Suvadin, Home

रवीन्द्र मिश्रः परोपकारका पर्याय, परिवर्तनका सेतु

हाम्रो समाजमा केही यस्ता प्रतिनिधि घटनाहरु हुन्छन्–भएका छन्। ती घटना युग बदल्ने प्रस्थानबिन्दु बन्न पुग्छन्। नेपाली पत्रकारिता जगतमा ख्याती कमाएका रवीन्द्र मिश्र पनि त्यही प्रस्थानबिन्दुमा पाइला राख्दैछन्। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन्। 
विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र।

काठमाडौं, मंसिर १६ – अश्वेत नागरिकको अधिकारका लागि भएको मुक्तियुद्धका सर्वोच्च कमाण्डर तथा दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति स्वर्गीय नेल्सन मण्डेलाले भनेका छन्, ‘रियल लिडर्स मोष्ट बि रेडी टु सेक्रिफाई अल फर दि फ्रिडम अफ देयर पिपुल्स्।’ अर्थात् वास्तविक नेताले आफ्ना नागरिकका लागि सबै कुरा त्याग्नुपर्छ।

औसत नेपालीको आम्दानीभन्दा बढी पारिश्रमिक बुझिरहेको, अन्तर्राष्ट्रिय रुपमा ख्याती प्राप्त संस्थाको जागिर, अतिरिक्त सेवा सुबिधा र सम्मानजनक पद। कसैले छोड्ला? वा छोड्न सक्ला? पक्कै सक्दैन। भोलि के होला भन्ने त्रासले व्यक्तिलाई बाँधेर राख्छ। र, उ त्यति रहिरहन्छ।

तर, हाम्रो समाजमा केही यस्ता प्रतिनिधि घटनाहरु हुन्छन्–भएका छन्। ती घटना युग बदल्ने प्रस्थानबिन्दु बन्न पुग्छन्। नेपाली पत्रकारिता जगतमा ख्याती कमाएका रवीन्द्र मिश्र पनि त्यही प्रस्थानबिन्दुमा पाइला राख्दैछन्। विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र काठमाडौं क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रहेका छन्। 

त्याग के हो? समर्पण के हो? रवीन्द्र मिश्रबाट सिके हुन्छ। बेलायतको सुबिधायुक्त दैनिकी त्यागेर नेपाल फर्किएका रवीन्द्र मिश्रले बिबिसी विश्व सेवापछि बिबिसी नेपाली सेवाको प्रमुखबाट राजिनामा दिएर राजनीतिक शुद्धीकरण अभियानमा होमिएका छन्।

नयाँ बानेश्वरनजिकै थापागाउँस्थित संयोजक मिश्रको सम्पर्क कार्यालयमा शुभदिनसँगको कुराकानीमा उनले राजनीतिक जीवन प्रवेश, योजना र व्यक्तिगत विषयमा पनि सविस्तार प्रष्ट पारिदिए।

एउटा कुरा चाहिँ प्रष्ट हो, विवेकशील साझा पार्टीका एजेण्डा जनताले बुझिदिए भने लेखक खगेन्द्र सङ्ग्रौलामा भनाईमा ‘नवीन नेपालको नुतन उद्घोष’ गर्न सक्ने सामर्थ्य रवीन्द्र मिश्रसँग छ।

उनी त्यस्ताे नेतृत्वका रुपमा उदाउन सक्ने ताकत बोकेर जनतामाझ आएका छन्। त्यसैले शुभदिनले शनिबारबाट शुरु गरेको ‘संसदमा पुग्नैपर्ने १० नेता’को श्रृंखला नेता रवीन्द्र मिश्रबाटै शुरुवात गरेको हो।

मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा, पाकिस्तानको पञ्जाव विश्वविद्यालयबाट पत्रकारितामा र अन्तर्राष्ट्रिय राजनीति र कुटनीति विषयमा लण्डन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। 

