Suvadin, Home
Bridge Water

नेपाली समाजकाे ठूलाे हिस्सा 'राजनीतिक मायाजाल'मा फसेकाे छः रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका उम्मेदवारहरु सक्षम, शिक्षित थिए, धेरै सजक थिए, यो देश बनाउँछु भन्ने प्रवल भावना बोकेर आएका थिए। तर, ती उम्मेदवारहरुले देशभरि हारे। जसले जिते तीमध्ये धेरै भ्रष्ट छन् भन्ने थाहा थियो। हत्या र हिंसामा संग्लन थिए भन्ने थाहा थियो। तर, हामीले तिनीहरुलाई जिताएर पठायौं। राजनीतिक मायाजालमा फसेको भनेको यही नै हो।
विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्र।

रवीन्द्र मिश्र


नेपाली समाजकाे ठूलाे हिस्सा राजनीतिक मायाजालमा फसेको छ। रुपान्तरणको प्रक्रियामा पनि छ। तर, राजनीतिकरण रुपान्तरणको प्रक्रियामा हदैसम्म तगारो बनिरहेको छ। यो समाजको ठूलो अंश राजनीतिक मायाजालमा फसेको रहेछ। मायाजालमा कोही फस्छ, फसेकोफसै हुन्छ। र, त्यसबाट धोका पाउँछ।

यो मायामा कति प्रेम र आस्था छ भन्ने थाहा पाउँदैन। यही राजनीतिक मायाजालले नेपाली समाजलाई नराम्रोसँग गाँजेको रहेछ। हामीले पछिल्लो ४–५ महिनाको अवधिमा धेरै हदसम्म यसलाई फुकाउने कोसिस गर्यौं।

प्रसङ्ग, प्रतिनिधि सभा र प्रदेश सभा चुनावको हो। विवेकशील साझा पार्टीका उम्मेदवारहरु सक्षम, शिक्षित थिए, धेरै सजक थिए, यो देश बनाउँछु भन्ने प्रवल भावना बोकेर आएका थिए।

तर, ती उम्मेदवारहरुले देशभरि हारे। जसले जिते तीमध्ये धेरै भ्रष्ट छन् भन्ने थाहा थियो। हत्या र हिंसामा संग्लन थिए भन्ने थाहा थियो। तर, हामीले तिनीहरुलाई जिताएर पठायौं। राजनीतिक मायाजालमा फसेको भनेको यही नै हो।

सामाजिक मनोविज्ञान र यथार्थ

काठमाडौंमा हरदिन भर्खरै जन्मिएको बच्चाले धुलो पिइरहेको छ। आफ्ना बुढा बुवाआमाले धुलो पिइरहेका छन्। तर, जसका कारणले उनीहरु धुलो  पिउन बाध्य छन्, भोट तिनीहरुलाई नै दिइन्छ। चुनावी अभियानका क्रममा डिल्लीबजार, घट्टेकुलो लगायतका ठाउँमा घरदैलोमा जाँदा मन चिरिएर आउँछ।

किनभने त्यहाँका गल्लीहरु, जहाँबाट मोटरसाइकल पनि पस्न सक्दैनन्। गल्लीका दुवैतिर ३–३ तले घरहरु छन्। तीन तले घरहरुको छेउँमा पाँच तले घर छन्, त्यो घरमा जन्मिएको बच्चालाई, हाम्रा छोराछोरीलाई घाममा राखेर तेल लाउने ठाउँ छैन। तर, त्यो घरभित्रका कतिपय नागरिकहरुले तिनै कांग्रेस र एमालेलाई भोट हाल्छन्।

हाम्रो घरको एक जना बच्चा, छोराछोरी पाँच दिन मात्रै बिरामी भएभने हामीलाई कति चिन्ता हुन्छ! बुवाआमाले चाहिँ आफ्ना छोरीछोरीको भविष्य २५ वर्षका लागि बर्बाद गर्ने नेताहरुलाई फेरि पनि भोट हालिरहेका छौं। मैले भनेको राजनीतिक मायाजाल यही नै हो।

