Suvadin, Home

'सरकारको दम्भ र विप्लवको आतंक दुवै जनहित विपरित'

विराटनगर  ।  नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाका कारण जनता प्रताडित बन्नु परेको बताएका छन्। विप्लवका नाममा मुलुकमा हत्या, हिंसा र आतंक सुरु भएको भन्दै उनले समस्याको समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।

विराटनगरमा मंगलबार नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले भने, 'विप्लव बम पड्काएर जनता आतंकित पार्छ। सरकार समस्याको समाधानभन्दा पनि द्वन्द्वलाई थप चर्काउन खोज्छ।' सरकारको दम्भ र विप्लवको आतंक दुवै जनहित विपरित रहेको उनको टिप्पणी छ। 

नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको भन्दै उनले विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिए। उनले भने, 'देश र जनताको भलो नगर्ने भएका कारण तत्काल हिंसा त्याग्न आग्रह गर्छु। संवाद र वार्ताबाट समस्याको निकास खोज्दा सबैको भलो हुन्छ।'

सरकार र विप्लव दुवै पक्ष समस्या समाधानतर्फ अग्रसर नभएको बताउँदै सिटौलाले विगतको जस्तो द्वन्द्व चर्काउन नहुने र यसतर्फ दुवै पक्ष सचेत हुनुपर्नेमा जोड दिए।'विप्लवको गतिविधि हेर्दा मुलुकलाई पुरानै दर्दनाक अवस्थामा पुर्‍याउने कुचेस्टा भएको देखिन्छ,' उनले भने, 'अब पनि नेपालीले रगत बगाउनुपर्ने दिन आएमा सबैका लागि दुर्भाग्यपूर्ण हुनेछ।'
 
दुई तिहाइको नेकपा सरकारको एक वर्षे कार्यकाल सन्तोसजनक नभएको भन्दै सिटौलाले सरकारको काम कारबाहीको आलोचना गरे। उनले भने, 'चौतर्फी बम विष्फोट, असुरक्षा, न्यायालयमाथिको हस्तक्षेप, अर्थतन्त्रको अवस्था हेर्दा सरकारको काम कारवाही सकारात्मक र प्रगतिउन्मुख भन्न सक्ने अवस्था छैन।'
 


 

More form the Internet

loading...