Suvadin, Home

बेलायतको मन्त्रिमण्डल : भारतीय गृहमन्त्री, पाकिस्तानी अर्थमन्त्री

लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोहन्सनले भारतीय मूलकी प्रिति पटेललाई गृहमन्त्री बनाएका छन्  भने पाकिस्तानी मूलका साजिद जाविदलाई अर्थमन्त्री बनाएका छन् । यसअघि जाविद गृहमन्त्री थिए । प्रधानमन्त्री जोन्सनले बुधबारमात्रै कार्यभार सम्हालेका हुन् । त्यस लगत्तै उनले नयाँ मन्त्री मण्डल गठन गरेका हुन् । डोनिनिक राबलाई नयाँ विदेशमन्त्री बनाइएको छ । 

दुई वर्ष अघि एक विवादमा प्रिति पटेलले टेरेजा मे मन्त्रिमण्डलबाट राजीनामा दिएकी थिइन् । तर, उनी अब झन् शक्तिशाली मन्त्रालयसहित सरकारमा फर्केकी छन् । ४७ वर्षीया प्रितिको जन्म लण्डनमा भएको हो । उनका आमाबाबु गुजरातका हुन् । उनीहरु गुजरातबाट युगाण्डा गएका थिए । १९६०को दशकमा बेलायतमा पुगे ।

प्रिति पटेल सानो उमेरमै कन्जर्भेटिभ पार्टीमा सामेल भएकी हुन् । त्यतिबेला उनको उमेर २० वर्षपनि भएको थिएन । त्यति बेला जोहन मेजर बेलायतको प्रधानमन्त्री थिए । सन् २०१७मा आफ्नो निजी इजरायल यात्रालाई लिएर विवाद भएको थियो । विवादपछि प्रिति पटेललाई अन्तर्राष्ट्रिय विकास मन्त्री पदबाट राजीनामा दिनुपरेको थियो । उनी अगस्ट महिनामा निजी पारिवारिक छुट्टीमा इजरायल गएकी थिइन् । उनले प्रधानमन्त्री बेन्जामिन न्यातानाहुसँगपनि कुराकानी गरेकी थिइन् । यसको जानकारी उनले इजरायलस्थित बेलायती दूतावासलाई दिएकी थिइनन् ।

उनी युरोपेली संघ(इयु)को आलोचक मानिन्छिन् । उनले समलिंगी विवाहको विरुद्धमा मतदान गरेकी थिइन् भने धुम्रपानमा प्रतिबन्धको विरुद्धपनि अभियान चलाएकी थिइन् ।उनी २०१०मा सांसद चुनिएकी हुन् । 

उता ४९ वर्षीय पाकिस्तानी मूलका अर्थमन्त्री बेलायतमा नै जन्मेका हुन् । २०१८ सलमा जब टेरेजा मे को सरकारमा उनी गृहमन्त्री बनाइएका थिए । त्यतिबेला उनलाई पहिलो अल्पसंख्यक समूहबाट आएका गृहमन्त्री मानिएको थियो । उनी २०१० सालदेखि ब्रुम्सग्रोबबाट सांसद छन् । उनको जन्म राकडेलमा एक पाकिस्तानी परिवारको साथमा भएको थियो । आफ्नो परिवारको बारेमा उनले इभनिङ्ग स्ट्याण्डर्डलाई बताएअनुसार उनी पाकिस्तानको एक सानो गाउँबाट बेलायत गएका हुन् । उनका बाबु १७ वर्षको उमेरमा कामको खोजीमा बेलायत गएका हुन् । त्यतिबेला उनी राकडेलको कपडाको कारखानामा काम गर्थे । त्यसपछि उनी बस ड्राइभर भए ।

अर्का भारतीय मूलका व्यक्ति आलोक शर्मापनि अन्तर्राष्ट्रिय विकास राज्यमन्त्री भएका छन् । ५१ वर्षिय उनी भारतको आगराका मूल निवासी हुन् । उनी ५ वर्षको उमेरमा नै आफ्ना आमा बाबुका साथ बेलायत गएका थिए । भारतीय मूलकै ४९ वर्षिय ऋषि सुनकलाई ट्रेजरी सम्बन्धी मुख्य सचिव बनाइएको छ । उनी अहिले सरकारमा जुनियर लोकल मन्त्री रहेका छन् । (बीबीसी)


 


 

More form the Internet

loading...