Suvadin, Home

स्थानीय निर्वाचन
यी हुन् इलामका सम्भावित उम्मेदवार

निर्वाचनको मिति नजिकिएसँगै इलाममा चुनावी माहोल बढ्दै गएको छ। चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरुले आन्तरिक तयारी तीव्र बनाएका छन्। नेतृत्वको दाबेदारी गर्नेको संख्या पनि बढ्दै गएको छ।

इलाम, चैत १८– निर्वाचनको मिति नजिकिएसँगै इलाममा चुनावी माहोल बढ्दै गएको छ। चुनावी परिणाम आफ्नो पक्षमा पार्न दलहरुले आन्तरिक तयारी तीव्र बनाएका छन्। नेतृत्वको दाबेदारी गर्नेको संख्या पनि बढ्दै गएको छ।

स्थानीय निकाय नेतृत्वविहीन भएको दुई दशकपछि निर्वाचन हुन लागेको छ । त्यसैले नेतृत्व लिनका लागि आकांक्षीहरु बढेका छन् । उनीहरु टिकटका लागि दौडधुपमा ब्यस्त छन्।
इलाममा चारवटा नगरपालिका छन्। यहाँ चुनावी सरगर्मी बढिसकेको छ।

इलाम नगरपालिकामा काँग्रेसबाट नगर प्रमुखका लागि खगेन्द्र देवान, केदार थापा, विष्णु दाहाल, राजेन्द्र शर्मा, निरोज खड्गीलगायतको नाम चर्चामा छ। ‘यो प्रक्रियामा पार्टीले निर्णय गरिसकेको छैन, अहिले बाहिरी क्षेत्रमा विभिन्न व्यक्तिको नाम आएको छ, आगामी वैशाख पहिलोसातासम्ममा पार्टीले आधिकारिक रूपमा निर्णय गर्छ,’  कांग्रेस जिल्ला सभापति हिमालय कर्माचार्यले भने।

एमालेबाट महेश बस्नेत, कृष्ण श्रेष्ठ, गणेश राई, धीरेन चेम्जोङलगायतको नाम चर्चामा छ। एमाले जिल्ला सचिव महेश बस्नेतले अहिले नै औपचारिक रूपमा उम्मेदवारको विषयमा कुरा नभएको बताए। अनुमानका भरमा मात्रै कसैले नाम चर्चामा ल्याएको उनको टिप्पणी छ। यस्तै नेकपा (माओवादी केन्द्र) बाट प्रवेश शर्माको नाम चर्चामा छ।

जिल्लाको सबैभन्दा ठूलो सूर्योदय नगरपालिकामा पहिलोपटक जनप्रतिनिधिले नेतृत्व गर्नेछन्। यस नगरपालिकामा नगर प्रमुखमा थुप्रैको नाम चर्चामा छ। कांग्रेसबाट दुर्गा बराल, मणि गुरुङ, प्रेम चाम्लिङ, मिलन क्षेत्री र भीष्म प्रधानलगायतको चर्चा छ।  एमालेबाट काजीमान कागते, आरबी राई, सोनम छिरिङ, खिनु लङ्वा लिम्बू चर्चामा छन्।

यस्तै देउमाई नगरपालिकाको नगर प्रमुखका लागि कांग्रेसबाट गोविन्द गिरी, होम दुलाल, मनकुमार श्रेष्ठ, दिलीप कार्की लगायतको नाम चर्चामा छ। एमालेबाट वर्तमान पार्टी अध्यक्ष राम राना, गणेश बराल, सूर्य पोखरेलको चर्चा छ । नेकपा (माओवादी केन्द्र) बाट राम राईको चर्चा छ।

यसैगरी माई नगरपालिकामा नगर प्रमुखका लागि काँग्रेसबाट विष्णु कार्की, कृष्ण खाकी, राम कार्की, विष्णु घिमिरे, एमालेबाट रत्न अधिकारी, ध्रुव श्रेष्ठ, दीपक थेबेलगायतको चर्चा छ।
दलहरू नयाँ संरचनाअनुसार पार्टीको संरचना निर्माणमा लागेका छन्।

एमालेले आगामी चैत अन्तिम सातासम्ममा उम्मेदवारको टुंगो लगाउने पार्टीका जिल्ला उपसचिव उमेश गुरुङले बताए। निर्वाचन नजिकिँदै जाँदा दलका कार्यकर्ता मात्र होइन सर्वसाधारण समेत उत्साहित भएका छन्। रासस 


 

More form the Internet

loading...