डोटी र दार्चुलादेखि लण्डनसम्म

बुवा मनुजबाबु मिश्र र आमा रमला मिश्रका सुपुत्रका रुपमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रको जन्म वि.सं. २०२२ सालमा भएको हो। बौद्ध महाकालमा जन्मिएका मिश्रले १० वर्षमा ५ वटा स्कूल परिवर्तन गरे। उनको बाल्यकाल दार्चुला र डोटीमा बित्यो।

वि.सं. २०३८ सालमा एसएलसी पास गरेका मिश्रले प्रविणता प्रमाणपत्र र स्नातक तहको पढाई रत्नराज्य क्याम्पसबाट पूरा गरे। तीन वटा विषयमा स्नातकोत्तर गरेका मिश्रले अलग–अगल विश्वविद्यालयको अनुभव संगालेका छन्।

मिश्रले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा, पाकिस्तानको पञ्जाव विश्वविद्यालयबाट पत्रकारितामा र अन्तर्राष्ट्रिय राजनीति र कुटनीति विषयमा लण्डन विश्वविद्यालयबाट स्नातकोत्तर गरेका छन्। 

व्यावसायिक जीवन 
रवीन्द्र मिश्र लेखनमा पनि उत्तिकै रुची राख्छन्। क्याम्पसमा पढ्दा नै उनका फुटकर लेखरचना प्रकाशित हुन्थे। त्रिभुवन विश्वविद्यालयमा पढ्दा नै मिश्रले नेपाल टेलिभिजनमा एक वर्ष काम गरे।

त्यसपछि उनी छात्रबृत्ति पाएर पत्रकारिता पढ्न पाकिस्तान गए।‘दिउँसो साढे १ बजेसम्म पढाई हुन्थ्यो,’ मिश्रले शुभदिनसँग भने, ‘साढे २ देखि राति १० बजेसम्म त्यहाँको सबैभन्दा ठूलो अखबार द न्यूज इन्टरनेशनलमा काम गर्थें।’ 

मिश्र सन् १९९२ देखि १९९४ सम्म पाकिस्तान बसेपछि नेपाल फर्किए। र, बिबिसीमा काम गर्न थाले। सन् १९९५ मा बेलायत गएका मिश्रले १४ वर्ष बिबिसीमा काम गरे। त्यसबीचमा उनी बिबिसी अंग्रेजी सेवामा स्थायी जागिरे भए। तर, नेपाल फर्किने इच्छा गरे। र, सन् २००६ मा नेपाल फर्किए। बिबिसी नेपाली सेवाको प्रमुख भएर मिश्रले नेपालमै काम गर्न थाले। 

र, सन् १९९९ मा मिश्रले केही साथीसँगको सहकार्यमा हेल्प नेपाल नेटवर्क भनेर महिनाको १ सय रुपैयाँ संकलन गरी कोष स्थापना गरे।

सामाजिक सेवाकाे क्षेत्र

आफ्नो विगतलाई फर्केर हेर्दा रवीन्द्र मिश्रलाई स्कूलदेखि नै आफू परोपकारी स्वभावको मान्छे रहेँछु भन्ने लाग्छ।

‘हामी त्यति सम्पन्न परिवारका हाेइनौं, मैले सरकारी स्कूल र कलेजमा पढेँ, त्यति बेलाको खासै खल्तीमा पैसा हुँदैनथियो,’ मिश्रले शुभदिनसँग भने, ‘तर, पैसा नहुँदा पनि मैले सबैभन्दा पहिला भेटेका मान्छे, जसलाई माग्ने भनेर हामी भन्छौं, तिनीहरुलाई पैसा दिने, चिया खुवाउने काम त्यति बेलादेखि गर्थें।’

त्यो भावना उनीभित्र सम्भवत् सुषुप्त थियो। बेलायत गएपछि त्यो भावना प्रवल रुपमा अभिव्यक्त भयो। र, सन् १९९९ मा मिश्रले केही साथीसँगको सहकार्यमा हेल्प नेपाल नेटवर्क भनेर महिनाको १ सय रुपैयाँ संकलन गरी कोष स्थापना गरे। कोष निर्माण नेपालीका लागि केही गरौं भन्ने भावनाले प्रेरित थियो।

