Suvadin, Home

नेकपा बैठक : कार्यदलको सुझावमाथि छलफल

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन।

काठमाडौं, ९ फागुन – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साङ्गठनिक एकीकरणका लागि गठित कार्यदलले सुझाव पेश गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय र कार्यदलको संयुक्त बैठकमा साङ्गठनिक एकता गर्नका लागि गठित कार्यदलका संयोजक रामबहादुर थापाले अहिलेसम्म गरिएका कामको प्रतिवेदनसहित सुझाव पेश गरिएको जानकारी दिए। 

उनका अनुसार बैठकमा सबै सदस्यले अहिलेसम्म गरेका काम, समस्या, आजको आवश्यकता तथा सदस्यले आफ्नो प्रतिवेदनका सम्बन्धमा आआफ्ना विचार राखेका थिए।

गत पुस १२ गते सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो। प्रवक्ता नारायणकाजी श्रेष्ठले कार्यदलले दिएको सुझावमाथि छलफल शुरु गरिएको बताए। 

यसैगरी बैठकमा कार्यदलले पूर्ण प्रतिवेदन बुझाउनका लागि थप एक हप्ता समयमा माग गरेको छ। कार्यदलका सदस्य योगेश भट्टराईले पार्टी एकता ढिलाइ भइरहेकाले छिटो सम्पन्न गर्नका लागि आफूहरुले एक हप्ताको समय माग गरेको बताए। 

“हामीले विभिन्न कारणले प्रतिवेदन दिन सकेनौँ”, उनले भने, “अब एक हप्ताको समय हामी सबैले माग गरेका छौँ। एक हप्ताको समयमा कार्यदललाई दिइएमा हामीलाई दिइएका सबै विषय जिम्मेवारीपूर्वक सम्पन्न गरेर सचिवालयलाई प्रतिवेदन बुझाउँछौँ।” सचिवालयको अर्को बैठक शुक्रबार बस्ने भएको छ। 

गत जेठ ३ गते तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुनसकेको छैन।

स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने बताए पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिँदै गइरहेको छ। रासस


 

More form the Internet

loading...