Suvadin, Home

अमेरिकी दूतावासको स्पष्टिकरण - इन्डो–प्यासिफिक नीति हो, रणनीति होइन र कसैको विरुद्धमा छैन 

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासका राजनैतिक विभागका प्रमुख क्लिन्टन टाड ब्राउनले ‘इन्डो–प्यासिफिक स्ट्राटेजी’ रणनीति नभई अमेरिकाको नीति मात्र रहेको बताएका छन् ।

‘यो हाम्रो आफ्नै पोलिसी हो, नेपालीमा भन्नुपर्दा यो नीति हो, रणनीति होइन । कानुनी शासन, खुलापन, स्वतन्त्रता र स्वतन्त्रतामा आधारित विधिको शासनसँग सम्बन्धित छ,’ ब्राउनले भने, ‘साना देशहरू ठूलाबाट मिचिनु वा घेरिनु विधिको शासनमा आधारित अन्तर्राष्ट्रिय व्यवस्थामा सम्भव हुँदैन । त्यहाँ नेपालले हस्ताक्षर गरेर सहभागी हुनुपर्ने कुनै प्रावधान छैन ।’

इन्डो–प्यासिफिक स्ट्राटेजी अमेरिकाले दोस्रो विश्वयुद्धको अन्त्यपछि ७० वर्षदेखि अँगाल्दै आएको नीति हो भन्दै उनले यो कसैको विरुद्धमा नभएको बताए । ‘जसले यो नीति चीनविरुद्धको हो भनिरहेका छन् उनीहरूले के बुझिरहेका छैनन् वा बुझ पचाइरहेका छन् भने यसले करोडौं मानिसको जीवनमा काम गरेको छ,’ उनले भने, ‘त्यसो हुँदा, म के थप्न चाहन्छु भने इन्डो–प्यासिफिक स्ट्राटेजी चीनको विरुद्धमा नभएर पक्षमा छ । यस क्षेत्रमा भएको सुरक्षा, स्वतन्त्रता र खुलापनले नै गर्दा चीनको विकास सम्भव हुन सकेको हो ।’

सेमिनारमा नेपालस्थित अमेरिकी, जापानी, भारतीय, युरोपियन युनियन, राष्ट्रसंघीय निकायका कूटनीतिक अधिकारी तथा प्रतिनिधि, प्राध्यापक, पूर्व तथा वर्तमान सांसदहरूको सहभागिता थियो । ब्राउनले नेपाल र अमेरिकाले दुई वर्षअघि मित्रताको ७० औं वर्षगाँठ मनाएको उल्लेख गर्दै नेपालको विकासमा अमेरिका साझेदार भएको बताए ।

‘हरेक वर्ष २ सय मिलियन डलर (२० अर्ब रुपैयाँभन्दा बढी) रकम विकास सहायता गरेका छौं, यो ऋण होइन, अनुदान हो,’ उनले भने, ‘सडक र विद्युत् क्षेत्रमा सहायताका लागि मिलेनियम च्यालेन्ज कोअपरेसनअन्तर्गत ५ सय मिलियन (५० अर्ब रुपैयाँभन्दा बढी) सहयोग छ ।’

हरेक वर्ष ९० हजार अमेरिकी पर्यटक नेपाल आउने गरेको बताउँदै उनले नेपालको शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषि, सडक, पुल, मिडिया, सुरक्षा, वातावरण र भूकम्पलगायतमा सहयोग गर्दै आएको उल्लेख गरे । अमेरिकाले नेपाली सैनिकलाई विभिन्न तालिम दिने गरेको सुनाउँदै उनले आगामी तालिम पानीबाट द्रुत उद्धार गर्नेबारे हुन लागेको बताए ।
 


 

More form the Internet

loading...