जनयुद्धमै काराबास भाेगेकाे माओवादी युवा नेता
संघर्षबाटै इतिहास निर्माण गरेका अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ
काठमाडौं, भदौ २० – दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति नेल्सन मण्डेलाले भनेका छन्, ‘योद्धाहरुले मृत्युसँग डराउनु हुँदैन। डराउने मान्छेले परिवर्तनको नेतृत्व गर्न सक्दैन।’
झापा नेपाली वामपन्थी आन्दोलनको उर्भरभूमि हो। क्रान्तिवीर विरङ्गनाहरुको निसानी सुखानी सधैं वामपन्थी राजनीतिको केन्द्र वरिपरि घुमिरहन्छ। वि.सं. २०२९ साल फागुन २१ गते तत्कालीन पञ्चायतीसत्ताले झापाको चन्द्रगढीस्थित कारागारबाट जिल्ला कारागार इलाममा सार्ने बहानामा सुखानी जंगलमा रामनाथ दाहाल, कृष्ण कुइँकेल, वीरेनसिंह राजवंशी, नेत्र घिमिरे र नारायण श्रेष्ठको हत्या गर्यो।
तर, क्रान्तिकारी वामपन्थीहरु उदाउने क्रम रोकिएन। बरु झन् बढेर गयो। पाँचको हत्या भयो, पचास जना जन्मिँए। झापा विद्रोहदेखि नेकपा माओवादीको १० वर्षे जनयुद्धसम्म आइपुग्दा कयौंले जीवनको बलिदानी दिएपनि क्रान्तिकारी कम्युनिष्ट कार्यकर्ता जन्माउने झापाले आफ्नो दायित्व पूरा गरिरह्यो।
हो, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको अध्यक्षमा युवा नेता रञ्जित तामाङ विजयी भएसँगै फेरि एक पटक नेपालको वामराजनीतिमा ‘झापा फ्याक्टर’माथि बहस हुन थालेको छ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीको अध्यक्षमा युवा नेता रञ्जित तामाङ विजयी भएसँगै फेरि एक पटक नेपालको वामराजनीतिमा ‘झापा फ्याक्टर’माथि बहस हुन थालेको छ।
नेपालको विद्यार्थी आन्दोलनलाई नयाँ उचाई दिने लक्ष्यमा अडिग रञ्जित तामाङ जनयुद्धदेखि शान्ति प्रक्रियाका १० वर्षसम्म निरन्तर राष्ट्र, राष्ट्रियता, जनजीविका र युवाविद्यार्थीका पक्षमा लडिरहेका छन्।
संगठनप्रतिको समर्पण र लगनशीलताकै कारण रञ्जित तामाङ अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्षमा निर्वाचित भएका हुन्। नेकपा माओवादी केन्द्रको आन्तरिक संगठनमा निर्वाचनमार्फत नेतृत्व चयन गरिएको हो नै पहिलो पटक हो।
रञ्जितले पहिलो निर्वाचित केन्द्रीय अध्यक्षको इतिहास निर्माण गरेका छन्। ‘जिम्मेवारी थपिएको महशुस गरेको छु,’ उनले भने।
निर्वाचनका क्रममा आफूले उठाएका शैक्षिक सुधार एवम् विद्यार्थीको अधिकारका विषयलाई क्रमशः पूरा गर्न आफू प्रतिबद्ध रहेको उनले बताएका छन्। दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति मण्डेलाले भनेजस्तै हरेक चुनौतीलाई पार लगाएर इतिहास निर्माणको यात्रामा रञ्जित निस्किएका छन्।
रञ्जितले पहिलो निर्वाचित केन्द्रीय अध्यक्षको इतिहास निर्माण गरेका छन्।
