डिअाइजी जयबहादुर चन्दको ‘अपरेसन स्युडो’माथि अनुसन्धान थालियो
काठमाडौं, फागुन २७ - लागुऔषध नियन्त्रण ब्युरोको ‘अपरेसन स्युडो’ विवादमा आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गृहमन्त्रालय र संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान सुरू गरेका छन्।
गृह मन्त्रालय अन्तर्गतको लागुऔषध नियन्त्रण महाशाखा, आयोगको प्रहरी महाशाखा र सार्वजनिक लेखा समितिले बेग्लाबेग्लै ‘गोप्य अनुसन्धान समूह’ गठन गरी अनुसन्धान थालेको स्रोतले बतायो। मुख्य आरोपीलाई नियन्त्रणमा लिए पनि केहीलाई मुद्दा नचलाई र केहीलाई ब्युरो हिरासतबाटै छोडिएपछि ब्युरोको अपरेशन स्युडो विवादमा आएको हो।
यसैक्रममा मुद्दा अभियोजनमा ठूलो आर्थिक चलखेल भएको भन्दै सरकारले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका सह–न्यायाधिवक्ता टेकबहादुर घिमिरे र धादिङ जिल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारीलाई निलम्बन गरिसकेको छ।
‘अपरेसन स्युडो’का आरोपीलाई आर्थिक चलखेलमा उन्मुक्ति दिएको आरोपमा दुई सरकारी वकिल निलम्बनमा परेपछि मुख्य अपरेसनकर्ता रहेको ब्युरो अधिकारीको संलग्नताका विषयमा ती निकायहरूले छानविन थालेका हुन्।
निलम्बित घिमिरे र धादिङ जिल्ला न्यायाधिवक्ता दयाशंकर अधिकारीलाई महान्यायाधिवक्ताको कार्यालयले वयान लिन सुरू गरेको छ। महान्यायाधिवक्ताको कार्यालयले मुद्दा अभियोजनका लागि अनुसन्धान अधिकृत तोकिएका ब्युरोका डिएसपी अपिलराज बोहरा र निरीक्षक अनिल ठकुरीसँग समेत बयान लिएको स्रोतले बतायो। ब्युरोको मुद्दा शाखाका अन्य कनिष्ठ प्रहरी पनि वयानमा बोलाइएको महान्यायाधिवक्ता कार्यालयले बतायो।
ब्युरोले करोडौं मूल्य बराबरको लागुऔषध स्युडोफेड्रिन तथा प्रिकर्सर केमिकल बरामद गरे पनि त्यसको अवैध ओसारपसारमा र तस्करीमा संलग्न मुख्य अभियुक्तलाई उन्मुक्ति दिएको घटनामा ब्युरो प्रमुख डिआइजी जयबहादुर चन्दको भूमिका समेत विवादमा आएको छ।
सरकारले प्रहरी महानिरीक्षकको बढुवाका लागि सिफारिस गरेका चन्दले अपरेसन स्युडोमा रकम लेनदेन गरेको भन्दै चन्दविरूद्ध अख्तियार, लेखा समिति, गृह, महान्यायाधिवक्ता कार्यालय र प्रधानमन्त्री कार्यालयमा निवेदन दिएका थिए।
