Suvadin, Home

इटहरीका मेयर चौधरीले फिर्ता लिए 'नाक भाँच्‍ने' धम्की

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्वारीकलाल चौधरीले पत्रकारको नाकको डाँडी भाच्ने भनाइ आवेग जन्य भन्दै संचार जगतलाई पुगेको चोटप्रति दुःख व्यक्त गर्नुका साथे अभिव्यक्ति फिर्ता लिएको बताएका छन् । उनले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै संचार जगतलाई आघात पार्ने आफ्नो मनसाय नभएको उल्लेख गर्दै प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको रहेको जनाए । उनले आफू उद्धण्ड नभएको दाबी गरेका छन् । 

‘प्रेस जगतको भूमिकाविना नेपालमा ठूल्ठूला राजनीतिक परिवर्तनहरु सम्भव हुने थिएनन् । यति गौरवशाली महत्व रहेको प्रेस जगतले पनि आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्न सके सञ्चार जगतको मर्यादामा अझै निखार आउने कुरामा दुई मत नहोला,’ विज्ञप्तिमा भनिएको छ । 

मेयरले धम्की दिएपछि नेपाल पत्रकार महासंघ सुनसरी शाखाले उपमहानगरपालिकाको कार्यक्रम बहिष्कार गर्ने निर्णय गर्दै प्रेसप्रतिको दृष्टिकोण स्पष्ट पार्न माग गरेको थियो । महासंघले सुरक्षाको माग गर्दै प्रहरी र प्रशासनको ध्यानाकर्षण गराएका थिए । 

उनले भ्रष्ट्राचारविरुद्धको शून्य सहनशिलताको अभियानमा रहेको उल्लेख गर्दै त्यसमा सञ्चार जगतको रचनात्मक भूमिका अपरिहार्य रहेको बताएका छन् ।  परिर्वतन र सम्वृद्धिको यो यात्रामा सबैपक्षलाई सामेल भइदिन उनले अनुरोध गरेका छन् ।


 

More form the Internet

loading...