Suvadin, Home

खाडी क्षेत्रको सुरक्षा हामी गर्छौं : इरानी राष्ट्रपति हसन

इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् ।

एजेन्सी  । इरानी राष्ट्रपति हसन रौहानीले रणनीतिक महत्वको पर्सियाली जलक्षेत्रको सुरक्षामा इरानले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताएका छन् । तेहरानमा आयोजित सैनिक परेड कार्यक्रममा उनले पर्सियाली जलक्षेत्रमा अमेरिकी सैनिक प्रभाव बढ्दै गएकामा आलोचना गरेका हुन् ।

संयुक्तराज्य अमेरिकाले आफ्ना गठबन्धन अरब राष्ट्रहरुको सहयोगका लागि भन्दै खाडी क्षेत्रमा आधुनिक उपकरण सहित थप सैनिक तैनाथ गर्ने घोषणा गरेसँगै इरानको यस्तो प्रतिक्रिया आएको हो ।

विश्व तेल बजारमै हलचल ल्याउने गरी साउदी अरेबियाका दुई वटा तेल प्रशोधन केन्द्रहरुमा मानवविहीन (ड्रोन) बिमानबाट भएका हमलामा इरानको संलग्नता रहेको अमेरिकी दाबी छ । तर उक्त आक्रमणको जिम्मेवारी यमनमा युद्धरत हुथी विद्रोहीले लिएका छन् ।

इरानले भने अमेरिकी आरोपको खण्डन गर्नुका साथै अमेरिका वा साउदी अरेबियाबाट इरान विरुद्ध कुनै कारबाही भए त्यस विरुद्ध लड्न इरान तयार रहेको बताएको छ ।

राष्ट्रपति रौहानीले खाडी क्षेत्रमा विदेशी सैनिकको उपस्थिति रहँदासम्म विश्वको ‘ऊर्जा सुरक्षा’मा समस्या आइरहने चेतावनी दिनुएका छन् ।

उनले पर्सियाली जलक्षेत्र र हर्मुज स्ट्रेटमा सुरक्षा सुदृढ गर्ने गरी यस क्षेत्रका अरु मुलुकहरुसँग मित्रता र भातृत्वको सम्बन्ध अझ बलियो बनाउन इरान सदैब तयार रहेको बताए । हर्मुज स्ट्रेटको बाटो हुँदै विश्वको कूल कच्चातेल निकासीको झण्डै पाँच भागको एक भाग निकासी हुने गर्दछ ।

संयुक्तराज्य अमेरिकाले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्समा अमेरिकी सैनिकको संख्या र उपकरण बढाउने निर्णय गरिसकेको छ । यो व्यवस्थाबाट पर्सियाली जलक्षेत्र र महत्वपूर्ण तेल व्यापार मार्गमा अमेरिकाले नेतृत्वदायी भूमिका निर्वाह गर्नेछ जसमा युएई, साउदी अरेबिया, बहराइन, बेलायत र अस्ट्रेलियाको मुख्य गठबन्धन बनेको छ ।

तेहरानमा आयोजित सैनिक परेड इराकसँगको आठ वर्षे युद्धको ३९औं वर्षगाँठ पनि हो । यो युद्ध इराकी नेता सद्दाम हुसेनले सन् १९८० मा इरानमा आक्रमण गरेपछि शुरु भएको थियो ।

यसै किसिमका सैनिक परेडहरु देशका अरु शहरमा पनि आयोजना भएका छन्  । परेडहरुमा इरानी सैनिक डुङ्गाहरु, प्रतिरक्षा तथा अरु सैनिक उपकरणहरु प्रदर्शन गरिएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गरेको केही घण्टा नबित्दै अरब क्षेत्रमा अमेरिकी सैनिक संख्या बढाउने निर्णय सार्वजनिक भएको हो ।

अमेरिकाले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रहरुमा इरानले ड्रोन मार्फत आक्रमण गरेको आरोप लगाउँदै आएको छ ।

ह्वाइट हाउसमा पत्रकारहरुसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले इरानको केन्द्रीय बैंकमाथि नै प्रतिबन्ध लगाएको घोषणा गरेका छन् । इरानमाथि तत्कालै सैन्य कारबाही गर्ने योजना नभए पनि अर्को मुलुक विरुद्ध यो सबैभन्दा ठूलो कारबाही हो । 

अमेरिकी अर्थ विभागले साउदी अरेबियाका तेल प्रशोधन केन्द्रमा गरिएको आक्रमणमा संलग्न रहेको भन्दै इरानी केन्द्रीय बैंकमाथि नै सख्त प्रतिबन्धको घोषणा गरिएको जनाएको छ । साउदी तेल उद्योगमा आक्रमण भएलगत्तै विश्व बजारमा एकाएक तेलको मूल्य वृद्धि भएको थियो ।

अमेरिकी रक्षामन्त्री मार्क एस्परले गत जुनमा इरानले अमेरिकी गुप्तचर ड्रोन खसालेयताका हरेक कार्यहरु अमेरिका र यसका गठबन्धन विरुद्ध केन्द्रित भएको बताए । उनले साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्सको आग्रहमा खाडी क्षेत्रमा थप अमेरिकी फौज पठाउन लागेको जानकारी दिए ।

रक्षामन्त्री एस्परले अमेरिकी सेना आक्रामक कारबाहीका लागि खाडी क्षेत्रमा पठाउन लागिएको भए पनि उनीहरु हाल मुख्य रुपमा हवाई तथा क्षेप्यास्त्र प्रतिरक्षामा केन्द्रित हुने बताए । 

तर अमेरिकी संयुक्त सैन्य प्रमुख जो डन्फोर्डले खाडी क्षेत्रमा पठाइने सैनिक संख्या एक हजारको हाराहारीमा मात्र रहने स्पष्ट गरेका छन् । कतिपयले राष्ट्रपति ट्रम्पले इरान विरुद्ध युद्ध नै शुरु गर्ने अनुमान गरेपनि अमेरिकी नीति एकाएक फेरिएको थियो ।

गत जुनमा इरानले अमेरिकी जासुसी ड्रोन खसालेपछि तत्काल इरान विरुद्ध कारबाही गर्न राष्ट्रपति ट्रम्पले आदेश दिए पनि अन्तिम क्षणमा उक्त आदेश फिर्ता लिएका थिए । 


 

More form the Internet

loading...