र, यो राजनीतिक मायाजालबाट यो समाजलाई कति घात भइरहेको छ भन्ने कुरा अझै पनि सबैले बुझिसकेका छैनन्। अझै पनि मनन् गरिसकेका छैनन्। किनभने यो वर्षाै–वर्षदेखि यस्तै भएर आएको छ। हामीलाई स्वाभाविक लागिसक्यो, अस्वाभाविक जति स्वाभाविक भइसक्यो। स्वाभाविक हामीलाई अस्वाभाविक लाग्छ। 

ठूला पार्टीका नेताहरुलाई के भन्न चाहन्छु भने –तपाईहरु यसलाई चेतावनीको रुपमा लिनुहोस्। अबको ४ वर्षपछि हामी जब दलबलसहित आउँछौं, त्यतिबेला पनि तपाईहरुले सुध्रिनु भएन भने हामी तपाईहरुलाई विस्थापित गर्छौं। त्यस कारणले ठूला दलहरु, अहिले जो शासन र सत्तामा पुगेका छन्, उहाँहरुलाई चेतवानी दिन चाहन्छु कि, तपाई सुध्रिनुहोस्। होइनभने हामी अर्को चुनावमा विस्थापित गर्छौं।

स्वतन्त्र नागरिक बनाउने अठोट

म बानेश्वर चोकको एक भेलामा १५–२० मिनेट ढिला पुगें। अनि त्यो भेलाको छेउमा जेष्ठ नागरिकहरु पर्खेर बसिराख्नु भएको थियो। बाटो अगाडि धूलाम्यै थियो। अनि त्यहाँ केही बच्चाहरु पनि थिए, बुढीआमाहरु पनि हुनुहुन्थ्यो।

‘तपाईहरुले कहिल्यै कल्पना गर्नुभएको छ? कि यो देशमा अलिकति सुशासन दिन सक्ने इमान्दार नेतृत्व हुने हो भने, यहाँका जेष्ठ नागरिकहरु, बच्चाहरु छेवै पार्कको बेञ्चमा बस्न सक्थे, यहाँ धुलोमा साइकल चलाउने बालबालिकाहरु पार्कमा रमाउन सक्थे। र, तपाईहरुले घरको झ्याल र ढोका लगाएर बस्नुपर्ने थिएन। त्यो कुरा तपाईहरुले कल्पना गर्नुभएको छ?’ भनेर मैले सोध्दा कतिपयको मनमा त्यो कुरा कल्पनामै नभएको थाहा पाएँ।

किनभने हाम्रो सोचाई र हाम्रा दायराहरु यति साँघुरिएका छन्, ती दायराबाट बाहिर जाने नसक्ने स्थितिमा पुगिसक्यौं। मैले त्यसो भन्दै गर्दा, एक जना महिलाले बरर् आँसु खसालेर रुनुभयो। यो स्थिति यत्रतत्र सर्वत्र फैलिएको छ। र, त्यस्तो अवस्थामा पहिले विकल्प थिएन।

हो, तर हामीले विकल्प लिएर आएका थियौं। हाम्रा उम्मेदवारहरु शिक्षित र सक्षम थिए। हाम्रा उम्मेदवारहरु साँच्चिकै यो देश बनाउँछु भनेर आएका थिए। र, ३–४ महिनामै हामीले जसरी आफूलाई प्रस्तुत गरेका थियौं, त्यो अवस्थामा तराजुका बारेमा देशभरि परिचय बनेको थियो।

हामीलाई विश्वास के थियो भने, प्राविधिक रुपमा हामी राष्ट्रिय पार्टी हुन्छौं। तर, हामी राष्ट्रिय पार्टी बन्न सकेनौं। किन सकेनौं भने साँच्चिकै यो देश, यो समाजमा गएकोे २० देखि २५ वर्षको राजनीतिले यति बाक्लो रङ्ग पोतिदिएको रहेछ, त्यो रङ्गलाई हामीले ३–४ महिनामा धुन सकेनौं। हामी मतदातालाई दोष दिने पक्षमा छैनौं।