बाल्यकाल र अध्ययन
अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङको जन्म वि.सं. २०३९ माघ १९ गतेका दिन झापा तोपगाछी–२ निबासी आमा लाखमाया तामाङ र बुवा लोकबहादुर तामाङका सुपुत्रका रुपमा भएको हो। उनका ४ जना दाजुभाई छन्।
रञ्जितले कक्षा एकदेखि ७ सम्म बाँसबारी निमाविमा अध्ययन गरे। महेन्द्ररत्न माविबाट २०५६ सालमा एसएलसी पास गरेका उनले महेन्द्रमोरङ क्याम्पसबाट प्रविणता प्रमाणपत्र तहको पढाई पूरा गरेका छन्।
स्नातक तहको पढाई काठमाडौंस्थित रत्नराज्य क्याम्पसबाट सकेपछि रञ्जितले त्रिभूवन विश्वविद्यालयबाट पढाई अघि बढाइरहेका छन्। उनी राजनीतिकशास्त्रमा स्नातकोत्तर दोस्रो वर्षमा अध्ययनरत छन्। त्यसैगरी, कानून विषयमा स्नातक तहको दोस्रो वर्षमा अध्ययनरत छन्।
रञ्जितका ‘क्रान्तिकारी’ बुवा
वि.सं. २०२८ साल नेपालको पूर्वी क्षेत्रका जमीनदारहरुका लागि निकै चुनौतीपूर्ण थियो। पञ्चायती शासनविरुद्ध जनताले शुरु गरेको विद्रोहका बाछिटाले सामन्त र जमीनदारहरुलाई पनि तनावमा पार्न थालेको थियो।
सोही क्रममा मोरङको रंगेलीमा तत्कालीन भूमिसुधार राज्यमन्त्री देवानसिंह राईलाई जनताले सफाया गरे। जनताले पञ्चायती शासकको ज्यादतीविरुद्धको आक्रोश राज्यमन्त्रीमाथि पोखे।
राईको ज्यान गएको उक्त घटना ‘रंगेली झोडाकाण्ड’ले चर्चित छ। राज्यमन्त्रीको हत्या अभियोगमा रञ्जितका बुवा लोकबहादुर तामाङ पनि पक्राउ परे। र, ८ वर्षपछि वि.सं. २०३६ सालमा जेलमुक्त भए। लोकबहादुरको रिहाईसँगै उनको परिवार झापा सर्यो।
राईको ज्यान गएको उक्त घटना ‘रंगेली झोडाकाण्ड’ले चर्चित छ। राज्यमन्त्रीको हत्या अभियोगमा रञ्जितका बुवा लोकबहादुर तामाङ पनि पक्राउ परे। र, ८ वर्षपछि वि.सं. २०३६ सालमा जेलमुक्त भए।
रञ्जितको राजनीतिक यात्रा
रञ्जित कक्षा २ मा अध्ययन गर्दा नै जनवादी देउसीभैलोमा सहभागी भएका थिए। जननेता मदन भण्डारीको भाषणले पनि राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको उनी बताउँछन्। ‘स्कूलमा प्रधानाध्यपक भोजराज दाहाल, शिक्षकहरु बाबुराम कोइराला र भक्त कार्कीले मलाई राजनीतिमा लाग्न प्रेरित गर्नु भयो,’ उनले भने।
विद्यालयका शिक्षकहरुकै प्रेरणाबाट उनी वादविवाद, हाजिरीजवाफ प्रतियोगिता तथा अन्य अतिरिक्त क्रियाकलापमा सहभागी हुने गर्थे। चेस खेल्न पनि उनले त्यति बेलै सिकेका हुन्।
रञ्जितले वि.सं. २०५३ सालमा अनेरास्ववियु छैठौंबाट राजनीतिक यात्रा प्रारम्भ गरेका हुन्। स्कूल इकाई कमिटीको सचिव भएका उनी २०५५ सालबाट निरन्तर अखिल क्रान्तिकारीमा विभिन्न जिम्मेवारीमा बसेर काम गरिरहेका छन्।