‘अन्तर्राष्ट्रिय दाताको सहायता लिएरभन्दा नेपालीलाई तपाईहरु जे गर्नुपर्छ गर्नुहोस्, तर मनमा यो राख्नुहोस् कि, सबै नेपालीहरु तपाई जति नै शौभाग्यशाली छैनन् र हामीले महिनाको १ सय रुपैयाँ मात्रै बँचायौं भने त्यो चाँहि एउटा ठूलो सहयोग हुन्छ भनेर आह्वान गरेँ,’ उनले भने।

र, त्यो पैसा बालआश्रममा र परोपकारी कामहरु खर्च गर्ने सोच बनाएको उनले सुनाए। ‘शुरुमा त हामीलाई निकै गाह्रो भयो, तर पछि चाँहि हामीलाई विश्वास गर्ने नेपाली दाजुभाइहरु एकदमै सहयोग गर्नुभयो,’ उनले भने। 

उक्त संस्थाले ४० वटा जति पुस्तकालय स्थापना गरेको छ। धुलिखेलमा बालिकाको आश्रम स्थापना गरेको छ। जहाँ २० जना बालिकाहरु रहेका छन्। अग्नीपिडित, बाढीपीडित, शितलहर पीडितलाई पनि संस्थाले प्रशस्तै सहयोग गरेको मिश्रले बताए।

भूकम्पपछि पनि धेरै काम गरिएको उनले जनाए। ‘ती सबै कामहरु हामीले हेल्प नेपालबाट गयौं,’ मिश्रले शुभदिनसँग भने, ‘मैले ३ वटा किताब लेखेंं, तीनै वटै किताब राम्रै बिक्री भए, किताबबाट आएको रोयल्टी चितवनको चेपाङ वस्तीका बालबालिकाहरुलाई दिने गरेको छु।’ 

मिश्रको परोपकारी कर्म यतिमै सीमित छैन। कवितावाचन गरेरै उनले हेटौँडाको मानवसेवाका आश्रमका लागि लगभग ५० लाख रुपैयाँ संकलन गरिदिएका छन्। तर, मिश्रले अहिले राजनीतिलाई परोपकारी संस्थासँग मिसाउनु हुँदैन भनेर हेल्प नेपाल नेटर्बकबाट अलग भएको घोषणा गरेका छन्।

‘यसलाई कुनै आदर्शवादी कुरा नसम्झिँए हुन्छ,’ उनले भने, ‘हामी देश बनाउनै पर्छ भनेर लागेका हाैं।'

अनि विवेकशील साझा पार्टी

देशको स्थिति देखेर, समाजको स्थिति देखेर, काठमाडौं बाहिर गएपछि त्यहाँको ग्रामीण क्षेत्रको स्थिति देखेर उत्पन्न भएको पिडाको परिणाम रवीन्द्र मिश्रको राजनीतिमा प्रवेश हो। एउटा आत्मलज्जाबोधको परिणाम पनि हो।

‘आत्मसम्मान के हो भने म एउटा व्यक्ति सुकुलमा पढेर भाग्यले सफल भएँ, तर देश त सफल हुँदै भएन, मलाई मान्छेहरुले चिन्नुभयो, मलाई मान्छेहरुले स्नेह दिनुभयो, मलाई मान्छेहरुले आँखा चिम्लेर दशौं  लाख रुपैयाँ दिनुभयो, मेरा सामाजिक सञ्जालमा धेरै सद्भाव राख्ने साथीहरुको संख्या बढ्यो,’ मिश्र भन्छन्, ‘तर, देश बनेन।’

