा आधारित जीवन मूल्यलाई क्षतविक्षत तुल्याउन भएका दृश्य अदृश्य चालबाजीका कारण सामाजिक जीवन आकुल ब्याकुल बन्न पुगेको भन्दै शाहले देशको प्रजातन्त्र र सार्वभौमिक स्वतन्त्रतामाथि समेत खतरा देखिन थालेको बताएका छन्। ‘राष्ट्र समृद्ध बनाउनमा मुख्य योगदान पुर्याउन सक्ने जनशक्तिको पलायन अत्यास लाग्दो किसिमबाट बढिरहेको छ,’ उनले भनेका छन्। 

महाभूकम्प र बाढीपहिरोको कारण घरबासविहीन हुन पुगेका जनतालाई अनुभूत हुनेस्तरको सहारा दिने कार्य हुन नसकेको भन्दै उनले राजनीतिक तहमा भएका अनगिन्ती संवाद र सहमति जनसमस्या समाधानमुखी नभएर राजनीति केन्द्रित हुन पूगेको पूर्वराजाले बताएका छन्। ‘राजनीतिक क्षेत्रप्रतिको भरोसा न्यून हुँदा त्यसले अन्तत देशको एकता र सबल राष्ट्रियतालाई नै दीर्घकालीन असर पुर्याउने त्रास थपेको छ,’ शाहले भनेका छन्। 

अतीतका कतिपय आदर्शलाई जीवन्त राख्दै आगतलाई अझ चहक बनाउँदै लैजानु समयको माग भएको बताउँदै शाहले प्रश्न गरेका छन्, ‘विगत एघार वर्ष के कसरी बिते? यो अवधिमा के–के भए? यस अवधिमा तमाम नेपाली दिदीबहिनी दाजु भाइहरूको सामाजिक, आर्थिक तथा नागरिक हक हितमा के कति सुधार आयो?’ 

देशको अखण्डता, एकता एवम् सार्वभौम स्वतन्त्रतामाथि आँच नपुगोस् भन्दै पूर्वराजाले त्यो यतिखेर ‘सोचनीय विषय’ भएको बताएका छन्। 


 

More form the Internet

loading...