Suvadin, Home

माधव नेपाल गएपछि सुनसरीको हरिनगरा तनावग्रस्त

पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सुनसरीको हरिनगरामा आयोजित सभामा सम्बोधन गर्न गएपछि हरिनगरा तनावग्रस्त भएको छ। नेता नेपाल आउने खबरले मधेसकेन्द्रित पार्टीका कार्यकर्ताले हरिनगरा क्षेत्रमा बिहानैदेखि चक्काजाम गरी प्रदर्शन थालेपछि स्थिति तनावपूर्ण भएको हो। 
हरिनगरामा प्रदर्शन गर्दै मधेसवादी दलका समर्थक।

ध्रुव ढकाल सुनसरी, गते २५


पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सुनसरीको हरिनगरामा आयोजित सभामा सम्बोधन गर्न गएपछि हरिनगरा तनावग्रस्त भएको छ।

नेता नेपाल आउने खबरले मधेसकेन्द्रित पार्टीका कार्यकर्ताले हरिनगरा क्षेत्रमा बिहानैदेखि चक्काजाम गरी प्रदर्शन थालेपछि स्थिति तनावपूर्ण भएको हो। 

नेकपा एमालेले तराईका जिल्लाहरुमा संविधान कार्यान्वयन अभियानअन्र्तगत सञ्चालन गरेको आमसभालाई सम्बोधन गर्न वरिष्ठ नेता नेपाल हरिनगरा आउने भएपछि उक्त क्षेत्रमा बिहानैबाट मधेसी मोर्चासम्बद्ध दलका नेता तथा कार्यकर्ताहरुले प्रदर्शन थालेका थिए।

एमालेको सभालाई लक्षित गरी बिहानैदेखि चौतर्फी सडकमा टायर बालेर मोर्चाका कार्यकर्ताले एमालेविरुद्ध नाराबाजी गरेका थिए। यसैबीच, मधेसी मोर्चाले सभा बिथोल्न सक्ने भन्दै प्रहरीले सुरक्षा स्थिति कडा बनाएको छ। प्रहरीको बाक्लो उपस्थितिमा नेकपा एमालेले आमसभा सञ्चालन गरेको छ।

सभास्थल वरिपरि मधेसी मोर्चाका कार्यकर्ताहरुले एमालेविरुद्धमा नाराबाजी गरिरहेका छन्। प्रहरीले मुठभेड हुनसक्ने भन्दै दुई सभाबीच सुरक्षाकर्मी तैनाथ गरेको छ। 

बिहानैबाट हरिनगरा क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको थियो। कार्यक्रमको सुरक्षा बन्दोवस्ती र स्थानीयको अवरोधलाई मध्यनजर गर्दै सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। 

हरिनगरा सुनसरीको निर्वाचन क्षेत्र नम्बर–५ रहेको छ। पाँच नम्बर क्षेत्र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको चुनावी क्षेत्र हो।

त्यसैकारण मोर्चाले हरिनगरामा एमालेले गर्न लागेको सभा र शक्ति प्रदर्शनलाई अवरोध पुर्याएको एमालेको दाबी छ। हरिनगरामा हुने माधवकुमार नेपालको सम्बोधनलाई लक्षित गरी असन्तुष्ट पक्षले दिनभरि नै विरोध प्रदर्शन गरे। दिनभरि हरिनगराको स्थिति तनावपूर्ण बनेको थियो।

मोर्चाका नेता तथा कार्यकर्ताले को१ख २१४५ नम्बरको बसमा पेट्रोल बम प्रहार गरेका थिए। को१ख २०२५ नम्बरको बसमा तोडफोड गरेका थिए। पेट्रोल बम हानिएको बसको केही सिट जलेका छन्।

प्रहरीले आगजनी नियन्त्रण गरेको छ। त्यसैबीच, सुरक्षाकर्मीले ५ बोतल पेट्रोल बम बरामद गरिएको सुनसरीका एसपी पोषराज पोखरेलले जानकारी दिए। सुरक्षा स्थिति कडा बनाइएकाले कुनै पनि अप्रिय घटना नभएको एसपी पोखरेलले बताएका छन्।

तनावबीच नेता नेपाल गए, तर धेरैबेर बस्न पाएनन्। सशस्त्र, जनपद र कार्यकर्ताको उल्लेख्य सुरक्षा घेरामा नेता नेपाल भाषण गरेर फर्किएका थिए। 

यता, एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार राष्ट्रिय स्वार्थ अनुकुल अघि बढन नसकेको आरोप लगाएका छन्। 

अध्यक्ष ओलीले सरकारसँग राष्ट्रिय स्वार्थ अनुकूल अघि बढ्ने सोच र समझ नै नदेखिएको टिप्पणी पनि गरे। विराटनगर विमानस्थलमा सञ्चारकर्मीमाझ कुरा गर्दै उनले पदीय र दलीय हित भन्दामाथि सरकार उठन सके मुलुकले केही दिन भित्रै निकास पाउने विश्वास पनि व्यक्त गरे। 

अध्यक्ष ओलीले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पारित नहुने दावी पनि गरे। पेश हुनै नसक्ने विषय सरकारले संसदमा पेश गराए पनि त्यसलाई पास गराउन नदिइने दृढता व्यक्त गरे। 

अध्यक्ष ओलीले सरकारसँग कानुनी र संवैधानिक रुपमै निषेध गरिएको विषय संसदमा पेश गराउन नहुने समझ र सोच नै नरहेको टिप्पणी पनि गरे। ओलीले मधेसवादी दलहरुप्रति संकेत गर्दै कसैको जिद्दी र अहंकारले निर्वाचन नरोकिने पनि स्पष्ट पारे।
 


 

More form the Internet

loading...