जनता, मतदातालाई सुसंस्कृत राजनीति र राजनीतिक नेतृत्व के हो? सुुसंस्कृत समाज के हो? जनता र समाजका लागि राजनीतिक नेतृत्वले गर्ने काम के हो? भन्ने विषयमा राजनीतिक नेतृत्वले हामीलाई सिकाउँदै सिकाएन। राजनीतिक नेतृत्वले हामीलाई यसरी राजनीतिकरण गर्यो कि, हरेक परिवारमा कांग्रेस, एमाले र माओवादी छन्। सर्वसाधारणहरुलार्इ स्वतन्त्र नागरिक हुन छाेडिदिनुपर्छ।

यसरी राजनीतिकरण गरियो कि, धुलो पिउँदा पनि, अस्पताल राम्रो नहुँदा पनि, स्कूल राम्रो नहुँदा पनि, खेल्ने ठाउँ राम्रो नहुँदा पनि यो राजनीतिकको रङ्गबाट स्वतन्त्र नागरिक पनि मुक्त हुन सकेका छैनन्। अबको ४–५ वर्षमा यो देशमा लगाइएको, जनतामा लगाइएको बाक्लो राजनीतिक रङ्गलाई हामीले पखाल्नै पर्छ। त्यसै कारण यसलाई हामी हाम्रो मुख्य चुनौतीका रुपमा लिएका छौं। यदि पखाल्न सकिएन वा सकेनौं भने यो देश बन्दैन।

अबको ४–५ वर्षमा हाम्रो चुनौती भनेको यो देशका धेरैभन्दा धेरै जनतालाई विवेकशील साझा बनाउने होइन। यो देशका धेरैभन्दा धेरै नागरिकलाई स्वतन्त्र बनाउनु पर्छ भन्ने हो। त्यस्तो नागरिक जसले आजभन्दा ५ वर्षपछि गुण र दोषको आधारमा मतदान गरोस्। हामी यस्तो नागरिक बनाउन चाहदैनौं, जो आँखा चिम्लेर विवेकशील साझामा भोट हालोस्। त्यसरी देश कहिल्यै देश बन्दैन। 

कही नभएपनि दुख्दै नदुखेको मुटु र शरीर लिएर दिल्लीमा उपचार गर्न जानुहुन्छ। तपाईले दिल्ली कस्तो छ भन्ने त देख्नु भएको थियो नि! त्यति पनि सिकेर आउनु भएन? त्यसकारणले तपाईहरु राम्रोसँग विचार गर्नुहोस्। अब जे गरेपनि हुन्छ भनेर नसोच्नुहोस्। हामी पनि मैदानमा छौं। र, सारा नेपालीले निगरानी गर्ने छन्।

अति राजनीतिकरणको अन्त्य

संसारको कुन चाहिँ देशमा संस्था र कार्यालयको अगाडि ४–४ वटा युनियनको बोर्ड झुण्ड्याइएको हुन्छ? कुन देशले यसरी विकास गर्न सक्छ? पटक्कै सक्दैन। हामी अबको ४–५ वर्षमा जनतालाई यो अनुभूत गराउन चाहन्छौं कि, यो राजनीतिक मायाजालबाट उन्मुक्त भएर नागरिक भएर बाँच्नुपर्यो।

नागरिक भएर बाँचेपछि मात्रै आफ्नो परिवारको सदस्यहरुमाथि न्याय गर्छौं भन्ने कुरा हामी जनतालाई बुझाउन चाहन्छौं। यही सन्देश हरेक नागरिकमा प्रसार गर्न चाहान्छौं। र, यस्तो स्वतन्त्र समाज निर्माण गरेपछि मात्रैसक्षम नेतृत्व चयन गर्न हुन सक्छ।

समाज निर्माण नभएसम्म धेरै कुरा जटिल नै रहने छन्। यो समाजलाई राजनीतिकरणबाट मुक्त गरेर साँच्चिकै सुसंस्कृत बनाउनका लागिका प्रयास गरिएको छ। लक्ष्य राखिएको छ।

