Suvadin, Home

भिआईपी/भिभीआईपीका अंगरक्षकलाई गोली हान्ने अधिकार

गृह मन्त्रालयका अनुसार अंगरक्षलाई यस्तो आक्रमण हुँदा प्रतिरक्षाका निम्ति गोली चलाउनेसम्मको अधिकार हुन्छ। ‘आक्रमण भइरहँदा सुरक्षाका लागि अंगरक्षकलाई सबै अधिकार दिइएको हुन्छ,’ गृह प्रवक्ता बालकृष्ण पन्थीले भने। तर, लोकमानमाथि आक्रमण र मोसो दलिँदासम्म सुरक्षाकर्मीले प्रतिरक्षा गरेको देखिएन।

शुभदिन संवाददाता,  काठमाडौं, पुस ७ 

सुरक्षाको दृष्टिले संवेदनशील मानिएको सर्वोच्च अदालतभित्रै संवैधानिक निकायका प्रमुखमाथि आक्रमण भएपछि त्यहाँको सुरक्षा व्यवस्थामाथि प्रश्न उब्जिएको छ। 

सर्वोच्च अदालतभित्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि बिहीबार विप्लव समूहका दुई कार्यकर्ताले पेशी शाखामै गएर आक्रमण गरे। मोसो दले। 

रुकुमका प्रवल शाही र चन्द्रबहादुर बुढाले कार्कीमाथि अदालतभित्रै आक्रमण गरेका हुन्, दुबैलाई प्रहरीले पक्राउ गरेको छ। तर, उनीहरु दुबै अदालतभित्रै गएर विशिष्ठ व्यक्तिमाथि आक्रमण गरुञ्जेल त्यहाँको सुरक्षा निकायले के हेरिरह्यो भन्ने चाहिँ चिन्ताको विषय बनेको छ।

‘व्यक्ति जोसुकै र जस्तोसुकै अपराधी किन नहोस्, उसले स्वतन्त्रपूर्वक कानुनी प्रतिरक्षा गर्न पाउँछ,’ अख्तियार स्रोतले भन्यो, ‘अदालतभित्रै एउटा विशिष्ठ व्यक्तिमाथि आक्रमण हुनु, मोसो दलिनु चिन्ताको विषय हो।’

सर्वोच्च अदालतमा एसपी जनक भट्टराईको नेतृत्वमा सुरक्षाकर्मीको छुट्टै युनिट छ। सर्वोच्चको मुख्य प्रवेशद्वारमै सुरक्षा तथा तलासीबिना छिर्न निषेध हुँदाहुँदै शाही र बुढा मोसो लिएर कसरी छिरे भन्नेबारे त्यहाँको सुरक्षा निकायले बताउन सकेको छैन। 

‘म अहिले व्यस्त छु, पछि कुरा गरौं है,’ शुभदिनसँगको सम्पर्कमा भट्टराईले भने। तर, पछि उनको मोबाइल अफ भयो, सम्पर्क हुन सकेन।

स्रोतका अनुसार कार्कीका अंगरक्षक हालसालै फेरिएका थिए। डिएसपी दानबहादुर थापा पहिले कार्कीको अंगरक्षक थिए। 

प्रहरी प्रधान कार्यालयले फेरिएका नयाँ अंगरक्षक कुन दर्जाको र को थिए खुलाउन सकेको छैन। 

गृह मन्त्रालयका अनुसार अंगरक्षलाई यस्तो आक्रमण हुँदा प्रतिरक्षाका निम्ति गोली चलाउनेसम्मको अधिकार हुन्छ। ‘आक्रमण भइरहँदा सुरक्षाका लागि अंगरक्षकलाई सबै अधिकार दिइएको हुन्छ,’ गृह प्रवक्ता बालकृष्ण पन्थीले भने। 
तर, लोकमानमाथि आक्रमण र मोसो दलिँदासम्म सुरक्षाकर्मीले प्रतिरक्षा गरेको देखिएन।  

कार्कीको योग्यता सम्बन्धमा परेको मुद्दाको पेशी चलिरहेको छ। अधिवक्ता ओमप्रकाश अर्यालले कार्कीको संवैधानिक पदमा आसिन हुने योग्यतामा प्रश्न उठाउँदै रिट दायर गरेका थिए। बिहीबार त्यही रिटमाथि बहस भइरहेको थियो र कार्की पेशी लिन सर्वोच्च गएका थिए। 

यसक्रममा उनीमाथि आक्रमण र मोसो दलिएको थियो। 
 


 

More form the Internet

loading...