Suvadin, Home

ज्वाइँले हारे, ससुराले जिते!

छिमी र छक्कबहादुरको सम्बन्ध ज्वाइँ ससुराको हो। छक्कबहादुरले छोरी पेमा छोटेन लामाको विवाह छिमीसँग गरिदिएका थिए। तर, पेमाको ६० सालमा हत्या भएको थियो।
छक्कबहादुर लामा।

हुम्ला, मंसिर २२ – हुम्लामा वाम गठबन्धनका उम्मेदवार छिमीदोर्जे लामा पराजित हुँदा बागी उम्मेदवार छक्कबहादुर लामा विजयी भएका छन्।

छिमी र छक्कबहादुरको सम्बन्ध ज्वाइँ ससुराको हो। छक्कबहादुरले छोरी पेमा छोटेन लामाको विवाह छिमीसँग गरिदिएका थिए। तर, पेमाको ६० सालमा हत्या भएको थियो।

हुम्लामा निर्वाचनको अन्तिम परिणाम अघि ज्वाँइ ससुरा मिल्ने अड्कल काटिएको थियो। माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका छक्कले टिकट पाएका थिएनन्।

उनले कमल चिन्ह लिएर स्वतन्त्र उम्मेद्वारी दिएका थिए। छिमी वाम गठबन्धनका आधिकारिक उम्मेदवार बनेका थिए। छक्कबहादुरले ८ हजार ४ सय ९१ मत पाए भने छिमीले २ हजार ८ सय ५६ मत ल्याए।

कांग्रेसका मंगल बहादुर शाही हुम्लामा निकटतम प्रतिद्वन्द्वी रहे। उनले ८ हजार ४ सय ४४ मत प्राप्त गरे। ज्वाँइ र ससुराबीचको प्रतिष्पर्धामा समेत मंगलबहादुरले जीत निकाल्न सकेनन्। उनी ४७ मतले पराजित भए।

छक्कबहादुर ४८ सालमा संयुक्त जनमोर्चाबाट सांसद भएका थिए। त्यसपछि उनी शाही शासनकालमा राज्यमन्त्री बनेका थिए। तर, पछि उनी पुन: माओवादीमा लागेका थिए।

२०७० मा छक्कबहादुर माओवादीबाट उम्मेदवार बनेका थिए। छक्कबहादुर हुम्लाका बुद्धिजिवी राजनीतिज्ञका रूपमा चिनिन्छन्। उनी ५ भाषा बोल्न सक्छन्। उनको सिमिकोट टू कैलाश किताब समेत प्रकाशित छ।


 

More form the Internet

loading...