हामी संगठन बिना नै सद्भावका आधारमा चुनावमा गयौं। अबको ४–५ वर्षमा संगठन निर्माण गर्नुपर्छ, देशभरि हामी संगठन निर्माण गर्छौं। अनि ४–५ वर्षपछि फेरि हामी चुनावी मैदानमा आउँछौं। तपाईहरु ठूलो पार्टीका कतिपय हार्नै नहुने नेताहरु पनि हाम्रो कारणले हार्नु भयो। हामीलाई त्यसमा दुःख लागेको छ।

तर, ठूला पार्टीका नेताहरुलाई के भन्न चाहन्छु भने –तपाईहरु यसलाई चेतावनीको रुपमा लिनुहोस्, अबको ४ वर्षपछि हामी जब दलबलसहित आउँछौं, त्यतिबेला पनि तपाईहरुले सुध्रिनु भएन भने हामी तपाईहरुलाई विस्थापित गर्छौं। त्यसकारणले ठूला दलहरु, अहिले जो शासन र सत्तामा पुगेका छन्, उहाँहरुलाई चेतवानी दिन चाहन्छु कि, तपाई सुध्रिनुहोस्। होइनभने हामी अर्को चुनावमा विस्थापित गर्छौं।

यो देश जुनसुकै, वाम गठबन्धनले या कांग्रेस गठबन्धनले बनाओस्, मलाई यसको पर्वाह छैन। तर, यो देश बन्नुपर्यो। मेरो बुढेसकालका लागि बन्नुपर्यो। मेरा छोराछोरीका लागि बन्नुपर्यो। यसरी हामी अगाडि बढ्दैगर्दा अबको ४–५ वर्षसम्म संसदभित्रबाट काम गर्न नपाएपनि बाहिरबाट निगरानीकर्ताको भूमिकामा रहिरहने छौं।

र, निरन्तर तपाईहरुमाथि ठूला दलहरुमाथि दबाब दिइरहने छौं। किनभने तपाईहरुले यो देश बनाइदिएकै हेर्न रहर छ। सबै कुरा विकास भएको, सबै कामहरु अगाडि बढेको हेर्न मन छ। हो, त्यो रहर तपाईहरु पूरा गर्नुहोस्। अर्को पटकको चुनावमा गुण र दोषको आधारमा मत हाल्ने मतदाताले तपाईहरुलाई नै निर्वाचित गर्नेछन्। तर, तपाईहरुले पहिलाको जस्तै मैदानमा मनपरी गर्न पाउनुहुन्न, यो कुरा बुझ्नुहोला।

हामी मान्छे हौं, गल्ती गर्यौं होला। तर, तपाईहरुले यति धेरै गल्ती गर्नुभएको छ। मान्छे मारेर मात्रै मानवताविरुद्धको अपराध हुने होइन। यहाँ जुन किसिमको राजनीति गरियो, जुन किसिमको समाज निर्माण गरियो, यहाँ जुन किसिमको वस्ती निर्माण गरियो, मैलेभने जस्तो भर्खरै जन्मेको बच्चालाई घाममा राखेर तेल लगाउने ठाउँ छैन। 

पिता पुर्खाले सिकाएका राम्रा कुराहरुलाई पनि नसिक्ने, टेलिभिजनमा देखेका राम्रा कुरापनि नसिक्ने, घुम्न जाँदा देखेका राम्रा कुरालाई नसिक्ने। तपाईहरु पटक–पटक विदेश गइसक्नु भयो।

कही नभएपनि दुख्दै नदुखेको मुटु र शरीर लिएर दिल्लीमा उपचार गर्न जानुहुन्छ। तपाईले दिल्ली कस्तो छ भन्ने त देख्नु भएको थियो नि! त्यति पनि सिकेर आउनु भएन? त्यस कारणले तपाईहरु राम्रोसँग विचार गर्नुहोस्। अब जे गरेपनि हुन्छ भनेर नसोच्नुहोस्। हामी पनि मैदानमा छौं। र, सारा नेपालीले निगरानी गर्नेछन्।