‘माओवादी जनयुद्ध लाग्न पनि सरहरुले नै प्रेरित गर्नु भएको हो,’ रञ्जितले शुभदिनसँग भने। झापामै रहँदा उनी क्षेत्रीय सदस्य, जनमिलिसियाका उपकमाण्डर भइसकेका थिए।
सैन्य र प्रहरी हिरासतमा ४५ दिनसम्म बसेका रञ्जितलाई पुनरावेदन अदालत इलामले वि.सं. २०६० साल वैशाख २९ गतेका दिन सबै अभियोगबाट मुक्त गरिदियो।
वि.सं. २०५६ सालमा विराटनगरबाट पढाई अघि बढाएका अखिल क्रान्तिकारी अध्यक्ष तामाङ २०५७ सालमा झापा फर्किंए। वि.सं. २०५८ साल भदौ २२ गते नेकपा माओवादीका पूर्णकालीन कार्यकर्ता भएका रञ्जित सोही वर्षको पुस २८ गतेका दिन पक्राउ परे।
सैन्य र प्रहरी हिरासतमा ४५ दिनसम्म बसेका रञ्जितलाई पुनरावेदन अदालत इलामले वि.सं. २०६० साल वैशाख २९ गतेका दिन सबै अभियोगबाट मुक्त गरिदियो।
वि.सं. २०६० मा नवौं जिल्ला सम्मेलन आयोजक समितिका सहसंयोजक भएका रञ्जित जिल्ला सम्मेलनबाट सचिवमा निर्वाचित भए।
झापाको गौरादहमा अखिलका नेताद्वय विष्णु प्रधान र रमेश सुवेदीको सहादतपछि वि.सं. २०६१ सालमा रञ्जितले अखिल क्रान्तिकारीका झापा अध्यक्ष तथा केन्द्रीय सदस्यको जिम्मेवारी पाए। रोल्पा विस्तारित बैठकबाट उनी मेची अञ्चल संयोजक भए। साथै, ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ अभियानमा झापा, मोरङ र सुनसरीका कमाण्डर भए।
‘शहरी क्षेत्रमा संगठन निर्माण गर्नु चुनौतीपूर्ण थियो,’ अध्यक्ष तामाङले शुभदिनसँग भने, ‘ग्रामीण परिवेशसँग जोडिएका युवाहरुलाई पूरै व्यक्तिगत विवरण लिएर मात्रै संगठनमा आबद्ध गराइन्थ्यौं।’
उनी वि.सं. २०६३ सालमा अखिल क्रान्तिकारीकै काठमाडौं जिल्ला अध्यक्ष भए। वि.सं. २०६७ सालमा केन्द्रीय सचिव र २०७१ सालमा केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हाल्न पुगे।
र, युवा नेता रञ्जित तामाङले अखिल क्रान्तिकारीको २१औं राष्ट्रिय सम्मेलनबाट निर्वाचित केन्द्रीय अध्यक्ष भएर इतिहास निर्माण गरेका छन्। त्यसैगरी, रञ्जितले नेपाल क्रिकेट संघको कार्यकारी सदस्यको जिम्मेवारीमा रहेर दुई वर्ष काम गरेका छन्।
'सरकारी योजना र कार्यान्वयन प्रक्रियामा सरकारले युवालाई एकाकार गर्नुपर्छ।’
नेपाली युवाका समस्या र समाधान
नेपालमा व्यावसायिक र प्राविधिक शिक्षा प्रणाली लागू नहुनु युवाका लागि सबैभन्दा ठूलो समस्या रहेको अध्यक्ष तामाङको विश्लेषण छ। ‘शीप र दक्षताको विकास गरी मुलुकलाई सम्पन्न बनाउने दायित्व राज्यको हो,’ उनले भने।
सामाजिक र आर्थिक विकासका लागि स्रोतसाधनको परिचालन तथा व्यवस्थापन आवश्यक रहेको उनको धारणा छ। कृषिमा आधुनिकीकरण गरी युवालाई आकर्षित गर्नुपर्नेमा उनको जोड छ।
