Suvadin, Home
Nepal Telecom 939.8k

अख्तियारको वेबसाइटमा लोकमान अहिले पनि प्रमुख

कात्तिक ३ गते बुधबार निलम्बनमा परेका कार्कीलाई अख्तियारका कर्मचारीले अझै प्रमुखकै हैसियत दिइरहेका छन्। व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित भएका हुन्। तर, अख्तियारका कर्मचारीले संवैधानिक कारण देखाउँदै कार्कीलाई नै प्रमुख मानिरहेका छन्। 
लोकमानसिंह कार्की।

काठमाडौं, पुस १८


लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त पदबाट निलम्बित भएको अढाइ महिना पुग्न लागे पनि आयोगको वेबसाइटमा अझै उनी नै प्रमुख छन्।

कात्तिक ३ गते बुधबार निलम्बनमा परेका कार्कीलाई अख्तियारका कर्मचारीले अझै प्रमुखकै हैसियत दिइरहेका छन्। व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बित भएका हुन्। तर, अख्तियारका कर्मचारीले संवैधानिक कारण देखाउँदै कार्कीलाई नै प्रमुख मानिरहेका छन्। 

कार्की निलम्बित भएपछि आयुक्त दीप बस्न्यातले कात्तिक ४ गतेदेखि अख्तियारको कार्यवाहक प्रमुखको जिम्मेवारी सम्हालिरहेका छन्। साधारणतया निलम्बनमा परेको व्यक्तिले कार्यसम्पादन गर्न पाउँदैन र निलम्बन अवधिभर उसको पद स्वत: गुमेको मानिन्छ।

अख्तियारको वेबसाइटमा भनिएको छ, ‘लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुनुहुन्छ, उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तको हैसियतमा वि.सं. २०७० वैशाख २५ गतेदेखि कार्यभार सम्हाल्नु भएको हो।’ 

अख्तियारको वेबसाइटमा नेपालको अन्तरिम संविधान, २०६३ बमोजिम संवैधानिक परिषदको सिफरिसमा राष्ट्रपतिबाट कार्कीलाई ६ वर्षको लागि प्रमुख आयुक्तमा नियुक्त गरिएको उल्लेख छ।

‘आयोगलाई सुम्पिएको संवैधानिक दायित्व र जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रमुख आयुक्त कार्कीले भ्रष्टाचारविहीन समाज नै सबैको अधिकार हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्नुभएको छ,’ वेबसाइटमा उल्लेख गरिएको छ।

माननीय प्रमुख आयुक्त लोकमान सिंह कार्की

यसैगरी, अख्तियारका कार्यवाहक प्रमुख दीप बस्न्यातलाई आयुक्त मात्रै भनिएको छ। त्यसो त लोकमानले आफू निलम्बित हुनुअघि पनि कसैलाई कार्यवाहकको जिम्मेवारी दिँदैनथे।

‘लोकमान विदेश जाँदा पनि कसैलाई जिम्मेवारी दिएर जाँदैनथे,’ अख्तियार स्रोत भन्छ, ‘गोजीबाटै अख्तियार चलाउने बानी परेका कार्कीको त्रास कर्मचारीलाई अहिले पनि छ।’

संवैधानिक अड्चन

संविधानको धारा-१०१ को उपधारा ६ बमोजिम लोकमानसिंह कार्की स्वतः निलम्बित भएका हुन्। तर, संविधानमा महाअभियोगको कारबाहीको टुंगो नलागेसम्म आफ्नो पदको कार्य सम्पादन गर्न नपाउने व्यवस्था मात्रै भएकाले उनको प्रोफाइल परिवर्तन गर्न नमिलेको अख्तियारले जनाएको छ। 

अख्तियारका सहप्रवक्ता खगेन्द्रप्रसाद रिजालले कानुनी प्रावधानका कारण निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको प्रोफाइल परिवर्तन गर्न नपाइएको बताएका छन्। ‘संविधानमा संवैधानिक पदबाट निलम्बन गरिए पनि कार्यसम्पादन गर्न नपाउने भन्ने मात्रै उल्लेख छ,’ उनले थपे, ‘महाअभियोगको विषय अदालतले टुंगो लगाएपछि मात्रै कार्कीका बारेमा निर्णय लिइन्छ, अहिले पनि प्रमुद कार्की नै हुन्।’

उनका अनुसार कार्कीले अख्तियारका कुनै काममा चासो राख्न पाउँदैनन्। तर, संवैधानिक विज्ञहरू लोकमानसिंह कार्की अख्तियारबाट हटिसकेको बताउँछन्। अधिवक्ता ओमप्रकाश अर्यालले अख्तियार प्रमुखको पदबाट कार्की हटिसकेको बताएका छन्।

उनले संविधानको धारा १०१ को ६ मा भएको व्यवस्थामा त्रुटि पाइएको बताए। ‘सामान्य कर्मचारीलाई विभागीय कारबाही हुँदा पनि स्वतः निलम्बनमा पर्छन्,’ अर्यालले भने, ‘लोकमानसिंह कार्कीमाथि त महाअभियोग लागेको छ, उनी महाअभियुक्त हुन्, त्यसैले निलम्बित भइसकेका छन्, संविधानमा पनि निलम्बन नै लेखिनु पर्थ्यो।’

लोकमानको त्रास

लोकमानसिंह कार्कीलाई राजनीतिक दलहरूको सहमतिमा वि.सं. २०७० वैशाख २५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्त गरियो।

अख्तियारमा आएपछि उनले नियुक्ति गर्ने दलहरूलाई नै थर्काउन थाले। त्यति मात्रै होइन, कार्की यति शक्तिशाली बन्दै गए कि, सरकार, संसद र संविधानलाई नै आफ्नो मुठीमा राख्ने उस्साहस गर्न थाले।

माओवादी र एमाले नेताहरूलाई ठेगान लगाउने अभिव्यक्ति दिएपछि लोकमानको अधोगति सुरू भयो। र, उनी कात्तिक ३ गते निलम्बनमा परे। अख्तियारमा कार्की पुनः फर्किने सम्भावना नरहे पनि उनको ‘भूत’ले कर्मचारीलाई सताइरहन्छ।

अख्तियारका एक कर्मचारीले भने, ‘लोकमानसिंह कार्की अब फर्किंदैनन्, तर कार्कीको महाअभियोगको मुद्दा सर्वोच्च अदालतले फैसला नगरेसम्म उनका कर्तुतको भण्डाफोर गर्ने आँट अख्तियारका कुनै कर्मचारीमा छैन।’


 

More form the Internet

loading...