महान्यायाधिवक्ता कार्यालयले मुद्दा अनुसन्धान गर्ने निकाय ब्युरोका प्रमुख चन्द र मुद्दा अभियोजन गर्ने कार्यालयका प्रमुख घिमिरे बारम्बार घटनाका आरोपीले पठाएका बिचौलियाको मध्यस्थतामा भेटघाट गर्ने गरेको, करिब ६० करोड रुपैयाँ दुबै पक्षलाई दिने सहमति भएको र सोहीअनुसार दुबै पक्षले मुद्दा कमजोर बनाएर आरोपीलाई उन्मुक्ति दिएको जस्ता आरोपलाई केन्द्रमा राखेर अनुसन्धान गरिरहेको छ। महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतका अनुसार अनुसन्धानमा आरोपीमध्ये एक पूर्वसभासद मधुसूदन अग्रवालका भारतीय प्रतिनिधिले बौद्धस्थित होटल हयातमा भेटेर डिल गरेको खुलेको स्रोतले बतायो।
यो पनि हेर्नुहोस्
शंकाको घेरामा ‘अपरेसन स्युडो’
डिआइजी जयबहादुर चन्दलाई १६ करोड ‘बार्गेनिङ’ अभियोग
जयबहादुर चन्द प्रहरी महानिरीक्षक बन्न नसक्ने चार आधार
जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन बालुवाटारमा देउवा-प्रचण्डको ‘निर्णायक मिटिङ’
प्रहरी संगठनको साँचो टंगालबाट बुढानिलकण्ठ
देउवाद्वारा नेपाल प्रहरीमा राजनीतिक हस्तक्षेपलाई खुला निम्तो
शेरबहादुर देउवाले भने,‘जयबहादुर चन्दलाई आईजीपी बनाउन गृहमन्त्री फेर्छु’
डिआइजी चन्द ‘बिचौलिया’ लिएर देउवा कुटीमा
आरोप के हो?
वीरगञ्ज आदर्शनगर वडा नम्बर–१४ बस्ने मोहित हलानलाई प्रहरीले २० केजी १ सय २५ ग्राम अबैध तरिकाले ल्याइएको सहायक रसायन प्रिकर्सरसहित साउन १२ गते बारा गडिमाई जितपुरस्थित आर्या फर्मा उद्योगबाट पक्राउ गरेको थियो।
आर्या फर्माका सञ्चालक पवन सांघाई हुन्। हलान संघाईका व्यापारिक साझेदार रोहित हलानका छोरा हुन्। पवन र रोहित दुबै प्रहरीको ‘फरार’ सूचीमा छन्। पवनका सहोदर दाइ रतनलाई भने प्रहरीले पक्राउ गरेको थियो।
त्यसैदिन प्रहरीले आर्या फर्मको कार्यालयमा कार्यरत दिलीप पण्डितलाई कमलपोखरीबाट पक्राउ गरेको थियो। सोधपुछका क्रममा उनले ललितपुर–६ पाटन औद्योगिक क्षेत्रस्थित संघाई प्लाष्टिक उद्योगको गोदाममा औषधिजन्य वस्तु राखेको बताएका थिए।
उनको वयानका आधारमा प्रहरीले त्यहाँ छापा मार्दा ४७१ किलो ८८ ग्राम औषधिजन्य कच्चापदार्थ फेला परेको थियो। त्यो रुघाखोकी नियन्त्रण गर्न बनाइने औषधिको कच्चापदार्थ ‘स्युडो एफिड्राइन’ थियो।
अनुसन्धान अनुसार उक्त परिमाणको कच्चापदार्थबाट ७१ दशमलव ४४ किलो ट्याब्लेट बन्छ। त्यति ट्याब्लेटको नेपाली रुपैयाँ एक अर्ब ३२ करोड ४३ लाख ५५ हजार ९ सय ९० रुपैयाँ हुन जान्छ।
पण्डितले उक्त औषधिजन्य कच्चापदार्थ आर्या फर्माका सञ्चालक पवन संघाईका दाजु रतनलाल संघाईको निर्देशनमा उक्त गोदाममा राखेको खुलेको थियो। रतन र पवन दुबै उक्त प्लाष्टिक उद्योगका सञ्चालक हुन्।