यो देशको राजनीतिमा नैतिकताको अभाव भएको हो। कुनै विचारको अभाव भएको होइन, कुनै प्रोजेक्टको अभाव भएको होइन। म गल्ती गरौँला। तर, बेइमानी गर्दिनँ, यो देशलाई घात हुने काम गर्ने काम गर्दिनँ। त्यसमा म अटल छु। र, कहिले पनि म  दायाँबायाँ गर्नेछैन।

जसले यो देश र समाजप्रति घात गर्छन्, तिनलाई पनि पाप त लाग्छ। त्यसकारण हामी सुध्रिनै पर्छ। सबैले यो देश र समाजका लागि जिम्मेवारी बहन गर्यौं, यो देश र यो समाजलाई घात नगरौं। घात नगरौं। यदि फेरि पनि घात भयो भने ५ वर्षपछि तपाईहरुलाई हामी विस्थापित गर्छौं–गर्छौं। अन्त्यमा यो कविताः

शीर्षकः पाप

हेर पाप त एकदिन लाग्छ, लाग्छ
हेर पाप त एकदिन लाग्छ, लाग्छ
कि आज लाग्छ, कि भोलि लाग्छ

देखेनौं, तिमीले उहिल्यै देवता चोर्नेहरुलाई
अहिले श्राप लागेको छ।
भन्लाउ पाप लाग्ने भए,
ऊ त्यो दुर्गन्धित पैसाले सुन्निएको घरमा किन चट्याङ परेन?
भन्लाउ, ऊ त्यो अलकत्रा खाने गोरुको भुँडी किन प्याट्ट फुटेन?

के पाप कलेजको परीक्षा हो र? तुरन्तै पास र फेल हुने?
त्यो पनि हुनसक्छ नहोला नै भन्ने पनि त छैन।

तर, पाप धेरै वर्षपछि बुढेसकालमा
दिनरात ऐय्या र आत्थु भन्दै आउन सक्छ,
गु र मुतको आहालमा लत्पतिएर आउनसक्छ
छोरा–छोरी र नातिनातिनाहरुको लास भएर आउन सक्छ।

भन्लाउ तिनको के दोष छ?
हो, एकदिन जानु नै थियो, ती त गए,
तिनको स्वर्गको बास हुन्छ।
तर, पाप त तिम्लाई नै लागेको छ
किनभने यो सुन्दर धर्तीमा नर्कको बास चाहिँ तिम्रो हुन्छ।

हेर पाप एकदिन लाग्छ, लाग्छ।
भन्लाउ लाख बत्ति बालेको छु
चारधाम गएको छु
मन्दिर बनाएको छु
हिरा, जवाहर चढाएको छु
गंगामा नुहाएको छु

तर, म तिमीलाई सोध्छु,
कहिल्यै हेरेका छौं?
मनको दियो कहाँ बलेको छ?
कहिल्यै सोधेका छौं,
विवेकको यात्रा कता हराएको छ?
मन्दिर बनायौं कि मसान बनायौं?
हिरा चढायौं कि चेतना जलायौं?
गंगामा नुहायौं कि फोहोर बनायौं?

हेर, यस्तै गर्यो भने पाप त लाग्छ, लाग्छ,
जाउ एकचोटी विवेकको बत्ति बाल
जाउ एकचोटी मन्दिरमा माफी माग 
जाउ एकचोटी गंगामा मुटु पखाल 
ढिलो भएको छैन, सूर्य अस्ताएको छैन
मानव भएर आयौं, मानव भएर जाउँ
नत्र पाप त एकदिन लाग्छ–लाग्छ।

(विवेकशील साझा पार्टीका संयाेजक रवीन्द्र मिश्रले काठमाडाैं क्षेत्र नम्बर–१ का मतदातालार्इ धन्यवाद ज्ञापन कार्यक्रममा दिएकाे मन्तव्यकाे सम्पादित अंश)