Suvadin, Home

विश्वप्रकाश शर्माकाे अाह्वान!
'सबै पार्टीका अा-अाफ्नै एजेण्डा छन्, अब मिलेर राष्ट्र निर्माणकाे साझा भिजन बनाअाैं'

नेपालका प्रमुख राजनीतिक शक्तिहरु एमाले, माओवादी, कांग्रेस, राप्रपा तथा विभिन्न पार्टीहरुसँग देश बनाउन आ–आफ्नै भिजन रहेको टिप्पणी गर्दै शर्माले नेपालको साझा भिजन निर्माणका लागि अपील गरेका छन्। ‘त्यसैले अबको १० वर्षमा देशको मुहार परिवर्तन हुने किसिमले सिङ्गो देशको भिजन बनाएर अघि बढ्नुपर्छ,’ उनले भने।
नेपाली कांग्रेसका प्रभावशाली नेता विश्वप्रकाश शर्मा। तस्वीरः देबु/शुभदिन

देबु बानियाँ, झापा, मंसिर ७ – नेपाली कांग्रेसका प्रभावशाली नेता एवम् झापा क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार विश्वप्रकाश शर्माले संविधान कार्यान्वयन गरी मुलुकलाई समृद्धिको बाटोतर्फ अघि बढाउने जिम्मेवारी कांग्रेसकै काँधमा रहेको बताएका छन्।

मंसिर–२१ गते हुने निर्वाचनका लागि घरदैलो अभियानमा व्यस्त रहेका शर्माले कांग्रेसले सबैलाई समेटेर समृद्ध मुलुक निर्माण अभियानमा लागेको बताएका छन्। यसमा यो पार्टी वा त्यो पार्टीभन्दा पनि आमनेपालीको जीत हुने उनको धारणा छ।

‘आज हामी गठबन्धनको नाममा विभाजित भएका छौं,’ कांग्रेस केन्द्रीय सदस्य शर्माले शुभदिनसँग भने, ‘यो एकअर्कामा कित्ताकाट गरेर कहिलेसम्म विभाजित हुने? केका लागि विभाजित हुने?’

नेपालका प्रमुख राजनीतिक शक्तिहरु एमाले, माओवादी, कांग्रेस, राप्रपा तथा विभिन्न पार्टीहरुसँग देश बनाउन आ–आफ्नै भिजन रहेको टिप्पणी गर्दै शर्माले नेपालको साझा भिजन निर्माणका लागि अपील गरेका छन्। ‘त्यसैले अबको १० वर्षमा देशको मुहार परिवर्तन हुने किसिमले सिङ्गो देशको भिजन बनाएर अघि बढ्नुपर्छ,’ उनले भने।

शर्माले राजनीतिमा असल संस्कारको विकास गर्नुपर्ने बताउँदै अाफ्नो पार्टीलाई मात्र राम्रो देख्ने अनि अरु सबैलाई दुश्मन मान्ने प्रवृतिले देशले गति लिन नसकेको बताएका छन्।

वि.सं. २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग ६ सय ८९ मतले पराजित भएका शर्माले राजनीतिमा असल संस्कारको विकास गर्नुपर्ने बताएका छन्। उनले आफ्नो पार्टीलाई मात्र राम्रो देख्ने अनि अरु सबैलाई दुश्मन मान्ने प्रवृतिले नै देशले गति लिन नसकेको बताएका छन्।

‘मैले हारेर पनि जितेको महसुस गरेँ,’ शर्माले भने, ‘त्यसबेला मैले मतदातालाई आफ्ना बारेमा बुझाउन सकिनँ, उहाँहरुको मन जित्न सकिनँ, त्यसैले मत पनि जित्न सकिनँ, तर यस पटक मैले मन जितेको छु।’

सिंहदरबार र संसदमा पस्ने लाइसेन्स नपाए पनि आफ्नो क्षेत्रमा रहेर निरन्तर काम गर्ने अवसर पाएको उनले बताए। कुनै न कुनै माध्यबाट यस क्षेत्रमा निरन्तर काम गर्ने अवसर मिलेको उल्लेख गर्दै शर्माले अहिले आममतदाताका बीचमा पुग्दा सबैको माया र स्नेह पाएको बताएका छन्। उनले भने, ‘हरेक ठाउँमा पुग्दा मैले त्यो महसुस गरेको छु, यसले पनि हाम्रो जीत निश्चित छ।’

वि.सं. २०७० सालमा विजेता भएका एमालेका रविन कोइरालालाई आफैँले फोन गरी बोलाएर बधाई दिएको स्मरण गर्दै शर्माले भने, ‘उहाँको जीतपछि मैले बधाई दिँदै माला लगाइदिएँ, मैले आफ्नो हारलाई सहजै स्वीकार गरेँ, मैले सधैँ भन्दै आएको छु कि राजनीतिक संस्कारमा सुधार हुनुपर्छ।’

प्रदेश सभा ‘क’का उम्मेदवार केशवराज पाण्डेले अब देशलाई आर्थिक विकासतर्फ अगाडि बढाउनु पर्ने बताएका छन्।

प्रदेश सभा ‘ख’का उम्मेदवार अशोककुमार पोखरेलले राजनीतिमा शुद्धता नभएसम्म देशले गति लिन नसक्ने टिप्पणी गरेका छन्। उनले आफू सधैं राजनीतिमा परिवर्तन हुनुपर्छ भन्दै आएकाले अबको एजेण्डा पनि राजनीतिक सुधार गर्दै सामाजिक विकास रहेको उल्लेख गरेका छन्।

चुनाव नजिकिँदै गएपछि कांग्रेसले चुनावी अभियानलाई तीव्रता दिएको छ। क्षेत्र नम्बर–१ अन्तरगत रहेको काँकरभिट्टा, धुलाबारी, साविकको ज्यामिरगढी, भद्रपुर, शान्तिनगरलगायतका क्षेत्रमा घरदैलो अभियानका साथै कोणसभाको आयोजना गरिएको छ।


 

More form the Internet

loading...