अनि व्यक्ति बनेर देश नबन्दा आफू मात्रै बनेको कुराले पनि कहिलेकाँही लज्जा बोध गर्ने उनले बताए। ‘यसलाई कुनै आदर्शवादी कुरा नसम्झिँए हुन्छ,’ उनले भने, ‘हामी देश बनाउनै पर्छ भनेर लागेका हाैं।’ 

भाेट हाल्दा हामीले के सम्झिँनु पर्यो भने, भोट नेता या पार्टीलाई हाल्ने हैन, आफ्नो परिवारको भविश्यलाई भोट हाल्ने हो, यो भोटले अबको पाँच वर्षपछि परिवार, समाज र राष्ट्रको स्तर निर्धारण गर्छ।

तराजुमै भोट किन?

विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले इमानदारीपूर्वकका साथ मेहनत गरेरै जिन्दगीको यो विन्दुसम्म आइपुगेको उल्लेख गरे। र, आफ्नो क्षेत्रमा सफल जिन्दगी बिताएको धारणा राख्दै अब साँच्चै देशको बनाउन लागेका बताए। पदको लालसा भइदिएको भए अरु कुनै पार्टीमा रहेर पद धारण गर्न गाह्रो नहुने उनले प्रष्ट पारे।

'दोश्रो कुरा फलानो पार्टीमा जमानादेखि लागेको हो, र आफ्नो परिवारलाई पनि त्यही पार्टीमा भोट हाल्नु भनेर तपाईले तपाईको परिवारलाई धोका दिइराख्नु भएको छ,’ उनले भने। नेता र पार्टीलाई न्याय दिएपनि त्यसले आफ्ना छोरा–छोरीमाथि अन्याय हुने मिश्रको टिप्पणी छ।

‘उनीहरु नागरिकको भोटका कारणले प्रधानमन्त्री, मन्त्री हुने, उनीहरुले जिन्दगीका कमाउनका लागि श्रम गर्नु नपर्ने, बुढेसकालमा उपचारका लागि पैसा कहाँबाट ल्याउने भन्ने समस्या नपर्ने,’ मिश्रले भने, ‘भोट दिने जनताका छोरा–छोरीलाई कहाँ पढाउने, बुढेसकालमा उपचारको खर्च कहाँबाट ल्याउने, जम्मा गरेको पैसाले पुग्छ की पुग्दैन, अनि बाटोमा हिँड्दा धुलोधुँवा कतिञ्जेल खाने भन्ने कुराको हरेक दिन चिन्ता छ।’

अहिलेसम्म नेपाली राजनीतिमा लोकतन्त्रको अभ्यासबाट भएको उपलब्धी जनतालाई सास्ती मात्रै भएको मिश्रको टिप्पणी छ।

‘अब यसलाई बदल्नु पर्यो, अब भोट हाल्दा हामीले के सम्झिँनु पर्यो भने, भोट नेता या पार्टीलाई हाल्ने हैन, आफ्नो परिवारको भविश्यलाई भोट हाल्ने हो, यो भोटले अबको पाँच वर्षपछि परिवार, समाज र राष्ट्रको स्तर निर्धारण गर्छ,’ उनले भने, ‘त्यसै कारणले पहिला विकल्प थिएन, तर अब तराजुमै तौलेर भोट हाल्नुहोस्।’

काठमाडौंका मतदाताहरुले तराजुमा भोट दिएर यो देशको राजनीतिक धारलाई सदाका लागि सकारात्मक रुपमा रुपानान्तरण गर्नुपर्छ भन्ने मेरो विश्वास हो

काठमाडौं–१ का मतदातासँग अपेक्षा

काठमाडौं क्षेत्र नम्बर–१ तुलानात्मक रुपमा शिक्षित मतदाता भएको क्षेत्र हो। र, अहिले काठमाडौंबासीले देखाएको स्नेह र सद्भावबाट आफूहरु उत्साह भएको मिश्रले बताएका छन्।

‘जुन किसिमले लहर तराजुको पक्षमा आइरहेको छ, काठमाडौंका मतदाताहरुले तराजुमा भोट दिएर यो देशको राजनीतिक धारलाई सदाका लागि सकारात्मक रुपमा रुपानान्तरण गर्नुपर्छ भन्ने मेरो विश्वास हो,’ उनले भने। 

रवीन्द्र मिश्र भोट दिनैपर्नै कारण?