‘सरकारी योजना र कार्यान्वयन प्रक्रियामा सरकारले युवालाई एकाकार गर्नुपर्छ,’ उनले भने। जलस्रोतको विकासमा राज्यको विशेष पहल भएमा नेपाली युवाले रोजगारीका लागि विदेशिनुपर्ने बाध्यताको अन्त्य हुने उनको विश्लेषण छ। यो वातावरण निर्माणका लागि सबैभन्दा राजनीतिक स्थायित्व आवश्यक पर्ने अध्यक्ष तामाङ बताउँछन्।
‘त्यसैले हाम्रो पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी रहने व्यवस्थाका सम्बन्धमा निर्णय गरेको हो,’ उनले भने, ‘९–९ महिनामा सरकार परिवर्तन हुँदा जनताको शान्ति, समृद्धि र विकासको आकांक्षामा तुशारापात भएको छ।’ विधि, नीति र नेतृत्व निर्माणका लागि माओवादीले अग्रसरता दिइरहेको उनले प्रष्ट पारेका छन्।
'राजनीतिक चेतनाले ओतप्रोत झापालाई अब आर्थिक समृद्धि र विकासको राजधानी बनाउनु पर्छ।’
झापाको विकासका आधार
झापा नेपाल प्रवेशको पूर्वीद्वारका रुपमा रहेकाले विकासका धेरै सम्भावना रहेको रञ्जितको धारणा छ
‘पूर्वी नाकाबाट विभिन्न मुलुकको संस्कृति र संस्कारसँगै आर्थिक समृद्धि पनि भित्र्याउन सकिन्छ,’ उनले भने, ‘म्यानमार, चीन, भूटान, बंगलादेश तथा भारतका सिक्किम र दार्जीलिङजस्ता नेपाली बहुल क्षेत्र रहेकाले झापालाई आर्थिक विकासको केन्द्र बनाउन सक्ने सम्भावना छ।’
बंगलादेशसँगको सीमाना नजिकै रहेकाले समुद्री बन्दरगाह प्रयोगबाट व्यापार व्यवसायको सम्भावनाका प्रशस्तै आधारहरु निर्माण गर्न सकिने तामाङ बताउँछन्। चिया र सुपारीको भण्डार झापालाई धान उत्पादन र तरकारी उत्पादनका लागि ‘पकेट जोन’ बनाउन सकिने उनी बताउँछन्।
‘केचना, दोमुखा लगायतका कयौं पर्यटकीय क्षेत्रलाई आर्थिकोपार्जनको आधार बताउन सकिन्छ,’ उनी भन्छन्, ‘राजनीतिक चेतनाले ओतप्रोत झापालाई अब आर्थिक समृद्धि र विकासको राजधानी बनाउनु पर्छ।’
‘युवाले ठाउँ पाउनै पर्छ’
आफूभन्दा सिनियरलाई निर्वाचनमार्फत हराएर अध्यक्षमा निर्वाचित युवा नेता रञ्जित तामाङ अब युवाले मुुलुकको नेतृत्व गर्नुपर्ने विचार राख्छन्।
‘दक्षिण एशियामा ५० वर्ष पार गरेका व्यक्तिलाई मात्रै नेता मान्न मानसिकता व्याप्त छ,’ उनले भने, ‘सक्षम भएपनि असक्षम भएपनि एक पटकको क्रान्तिको नेतृत्व गरेकै व्यक्तिलाई नेता मान्नुपर्ने बाध्यताले पनि परिवर्तनको अनुभूति नभएको हो।’
युवाहरु नेतृत्वमा आउने बित्तिकै धेरै कुराको समाधान आउने उनको तर्क छ। ‘वीपी कोइराला ३१ वर्षमै गृहमन्त्री बन्नु भयो, मदन भण्डारी पनि ३५ वर्षमा पार्टी महासचिव बन्नु भयो, प्रचण्ड ३८ वर्षमै पार्टीको महामन्त्री बन्नु भएको हो,’ उनले भने, ‘त्यसैले युवाको उर्जालाई बेलैमा सदुपयोग गर्ने वातावरण बनाउनु पर्छ।’
नेकपा माओवादी केन्द्र आगामी दिनमा युवामय हुने रञ्जित बताउँछन्। ‘वर्षमान पुन, जनार्दन शर्मा, अमृता थापामगर, गिरीराजमणि पोखरेल, टोपबहादुर रायमाझी, लेखनाथ न्यौपाने, गणेशमान पुन, प्रभु साह लगायतका नेताले पार्टी र मुलुकको नेतृत्व गर्न सक्नुहुन्छ,’ रञ्जितले भने।
