Suvadin, Home
Citizen Bank 35.1k

सभामुख महरा र संयुक्त राष्ट्रसंघका सहायक महासचिवबीच भेटवार्ता

सिंहदरबारस्थित संसद् सचिवालयमा साेमबार भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो। 

काठमाडौं, वैशाख  ३ – सभामुख कृष्णबहादुर महरा र संयुक्त राष्ट्रसंघको राजनीतिक मामिला विभागका सहायक महासचिव मिरोस्लाभ जेन्काबीच भेटवार्ता भएको छ। 

सिंहदरबारस्थित संसद् सचिवालयमा साेमबार भएको भेटवार्तामा नेपालको दिगो विकास लक्ष्यका लागि भएका प्रयासहरु र संयुक्त राष्ट्रसंघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरिएको थियो। 

भेटका अवसरमा सभामुख महराले नेपालमा संघीयता कार्यान्वयनको अभ्यास शुरु भएको भन्दै संविधान कार्यान्वयनका लागि कानून निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताएकाे सभामुखका सञ्चार विज्ञ डिल्ली मल्लले जानकारी दिएका छन्। 

सभामुख महराले शान्ति प्रक्रियाका धेरै काम सम्पन्न भइसकेको र अब देश आर्थिक समृद्धि तथा विकासतर्फ पूरै केन्द्रित भएको छ टिप्प्पणी गरे। 'संयुक्त राष्ट्रसंघले नेपालको शान्तिप्रक्रियामा निर्वाह गरेको भूमिकाका लागि राष्ट्रसंघलाई विशेष धन्यवाद दिन चाहन्छु', उनले भने, 'शान्ति प्रक्रियाका महत्वपूर्ण कामहरु करिब–करिब सम्पन्न भएका छन्। हामी अहिले दिगो शान्ति र देशको समृद्धितर्फ केन्द्रित भएका छौं।' 

तीन चरणका निर्वाचनमार्फत स्थानीय, प्रदेश र संघमा नयाँ सरकार निर्माण भइसकेको छ भन्दै सभामुख महराले पाँच वर्षभित्र जनताको जीवनस्तर बदल्ने गरी विकास र समृद्धितर्फ केन्द्रित रहने बताएका छन्। 

सहायक महासचिव जेन्काले दिगो शान्ति र विकासका लागि संयुक्त राष्ट्रसंघ सदैव सहकार्यका लागि तयार रहेको जानकारी दिंदै नेपालको शान्तिप्रक्रिया सफलतापूर्वक सम्पन्न भएकामा र संयुक्त राष्ट्रसंघले मध्यस्थता गर्न पाएकामा खुशी व्यक्त गरेका छन्।


 

More form the Internet

loading...