Suvadin, Home

प्रधानमन्त्री दाहालद्वारा उद्घाटन
स्थानीय तहको काम अाैपचारिक रूपमै प्रारम्भ

सरकारले निर्धारण गरेका देशभरका ७ सय ४४ वटै स्थानीय तहले मंगलबारदेखि काम सुरु गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गर्दै देशभरका सबै स्थानीय तहको कार्यालय र कार्य प्रारम्भ भएको घोषणा गरेका हुन्।
स्थानीय तहको कार्यालय सञ्चालनमा प्रधानमन्त्री दाहाल।

काठमाडौं, चैत १ – सरकारले निर्धारण गरेका देशभरका ७ सय ४४ वटै स्थानीय तहले मंगलबारदेखि काम सुरु गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको कार्यालय उद्घाटन गर्दै देशभरका सबै स्थानीय तहको कार्यालय र कार्य प्रारम्भ भएको घोषणा गरेका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले स्थानीय तहको कार्यालय सञ्चालन भएसँगै नेपाली जनताले गणतन्त्रको उज्यालो अनुभव गर्ने अवसर पारेको उल्लेख गरेका छन्। उनले स्थानीय तहको कार्य प्रारम्भ भएको दिनलाई नेपाली जनताको विजय उत्सवको रुपमा आफूले लिएको पनि स्पष्ट पारेका छन्।

उनले स्थानीय सरकारद्वारा मुलुकको शासन व्यवस्था सञ्चालन हुनु आमूल परिवर्तनको प्रतिकमा रुपमा आफूले लिएको पनि स्मरण गराए। प्रधानमन्त्री दाहालले नेपाली जनताको बलिदानीपूर्ण संघर्षको प्रतिफल स्थानीय सरकार गाउँ, टोलसम्म गठन हुन पुगेको उल्लेख गरे।

प्रधानमन्त्री दाहालले त्यसै अनुसार जनताको सेवामा जुट्न पनि कर्मचारीहरुलाई निर्देशन दिएका छन्।दाहालले स्थानीय तहमा हुने कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाले स्थानीय जनताको चाहना अनुसार काम गर्ने विश्वास पनि व्यक्त गरेका छन्।

उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकासमन्त्री कमल थापाले स्थानीय तहको कार्यालय सञ्चालन र कार्य प्रारम्भ भएको दिनलाई नेपालकै आमूल परिवर्तनको दिनको रुपमा आफूले लिएको बताएका छन्।

उनले संवैधानिक व्यवस्था अनुसार स्थानीय तहलाई दिएको अधिकार दक्षिण एशियाकै  सबैभन्दा प्रगतिशील भएको दावी गरेका छन्। उनले स्थानीय तहमा जनताले पाएको अधिकारलाई अभूतपूर्व र ऐतिहासिक भएको पनि बताएका छन्। थापाले जनताको चाहना अनुसारको आवश्यक सबै खालको व्यवस्था गर्ने प्रतिवद्धता पनि जनाएका छन्।

मुख्यसचिव डा. सोमलाल सुवेदीले स्थानीय जनतालाई अधिकार सम्पन्न गराउने कामलाई कार्यरुप दिन सफलता हात लागेको स्मरण गराएका छन्। उनले स्थानीय जनतालाई अधिकार सम्पन्न गराएसँगै मुलुक समृद्ध हुने विश्वास पनि व्यक्त गरेका छन्।

कार्यक्रममा बोल्दै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले स्थानीय तहको सबै निकायको कार्यालय सञ्चालन र कार्य प्रारम्भ गर्न देशभरका सबै स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिएका छन्।

सरकारले शुक्रबार नै देशभरका सबै स्थानीय तहलाई स्थानीय तहमा रुपान्तरण गरिसकेको थियो। त्यसपछि शनिबार, आइतबार र सोमबार सार्वजनिक बिदा परेकाले मंगलबारदेखि स्थानीय तहको कार्यालय र कार्य प्रारम्भ गरिएको हो।

स्थानीय तहको पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई केही परिमार्जन गर्दै सरकारले स्थानीय तहको संख्या ७ सय ४४ वटा तय गरेको हो। अब मुलुकमा चार वटा महानगरपालिकाले आफनो सेवा सुरु गरेका छन्।

चार वटा महानगरपालिका, १३ वटा उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ वटा गाउँ पालिका बनेका छन्। यसअघि काठमाडौं मात्रै महानगरपालिका थियो।

सरकारले महानगरपालिकाका लागि सहसचिव, उपमहानगरपालिका र नगरपालिकाका लागि उपसचिव र गाउँपालिकाका लागि शाखा अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था पनि गरेको छ। स्थानीय विकास मन्त्रालयले शुक्रबार देशभरका कार्यालयमा कर्मचारी खटाउने गरी तयारीको कामलाई पनि अघि बढाइएको जनाएको छ।

सरकारले स्थानीय तहको निर्वाचनको कामलाई सहज ढंगले सम्पन्न गर्न पनि स्थानीय तहको व्यवस्थापनको कामलाई तीव्र गतिमा अघि बढाएको हो। सरकारले यसअघि नै हरेक तहका लागि १ करोडका दरले बजेटको व्यवस्था गरिसकेको छ।


 

More form the Internet

loading...