सबैभन्दा पहिला हामी के भनिराखेका छौं भने, राम्रो नीति मात्रैले पुग्दैन, राम्रो नियत भएको मान्छे भयो भने मात्रै देश रुपानान्तर हुन्छ। मेरो, नीतिसँग नियत मिलेको छ। र, मैले विगतका दिनहरुमा पनि प्रमाणित गरेर देखाएको छु।

अर्को कुरा म व्यक्ति हैन देश बन्नुपर्छ भन्ने मान्यता भएको मान्छे हुँ। मेरो देश प्रेमको भावना यति प्रवल छ कि त्यो कुरा गरेर साध्य नै छैन। कसै–कसैलाई यो कुरा आदर्श लाग्न सक्ला! तर, वास्तविकता केहो भने देशप्रेमकै भावनाको एउटा उदाहारण मेरा २ जना छोराछोरी बेलायतमै जन्मिँदा जन्मिँदै पनि मेरो राम्रो जागिर हुँदा–हुँदै पनि मैले उनीहरुलाई बेलायतको नागरिक बन्नबाट बञ्चित गरेर नेपाल ल्याएँ। र, त्यहाँ बस्न पाउने अधिकार हुँदा–हुँदै परमानेन्ट रेसिडेन्सी  खारेज गरिदिएँ।  

मेरो समाजप्रतिको प्रतिवद्धता मेरा विगतका कामहरुबाट पुष्टि गर्दै आएको छु। म समतामूलक समाजमा विश्वास गर्ने व्यक्ति हो। नेपाललाई कुनै पनि हालतमा समतामूलक समाज बनाउन चाहन्छु। र, नेपालमा धनी र गरीबको खाल्टो नहोस्। गरीब भनिएकाहरुले पिर र चिन्ताको रापमा बाँच्नु नपरोस् भन्ने नै मेरो चाहना हो।

म असाध्यै प्रकृतिप्रेमी मान्छे हुँ। र, प्रकृतिप्रेमी मान्छेका लागि अहिले नेपाल बस्नलायक छैन। त्यो काठमाडौं बाहिर गएपछि मात्रै छ। हामीले शहरहरु बर्वाद पार्यौं, यहाँ सुन्दर पार्कहरु छैनन्। यहाँ सुन्दर नदीनालाहरु छैनन्। र, त्यो गर्न सक्ने भनेको असल र दुरदर्शी नेतृत्वले नै हो। 

त्यसैगरी, ममा कलाप्रति चेतना छ। राजनीतिक नेतृत्वमा कलाप्रतिको चेतना चाहिन्छ। हाम्रो अहिलेको नेतृत्व कलात्मक पट्टकै छैन। त्यसो हुनाले हाम्रा पितापुर्खाले छोडेर गएका अत्यन्तै सुन्दर र कलात्मक शहरहरु विध्वंश भएका छन्।

तराईका जंगल  र फाँटहरु पनि कंक्रिटको जंगलमा परिणत भएका छन्। त्यसकारण हामीले यो शहरहरुको कलात्मक गौरवलाई पुनःस्थापना गर्नुपर्छ। यो देश हामीले हाम्रै पालामा बनाउन सक्छौं। विकास सम्भव छ। 
हामीसँग यो देशको सन्तुलित कुुटनीतिक वातावरण सिर्जना गर्ने र परिचालन गर्ने पूर्ण ज्ञान छ। यो देशलाई हामी लोककल्याणकारी बनाउन चाहान्छौं। र, यो देशलाई शान्ति समृद्धिको बाटोमा पुर्याउन चाहान्छौं।


 

More form the Internet

loading...