पण्डितको वयानका आधारमा प्रहरी रतनकहाँ पुगेको थियो। रतनलाई कोटेश्वर मुनीभैरबबाट पक्राउ गरिएको थियो। रतनको वयानमा त्यो कच्चापदार्थ आर्या फर्मका सबै कारोबार हेर्ने शंकर हलानको निर्देशनमा हुने गरेको खुलेको थियो।
पक्राउ परेका दिलीप पण्डितले सिनामंगल बस्ने बद्री वन र झापा काँकडभिट्टा बस्ने श्याम तामाङलाई पोलेका थिए। उनीहरू दुबै पक्राउ परेका छन्। उनीहरू लामो समयदेखि औषधिजन्य कच्चापदार्थ ओसारपसारमा संलग्न हुँदै आएको खुलेको थियो।
औषधि व्यवस्था विभागका अनुसार कुनै पनि उत्पादित तयारी औषधि स्ट्रिप वा ब्लिष्टरमा प्याक गरेर बजारमा लैजानुपर्छ। कुनै पनि औषधिमा लेवल छैन भने त्यो सामान्यतया कच्चापदार्थ हो भन्ने बुझिन्छ।
साउन १२ गते आर्या छापा मार्दा केही व्यक्तिलाई मात्र मुद्दा चलाएर मुख्य आरोपित व्यापारी पवन संघाईको मुद्दा फितलो बनाएको आरोप वकिल र चन्दसहितका प्रहरीलाई लागेको छ।
नेपालका केही फार्मेसीहरू एसआर फर्मा सतुङ्गल, आर्या फार्म बारालगायतले अबैध रुपमा प्रिकर्सर केमिकल खुलेआम ओसारपसार गरिरहेको पत्ता लागेपछि छापा मारिएको थियो।
केमिकल नेपालबाट चीन, साउथ एसिया र युरोपका विभिन्न देशमा यसको निर्बाध ओसारपसार भइरहेको ब्युरोको अनुसन्धानमै खुलेको थियो। पिकर्सर केमिकल लागुऔषध बनाउनका अबैध निर्यात हुने गरेको गुनासो औषधि व्यवस्था विभागले पहिलेदेखि नै गरिरहेको थियो।
चन्दले मोहित हलानसँगै पक्राउ परेका ड्राइभर र २० केजी बरामद भएको गाडीलाई रातारात छोडेका थिए। संघाईका भाइ रतन पक्राउ परे पनि त्यो मुद्दा मिलाउन भन्दै आएका पीताम्बर मुन्कालाई नियन्त्रणमा राखेर चन्दले भोलिपल्ट छोडेका थिए। ‘ड्राइभरको संलग्नता नदेखिएकाले उनलाई पक्राउ गरेको केही समयमा छोडिएको हो,’ ब्युरोले गरेको पत्रकार सम्मेलनमै चन्दले भनेका थिए।
‘बार्गेनिङ’ गर्दै जाँदा पक्राउ गर्नुपर्ने मानिससमेत पक्राउ परेनन्। पवन संघाई, शंकर हलान, रोहित हलान, कमल कुमार अग्रवालसहित ठूला गिरोह प्रहरीको चंगुलबाट सजिलै उम्कन सफल भएको थियो।
शंकर हलानका एजेन्ट श्याम तामाङ झापाबाट पक्राउ परेका थिए। स्रोतका अनुसार चन्दले एकातिर थप मानिस पक्राउ गर्न टोली फिल्डमा खटिएका थिए भने अर्कोतिर ‘बार्गेनिङ’ गरिरहेका थिए। तब प्रक्रिया नपुर्याई म्याद थप गर्न लैजाँदा संगठित अपराधमा उनीहरूको म्यादसमेत थप हुन सकेन।
प्रहरीले अनुसन्धान गर्दै जाँदा एसआर फर्मा र टौरस ल्याबको नाम जोडिएर आयो। पक्राउ परेका मानिसहरूले एसआर फर्मामार्फत हजारौं पटक कारोबार गरिसकेका थिए। चन्दले दुबैतिर ‘बार्गेनिङ’ थालेका थिए।
