Suvadin, Home
Nepal Telecom 939.7k
संविधानविद् तथा कानुन व्यवसायीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की अाैपचारिक रूपमा आजै बर्खास्त हुनसक्ने सम्भावना औंल्याएका छन्।कार्कीको अख्तियार प्रमुखमा नियुक्तिका लागि आवश्यक योग्यताका सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले आज गर्ने फैसलामा उनीको बर्खास्ती निश्चित गर्ने कानुन व्यवसायीहरूले दाबी गरेका हुन्।
लोकमानसिंह कार्की।

काठमाडौं, पुस २४


संविधानविद् तथा कानुन व्यवसायीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्की अाैपचारिक रूपमा आजै बर्खास्त हुनसक्ने सम्भावना औंल्याएका छन्।

कार्कीको अख्तियार प्रमुखमा नियुक्तिका लागि आवश्यक योग्यताका सम्बन्धमा परेको मुद्दामा सर्वोच्च अदालतले आज गर्ने फैसलामा उनीको बर्खास्ती निश्चित गर्ने कानुन व्यवसायीहरूले दाबी गरेका हुन्।

अधिवक्ता हरिप्रसाद मैनालीका अनुसार लोकमानसिंह कार्की आजै पदमुक्त हुनेछन्। ‘कार्की अख्तियारको प्रमुख हुन योग्य नरहेका प्रमाणकै आधारमा उनलाई सम्मानित सर्वोच्च अदालतले बर्खास्तीको फैसला सुनाउने छ,’ अधिवक्ता मैनालीले भने।

मैनालीका अनुसार सर्वोच्च अदालतले कार्कीको नियुक्ति नीतिसंगत थियो कि थिएन भन्ने विषयमा पनि निष्कर्ष सुनाउने छ। न्यायपरिषदले राय किताबमा उल्लेख गरेको टिप्पणीका आधारमा सर्वोच्चले फैसला गर्ने उनले बताए। ‘र, सोही विषय फैसलाको रुपमा कार्यान्वयनमा आउने छ,’ मैनालीले शुभदिनसँग भने।

मैनालीका अनुसार राय किताबमा ‘पदमुक्त गर्नुपर्ने’ लेखिएमा उनी आइतबारै औपचारिक रुपमा बर्खास्त हुनेछन्। ‘पदमुक्त गर्ने नलेखिएमा पनि व्यवस्थापिका संसदमा महाअभियोग लागेर निलम्बनमा परिसकेपछि कार्कीको पुनर्बहाली तत्काल सम्भब देखिँदैन,’ उनले भने, ‘व्यवस्थापिका संसदबाट महाअभियोग किनारा नलागेसम्म काम गर्नै पाउँदैनन्।’ 

नियुक्तिका मितिबाटै कार्कीलाई हटाउने निर्णय पनि सर्वोच्चले गर्न सक्ने छ। मैनालीले कार्की निलम्बनमा पर्नुअघि गरेका कामलाई पुनर्विचार गर्न दिने सर्तमा नियुक्तिकै मितिबाट कार्की काम गर्न अयोग्य रहने फैसला सर्वोच्चबाट आउन सक्ने बताए।

अर्का एक संविधानविद्ले पनि कार्कीको मुद्दा हेरिरहेको सर्वोच्च अदालतको संरचनाले पनि उनको विपक्षीमै फैसला आउने बताए। ‘कार्कीको योग्यता पनि पुग्दैन, त्यसैकारण उनी आजै बर्खास्त हुन सक्छन्,’ उनले भने। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख कार्कीमाथि सर्वाेच्च अदालतमा परेको योग्यतासम्बन्धी रिटमा आइतबार रिट निवेदकका तर्फबाट जवाफी बहस सकिएको छ। 

उक्त रिटमा न्यायाधीशहरू आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा सुनुवार्इ भइरहेको हो। रिट निवेदकका तर्फबाट शम्भु थापा, सुरेन्द्र भण्डारी लगायतका वकिलहरूले बहस गरेका छन्।

सर्वाेच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलका अनुसार शुक्रबार ११ बजेदेखि सुरू बहसमा कार्की पक्षका वकिलले तीन घण्टा बहस गरेका थिए। बिहीबारदेखि जारी बहसमा कार्की पक्षका वकिलका लागि शुक्रबार जम्मा ३० मिनेटको समय  सर्वाेच्चले छुट्याएको थियो।

कार्की पक्षका बहस शुक्रबार लम्बिएकाले सुनुवाई ‘हेर्दाहेर्दै’को सूचीमा राखी आइतबार सोही रिट माथिको बहसलाई पुनः निरन्तरता दिइएको हो।


 

More form the Internet

loading...