त्यसैगरी, नेपाली कांग्रेसमा विश्वप्रकाश शर्मा, गगन थापा, प्रदीप पौडेल तथा एमालेमा योगेश भट्टराई, घनश्याम भूषाल, ठाकुर गैरे, राजेन्द्र राई लगायतका नेतामा रञ्जितले राम्रो सम्भावना देखेका छन्।
साथै वैकल्पिक शक्तिका रुपमा उदाउँदै गएको विवेकशील साझा पार्टीका नेताहरु उज्वल थापा, रविन्द्र मिश्र लगायतले पनि मुलुकको हितमा काम गर्ने रञ्जितको विश्वास छ।
स्वास्थ्य टोलीसँग रहेका रञ्जितले घाइते भएका जनसेनाका २६ जना योद्धालाई दिएर सुरक्षित स्थानतर्फ गए।
२६ जना घाइतेको उद्दारमा खट्दा
वि.सं. २०६२ साल फागुन २१ गतेका दिन इलाम समदमुकाममा माओवादीले आक्रमण गर्यो। रञ्जितको जिम्मेवारी घाइतेको उद्दार र उपचारको थियो। स्वास्थ्य टोलीसँग रहेका रञ्जितले घाइते भएका जनसेनाका २६ जना योद्धालाई दिएर सुरक्षित स्थानतर्फ उनी जाँदै थिए।
‘कसैको कञ्चटमा गोली लागेको थियो, कसैको हातमा, कसैको खुट्टामा,’ रञ्जितले गम्भीर भावमा विगत सम्झिए, ‘बिहान चार बजेको समय हुँदो हो, देउमाईको किनारमा घाइतेमध्येका एक टासी शेर्पाको निधन भयो, हामी स्तब्ध भयौं।’
टासीलाई अन्त्येष्टि गरेर अघि बढेको उनको टोलीमा कोलाहल शुरु भयो। घाइतेहरु पीडाले रुन कराउन थालेको उनी सम्झन्छन्। अति पीडा भएपनि ४–५ जना गाउलेले एउटा मेडिकल फुटाएर औषधि ल्याएको उनले बताए।
‘२–२ वटा ब्रुफिन दिएपछि उहाँहरुलाई उपचारका लागि लान सक्यौं,’ उनले भने, ‘एक महिनापछि भेट्दा कसैको हात थिएन, कसैको खुट्टा थिएन, अत्यन्तै पीडादायी र कहालिलाग्दो स्थिति थियो।’
'अामाबुवाले शिक्षकका शत्रु नहुने र सबैले सम्मान गर्ने भएकाले शिक्षक बन्न प्रेरित गर्नुहुन्थ्यो।’
अभिभावकसँग भेट हुनै छाड्यो
युवा नेता तथा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ काठमाडौंमा बस्छन्। उनी राजनीतिक कार्यक्रममा हिँडिरहनुपर्छ। त्यसैले झापामा रहेका आमाबुवासँग बिरलै मात्रै भेट हुन्छ।
‘आमाबुवा छोरो आउने प्रतीक्षामा रहनु हुन्छ,’ उनी भन्छन्, ‘तर, राजनीतिक अभियानका कारण म घर जानै पाउँदिन।’ रञ्जितलाई टेलिभिजन अन्तरवार्तामा हेरेर मोटाएको, दुब्लाएको भनेर आमाले प्रतिक्रिया दिने गरेको उनले बताए।
‘म होलटाइमर भएको आमाबुवालाई मन परेको थिएन, शिक्षकका शत्रु नहुने र सबैले सम्मान गर्ने भएकाले शिक्षक बन्न प्रेरित गर्नुहुन्थ्यो,’ उनी भन्छन्, ‘तर, अहिले चाहिँ छोरो ठिक बाटोमा हिँडेको रहेछ भन्ने अनुभूति आमाबुवालाई भएको छ।’ उनकी श्रीमती दुर्गा भट्टराई हुन्। र, रञ्जित र दुर्गाकी एक छोरी आकृति छिन्।