Suvadin, Home

निर्वाचन बिथोल्न खोज्नेलाई कडा कारबाही

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उपप्रधान तथा गृहमन्त्री निधिले निर्वाचन सफल बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि स्पष्ट पारे।
गृहमन्त्री विमलेन्द्र निधि।

काठमाडौं, वैशाख ३- उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तहको निर्वाचन बिथोल्न खोज्नेमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन्। उपप्रधान तथा गृहमन्त्री निधिले निर्वाचन सफल बनाउन सरकारले उच्च सुरक्षा सतर्कता अपनाएको पनि स्पष्ट पारे।

मधेसी मोर्चासहितका संघीय गठबन्धनले निर्वाचन बिथोल्ने गरी आइतबार आन्दोलनको कडा कार्यक्रम घोषणा गरेका छन्। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै गृहमन्त्री निधिले निर्वाचन बहिस्कार गर्ने वा बिथोल्ने काम हुन नदिने गरी सरकारले शान्ति सुरक्षाको भरपर्दो व्यवस्था गरेको पनि उल्लेख गरे। उनले निर्वाचन बिथोल्न नदिन सरकारले सामान्य, संवदनशील र अति संवेदनशील गरेर तीन तहको सुरक्षा योजना बनाएको पनि स्मरण गराए।

गृहमन्त्री निधिले बुथ, निर्वाचनस्थल, मतदान केन्द्र र मतदान केन्द्रबाहिर समेत सुरक्षाको उचित व्यवस्था हुने गरी सुरक्षा योजना बनाइएको पनि समितिलाई जानकारी दिए। गृहमन्त्री निधिले निर्वाचनलाई सफल बनाउन पनि सबैमा पुनः अपील गरे। गृह मन्त्रालयले निर्वाचनका लागि करिब २ लाख ३१ हजार सुरक्षाकर्मी परिचालन गर्ने योजना पनि बनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान र नेपाली सेना गरी चार वटै सुरक्षा निकायलाई परिचालन गर्ने पनि गृहमन्त्री निधिले बताए।

उनले निर्वाचनका लागि परिचालन गरिने ७५ हजार म्यादी प्रहरीलाई तालिम दिने काम सुरु गरिएको पनि स्मरण गराए।

गृह मन्त्रालयले निर्वाचनको सुरक्षाका लागि ७ वटै प्रदेशमा क्षेत्रीय सुरक्षा गोष्ठी कार्यक्रम पनि सञ्चालन गरिरहेको छ। गृहमन्त्री निधिले निर्वाचनको सुरक्षाका लागि सबै निकायका प्रहरी प्रमुखहरूको उपस्थितिमा सुरक्षा गोष्ठी सञ्चालन भइरहेको जानकारी दिए। उनले सुरक्षा निकायले निर्वाचन अधिकारीसँग समन्वय गरेरै काम गर्ने नीतिगत निर्णय लिइएको पनि स्पष्ट पारे।


 

More form the Internet

loading...