Suvadin, Home

स्थानीय तह संरचना कार्यान्वयन कार्ययोजना सदर
सरकारमा सहभागिताबारे कमल थापाकाे प्रष्टीकरण

नवनियुक्त उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू सरकारमा सहभागी भएको बताएका छन्। उपप्रधानमन्त्री थापाले निर्वाचन हुँदैन भन्ने आशंका मेटाउन पनि आफू सरकारमा गएको स्पष्ट पारेका हुन्। 
उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापा ।

काठमाडौं, फागुन २७ – नवनियुक्त उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न आफू सरकारमा सहभागी भएको बताएका छन्।

उपप्रधानमन्त्री थापाले निर्वाचन हुँदैन भन्ने आशंका मेटाउन पनि आफू सरकारमा गएको स्पष्ट पारेका हुन्। शुक्रबार सिंहदरबारमा पदभार ग्रहण  गरेलगत्तै थापाले निर्वाचनको वातावरण सुनिश्चित गराउने सर्तसहित आफू सरकारमा आएको बताएका हुन्।

मुलुक निर्वाचनबाट पछि फर्किने अवस्था नरहेको उल्लेख गर्दै उनले आन्दोलनरत मधेस केन्द्रित दललाई पनि निर्वाचनमा सहभागी गराउन आफूले सक्रियतापूर्वक इमान्दार प्रयास गर्ने प्रतिवद्धता पनि व्यक्त गरे। उनले निर्वाचनलाई उत्सवको रुपमा लिन पनि सबैमा आग्रह गरे।

उपप्रधानमन्त्री थापाले स्थानीय तहको निर्वाचन सम्पन्न गराउन निर्वाचन आयोगलाई सबैखालका सहयोग उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गरेका छन्। उनले निर्वाचन आयोग र राजनीतिक दलहरुलाई आवश्यक सबै खालको सहयोग उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन पनि दिए।

थापाले स्थानीय तहलाई दुर्इ महिनाभित्र सबल, सक्षम र व्यवस्थित बनाउन आफूले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको जिम्मेवारी लिएको पनि स्पष्ट पारे। उनले दुई महिनापछि निर्वाचित हुने जनप्रतिनिधिहरुलाई स्थानीय तह सवल, सक्षम र व्यवस्थित बनाएर हस्तान्तरण गर्ने प्रतिवद्धता पनि जनाए।

थापाले स्थानीय तहलाई व्यवस्थित बनाउने गरी सक्रियतापूर्वक कार्य सम्पादन गर्न पनि मातहतका निकायलाई निर्देशन दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष थापाले स्थानीय तह संरचना कार्यान्वयन कार्ययोजना सदर गरेर पदभार ग्रहण गरेका छन्।

सरकारले शुक्रबारबाटै ७ सय ४४ वटा स्थानीय तहको संरचना पनि कार्यान्वयनमा ल्याएको छ। सरकारले सबै तहका कम्तिमा एक करोड आर्थिक सहायता उपलब्ध गराउने निर्णय पनि गरिसकेको छ।


 

More form the Internet

loading...