एसआर फर्मा र टौरस ल्याबका सञ्चालक पूर्वसभासद मधुसूदन अग्रवाल, उनका भाइ सञ्जय अग्रवाल र अमित अग्रवाल, छोरा अक्षय अग्रवाल र आशिष अग्रवालमाथि मुद्दा दायर गर्न प्रहरीले सिफारिस गरेको थियो।
तर, काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले एक जना कर्मचारी खडानन्द शर्मा र एउटा शेयरधनी सञ्जयकुमार गुप्ताविरुद्धमात्र मुद्दा दायर गरेको थियो। मुख्य सञ्चालकलाई उन्मुक्ति दिएर कर्मचारी र एक जना सेयर धनीलाई मात्र मुद्दा चलाउन न्यायाधिवक्ताले साथ दिएको आरोप लागेको थियो।
एसआर फर्मासँग सम्बन्धित मुद्दामा लागुऔषध नियन्त्रण ब्युरोले एक जना सेयर होल्डरलाई मुद्दा चलाउन सिफारिस गरे पनि अरु सेयर होल्डरहरु अशोक गुप्ता अग्रवाल, श्रुति अग्रवाल र अक्षय अग्रवाललाई भने मुद्दा नै नचलाई प्रहरी कार्यालयबाट सिधै उन्मुक्ति दिइएको थियो। त्यस्तै, अमित गुप्ता अग्रवाल, पूर्वसभासद मधुसूदन अग्रवाल र सञ्जय गुप्तालाई क्रमशः जिल्ला सरकारी वकिल कार्यालय काठमाडौं र धादिङले मुद्दासमेत नचल्ने निर्णय गरेको थियो।
ब्युरोले त्यसबेला काठमाडौं जिल्ला अदालतमा ३ अर्ब २५ करोड र धादिङ जिल्ला अदालतमा २ अर्ब २९ करोड मागदाबी गर्नुपर्ने बाध्यात्मक परिस्थिति हुँदाहुँदै पनि अभियोगपत्रमा माग दाबी नखुलाई मुद्दा दर्तासमेत नगरी अवैध कारोबारमा संलग्नहरूलाई उन्मुक्ति दिएको थियो। यसमा चन्द र काठमाडौं सरकारी वकिल कार्यालयका न्यायाधिवक्ता घिमिरेबीच पटक–पटक कुराकानी भएको स्रोतले जनाएको छ।
२०७३ साउन १२ र १३ गते व्यापारी संघाई सञ्चालक रहेको आर्या फर्मा ल्याबको पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक गोदाममा छापा मार्दा ४ सय ७१ किलो प्रिकर्सर केमिकल भेटिएपछि घटना लुकाउन चन्दले संघाईसँग १६ करोड रुपैयाँ ‘बार्गेनिङ’ गरेको स्रोतको दाबी छ। २०७३ साउन १५ गते अपराह्न व्यापारी पवन संघाईका दाजु रतनलाल संघाईले संघाई ग्रुपका पूर्वकर्मचारी रहेका नेपाली सेना र नेपाल प्रहरीका ठेकेदार पीताम्बर मुन्कालाई सँगै लिएर चन्दलाई भेट्न गएका थिए। रतनलाल, मुन्का, चन्दबीच करिब डेढ घण्टासम्म कुराकानी भएको थियो।
उक्त दिन रतनलाल, मुन्का र चन्दबीचको कुराकानी भएको घटनालाई सार्वजनिक भएपछि चन्दले रतनलाललाई हिरासतमा लिएका थिए। प्रहरीले सोही रात ‘मध्यस्थकर्ता’ मुन्कालाई चन्दको कार्यकक्षबाहिर रहेको बैठक कक्षमा सुत्ने व्यवस्था मिलाएको स्रोतको दाबी छ। मुन्कालाई त्यतिकै छोड्दा सूचना चुहिनसक्ने सम्भावनाले केरकार गरेर आइतबार छोडिएको थियो।