Suvadin, Home

स्थानीय तहकाे निर्वाचन
धनगढीमा कांग्रेस साख जोगाउने र एमाले बाजी मार्ने दाउमा

धनगढीमा सतारुढ प्रमुख दल कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाइ नसकेपनि एमाले, माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारको टुंगो लगाइसकेका छन्।   चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ। उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन्। 
धनगढीमा र्कांग्रेस, एमालेको चुनावी प्रचार।

काठमाडौं, जेठ १९– स्थानीय तहको दोस्रो चरणको निर्वाचनको मिति नजिकिदै जाँदा प्रदेश नम्बर ७ मा पनि चुनावी सरगर्मी बढेको छ।


८८ स्थानीय तह रहेको प्रदेश नम्बर ७ मा सबैको चासोको विषय भने धनगढी उपमहानगरपालिका रहेको छ। प्रदेश नम्बर ७ को एक मात्र उपमहानगर हुनुका साथै सम्भावित राजधानीका रुपमा समेत रहेको धनगढी कांग्रेस सभापति  शेरबहादुर देउवाको निर्वाचन क्षेत्र पनि हो ।

२०७० को दोस्रो संविधान सभा निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाले धनगढीसँगै डडेल्धुराबाट चुनाव जितेपछि उनले अन्ततः डडेल्धुरा रोजेका थिए । तर, उपनिर्वाचनमा कांग्रेसका पुष्पकरनाथ ओझा विजयी भएका थिए।

अहिले धनगढी उपमहानगरपालिका बनिसकेको छ । त्यसकारण पनि धनगढीमा सबैको चासो बढ्न थालेको छ।

धनगढीमा सतारुढ प्रमुख दल कांग्रेसले अझै उम्मेदवारको टुंगो लगाइ नसकेपनि एमाले, माओवादी केन्द्र र राप्रपाले भने उम्मेदवारको टुंगो लगाइसकेका छन्। 

 

एमालेले नेता दुर्गा जोशीलाई मेयर र रुक्ममणी देवकोटालाई उपमेयरको उम्मेदवारको रुपमा अगाडि सारेको छ। माओवादी केन्द्रले रामसमझ राना र   शान्ति अधिकारी क्षेत्रीलाई क्रमशः मेयर उपमेयरको उम्मेदवार बनाएको छ।

राप्रपाले विष्णुबहादुर साहुलाई मेयर र जनक कुँवरलाई अघि सारेको छ। कांग्रेसका तर्फबाट मेयरमा नृप ओड, कृष्णबहादुर महराको नाम चर्चामा छ।

धनगढीम उद्योगी एवं कैलाली उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष गोपाल हमालले पनि मेयरमा स्वतन्त्र उम्मेदवारी घोषणा गरी प्रचार–प्रसारमा लागेका छन्।

एमाले कैलालीका अध्यक्ष दीर्घ सोडारी स्थानीय निर्वाचनमा धनगढीमा विजयी हुने दाबी गर्छन। ‘देशभर एमाले आएको छ, धनगढीमा पनि जित्छौं,’उनले भने।

कांग्रेस कैलालीका उपसभापति प्रकाश बम ‘धनगढी कांग्रेसको आधार इलाका’ रहेको बताउछन्। ‘२०७० मा पनि हामीले जितेका थियो, अहिले पनि विजयी हुन्छौं,’ उनले भने, ‘उम्मेदवारको टुंगो भने केही दिनमा लाग्छ।’

कांग्रेसले आफ्नाे साख जोगाउन माओवादी केन्द्रसँग सहकार्य गर्नेबारे छलफल गरिरहेको छ, भने एमालेले पनि आफ्नाे पार्टीलाई विजयी गराउनका लागि राप्रपासँग तालमेलका लागि छलफल गरिहेको छ।

 चुनावी चटारो बढेसँगै गाउँबस्तीमा यतिबेला चुनावी रौनकले छोपिएको छ। उम्मेदवारले मत मागिरहँदा मतदाता पनि भोट हाल्न पाउने दिनको व्यग्र प्रतिक्षामा छन्। 

 

फलस्वरुप उम्मेदवारले थालेको घरदैलो अभियानलाई मतदाताले पनि साथ दिइरहेका छन्। अरु बेला जनताका समस्या समाधानका लागि खासै चासो नदेखाउने नेता कार्यकर्ता अहिले हारगुहार गरेर मत माग्न आउने गरेको अनुभव धनगढीका मतदाता श्याम चौधरी बताउँछन्। 

मेयर,उपमेयर पदको दाउ हात पार्नका लागि अहिले ३ पार्टीका कार्यकर्ता घरदैलो अभियानमा गरिरहेको नेपाली कांग्रेसका युवा नेता अमृत विसीले जानकारी दिए। लामो समय पछि स्थानीय निर्वाचन हुन लागेपछि मतदाताहरु समेत भोट हाल्न आतुर देखिएका छन्। साविकका स्थानीय निकाय र सांसदको निर्वाचनका समयमा हुने चुनावी प्रचार–प्रसारको शैली भन्दा यो चुनावको प्रचारशैली फरक ढगंको देखिएको छ।

प्रविधिको विकाससँगै प्रयोगमा आएका सामाजिक सञ्जाल फेसबुक ट््वीटरबाट मतदातालाई रिझाउने आसयका सामग्रीको उम्मेदवारले प्रयोग बढाएको देखिएको छ। चुनावी प्रचारका क्रममा विगत वर्षको जस्तो भित्ते लेखन, पम्ल्पेटिङजस्ता प्रचारका शैली भने रोकिएका छन्।
 


 

More form the Internet

loading...