Suvadin, Home

संविधान संशोधन भए मधेसी दल निर्वाचनमा जाने

धेस केन्द्रित दलहरू संविधान संशोधन भए निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएका छन्। मधेस केन्द्रित दल आवद्ध नवगठित राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरूले आफूहरूको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका हुन्।
सत्तारूढ दल-मधेसवादी दलबीच भएको बैठक।

काठमाडौं, वैशाख ८- मधेस केन्द्रित दलहरू संविधान संशोधन भए निर्वाचनमा सहभागी हुन सकारात्मक देखिएका छन्। मधेस केन्द्रित दल आवद्ध नवगठित राष्ट्रिय जनता पार्टी तथा संघीय गठबन्धनका नेताहरूले आफूहरूको माग सम्बोधन हुनेगरी संविधान संशोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी हुने प्रतिक्रिया दिएका हुन्।

सत्तारुढ कांग्रेस–माओवादी केन्द्र र मधेस केन्द्रित दलहरूबीच शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा सरकारले संविधान संशोधन प्रक्रिया अघि बढाउने र मधेस केन्द्रित दलहरु निर्वाचनमा सहभागी हुने विषयमा छलफल भएको थियो। आफूहरुको माग सम्बोधन गर्न सरकार तयार भए निर्वाचनमा सहभागी नहुने कुनै नआउने नवगठित राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले जानकारी दिए।

उनले मधेसका जनतालाई अनुभूति हुनेगरी संविधान संशोधन भने हुनैपर्ने अडान दोहोर्याए। मधेस केन्द्रित दलहरू निर्वाचनमा जाने संकेत देखिएपछि प्रधानमन्त्री दाहालले त्यससम्बन्धी समान धारणा बनाउन दिउँसो सत्तारुढ प्रमुख तीन दलको बैठक बोलाएका छन्। सत्तारुढ दलहरूसँग समान धारणा बनाएर प्रधानमन्त्री दाहालले शुक्रबार अपराह्न पाँच बजे बैठक बसी मधेस केन्द्रित दलहरूलाई निर्वाचनमा सहभागी गराउने योजना बनाएका छन्।

संविधान संशोधन प्रक्रिया अघि बढाएर निर्वाचनमा जाने सरकारले गरेको प्रस्तावमा मधेस केन्द्रित दलहरू सकारात्मक देखिएको सत्तारुढ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए। उनले मधेस केन्द्रित दलहरूलाई निर्वाचनमा सहभागी गराउन सरकारले शुक्रबारै ठोस निर्णय लिने दाबी समेत गरे।

प्रमुख पाँच दलको बैठकले मधेस केन्द्रित दलहरुलाई निर्वाचनमा सहभागी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाललाई अन्तिम समयसम्म पहल गर्न सुझाव दिएको थियो। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, नवगठित राष्ट्रिय जनता पार्टीका शीर्ष नेताहरु, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालका अशोक राईसहितका नेताहरू सहभागी थिए।

यसैबीच, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले सरकार आफैं मधेस केन्द्रित दललाई निर्वाचनमा सहभागी हुन नदिने षडयन्त्रमा लागिपरेको आरोप लगाएको छ।

पार्टीका नेता शिवजी यादवले सरकारले संविधान संशोधन प्रस्ताव संसदमा टेवल समेत नगरेर संविधान संशोधनको नाममा बेइमानीको राजनीतिक गरिरहेको आरोप लगाएका हुन्। उनले आफूहरुको माग सम्बोधन गरेर निर्वाचन सम्पन्न गराउने लागि परेको हो भने संसदमा दर्ता गरेको संशोधन प्रस्ताव टेबल गरेर देखाउन पनि सरकारलाई चुनौती दिए। नेता यादवले सरकार निर्वाचन भन्दा पनि सत्ता लम्ब्याउन केन्द्रित भएको जिकिर पनि गरे।

संघीय समाजवादी फोरम नेपालले आसन्न स्थानीय तहको निर्वाचन र पार्टीले घोषणा गरेको आन्दोलनको कार्यक्रमलाई कसरी अघि बढाउने भन्ने विषयमा आन्तरिक छलफल गरिरहेको छ। नेता यादवले नवगठित राष्ट्रिय जनता पार्टीसँग सरकारले शुक्रबार बिहान गरेको छलफल समस्या समाधानका लागि नभएको बताए।

संघीय समाजवादी फोरम नेपालले ६ वटा मधेस केन्द्रित दलबीच पार्टी एकीकरण हुनुलाई सकारात्मक रुपमा लिएको टिप्पणी पनि गरेको छ। ६ वटा मधेस केन्द्रित दलहरुबीचको एकीकरणलाई पार्टीले सकारात्मक रुपमा लिएको नेता यादवले बताए। उनले पार्टी एकीकरणको अभियानले आन्दोलनलाई थप ऊर्जा दिने र त्यो सबैका लागि अनुकरणीय कदम भएको पनि उल्लेख गरे।


 

More form the Internet

loading...