Suvadin, Home

भारतले माल्दिभ्सलाई  १.४ अर्ब डलर सहायता गर्ने

सोमबार प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भएको औपचारिक भेटमा दुई देशबीच हिन्द महासागर क्षेत्रको सुरक्षा मिलेर गर्ने सहमति पनि भएको छ।

एजेन्सी, २ पुस – भारतले टापु राष्ट्र माल्दिभ्सलाई १ अर्ब ४० करोड अमेरिकी डलर सहायता दिने भएको छ। राष्ट्रपति इब्राहिम मोहमद सोलिहको तीन दिने भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँगको वार्तापछि भारतले माल्दिभ्सलाई सहायता दिने प्रतिवद्धता व्यक्त गरेको हो।

गत नोभेम्बर १७ मा राष्ट्रपतिको सपथ लिएका सोलिह महिना दिन नपुग्दै पहिलो विदेश भ्रमणका लागि आइतबार नयाँदिल्ली आएका हुन्।

सोमबार प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा भएको औपचारिक भेटमा दुई देशबीच हिन्द महासागर क्षेत्रको सुरक्षा मिलेर गर्ने सहमति पनि भएको छ।

‘राष्ट्रपति सोलिह र म हिन्द महासागर क्षेत्रमा शान्ति र सुरक्षा कायम राख्न आपसी सहयोग अझ गहिरो बनाउन जरूरी छ भन्ने कुरामा सहमत भयौं,’ सोलिहसँगको संयुक्त पत्रकार सम्मेलनमा मोदीले भने, ‘दुबै देशको हित एकअर्कासँग जोडिएको छ। यस क्षेत्रको स्थिरताका लागि एकअर्काका हित र चिन्ताप्रति सचेत हुनेमा हामी एकमत छौं। अर्को देशलाई नोक्सान हुने यस्ता कुनै पनि गतिविधिका लागि आफ्नो देशको उपयोग हुन दिनेछैनौं।’

गत चुनावमा सोलिह  चीननिकट मानिएका तत्कालीन राष्ट्रपति अब्दुल्ला आमिनलाई हटाएर निर्वाचित भएका थिए।

मालेमा भएको उनको सपथ समारोहमा भारतीय प्रधानमन्त्री मोदी पनि सहभागी थिए। सन् २०१४ मा प्रधानमन्त्री बनेका मोदी कुनै सरकार वा राष्ट्रप्रमुखको सपथमा गएका थिएनन्।

सपथमा मोदी गएपछि भारतीय सञ्चारमाध्यमले सोलिहको विजयसँगै हिन्द महासागरको महत्वपूर्ण यो टापु राष्ट्र चीनको प्रभावबाट बाहिर आएको बताएका थिए।

माल्दिभ्सको आन्तरिक मामिलामा विगतमा निकै प्रभावी रहेको भारतले सन् १९८८ मा सम्भावित सत्ताविद्रोह दबाउन सेना र युद्धपोत पठाएको थियो। 

पछिल्ला वर्षहरुमा राष्ट्रपति आमिनमाथि चीनसँग नजिकिएको आरोप लाग्दै आएको थियो। माल्दिभ्सका ठूला पूर्वाधार परियोजनाका लागि चीनले करोडौं डलर ऋण प्राप्त गरेका थिए। 

निकै शक्तिशाली मानिएका चीननिकट राष्ट्रपति अब्दुल्ला यामिन आश्चर्यजनक रूपमा पराजित भएका थिए। 
सपथपछि नयाँ राष्ट्रपति सोलिहले देश आर्थिक संकटमा रहेको बताएका थिए।

‘मैले सपथ लिने बेलामा देशको अर्बौं रूपैयाँ हराइरहेको छ, कति पैसा हराइरहेको छ भन्ने पनि हामीलाई ठ्याक्कै थाहा छैन,’ सलाहले भने, ‘यो रूपैयाँ पाउन हामीले विदेशी सहयोग चाहिन्छ।’

मोदीले सोलिहलाई माल्दिभ्सको सामाजिक र आर्थिक दीगो विकासका लागि सहयोग गर्ने वचन दिएका थिए।


 

More form the Internet

loading...