Suvadin, Home
Nepal life 1.375M

पूँजीवादी व्यवस्थामा देश र जनताकाे हित नहुने भएकाले मार्क्सवाद–लेनिनवादको उदय भएकाे हाेः अध्यक्ष बिजुक्छे

नेमकिपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरूको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको छ।
नारायणमान बिजुक्छे।

काठमाडाैं, २८ पुस – नेपाल मजदुर किसान पार्टीको २८औं केन्द्रीय परिषद् विभिन्न प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको अध्यक्षतामा यही पुस २५, २६ र २७ गते भक्तपुरमा सम्पन्न भएको परिषद्ले राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रस्ताव पारित गर्दै सम्पन्न भएको पार्टीले जानकारी दिएको छ। 

नेमकिपाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्ने, भूकम्पपीडितको पुनःस्थापना नगर्ने, नेपालको नदीनाला भारतीय एकाधिकार पूँजीलाई दिने, वर्षेनी आउने शीतलहरूको पूर्वसावधानी नअपनाउने सरकारको विरोध गर्ने प्रस्ताव पारित गरेको छ।

त्यस्तै नेपालको सिमानामा भारतीय विस्तारवादले बनाएका बाध र तटबन्ध भत्काउनुपर्नेमा राष्ट्रिय प्रस्ताव पारित गरेको छ। 

त्यस्तै अन्तर्राष्ट्रिय प्रस्तावतर्फ इरानको आन्तरिक मामिलामा अमेरिकी साम्राज्यवादको हस्तक्षेप, क्युवा र प्रजग कोरियाविरूद्ध अमेरिकाले लगाउदै आएको नाकाबन्दी, संयुक्त राष्ट्रसंघको निर्णय विपरीत अमेरिकी साम्राज्यवादले इजरायलको राजधानी जेरूसेलम घोषणा गरेकामा विरोध गरिएको छ। 

परिषद्ले पार्टीको ४४औं स्थापना दिवस (माघ १० गते)लाई पार्टीको इतिहास, गतिविधि, प्रकाशन अध्ययन गरी छलफल र गोष्ठीसहित मनाउने निर्णय गरेको छ।

त्यस्तै कार्ल मार्क्सको द्विशतवार्षिकी सन् २०१८ मे ५ को अवसरमा वर्षभरि नै युरोपको इतिहास र भूगोल, मार्क्स र एंगेल्सको जीवनी, कम्युनिष्ट घोषणापत्र, पूँजीलगायत अन्य मार्क्सवादी साहित्य अध्ययन तथा प्रकाशन गरी छलफल गोष्ठीसहित मनाउने निर्णय गरेको छ।

परिषदले मोहनप्रसाद प्रजापति र राजवीर डंगोललाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। पार्टीले सुरेन्द्रराज गोसाईं, सिर्जना सायजू र राजेन्द्र चवाललाई वैकल्पिक केन्द्रीय सदस्यमा मनोनीत गरेको छ।

परिषदले पार्टी सचिव प्रेम सुवालले प्रस्तुत गरेको केन्द्रीय समितिको प्रतिवेदन सुझावसहित पारित गरेको नेमकिपाले जानकारी दिएको छ। 

केन्द्रीय समितिको प्रतिवेदनमा पार्टी गतिविधि, संसद्मा नेमकिपाको संघर्ष, तीन प्रतिशतको मतसीमाविरूद्ध सर्वोच्चमा रिट, सभामुखको निरङ्कुशताविरूद्ध संसद्मा नारा, प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य चुनावको क्रान्तिकारी उपयोग, पूँजीवादी पार्टीबाट निर्वाचन आचारसंहिता उल्लङ्घन, राष्ट्रिय सभाको निर्वाचन लगायतबारेमा उल्लेख गर्दै चर्चा गरिएको थियो। 

परिषद्मा पार्टी केन्द्रीय सदस्यहरू, पार्टी जिल्ला समिति, जनवर्गीय संगठन र पेशागत संगठनको केन्द्रीय प्रतिवेदन पेश गरिएको थियो। परिषद्मा अध्यक्ष बिजुक्छेले पूँजीवादी व्यवस्थामा देश र जनता हित नहुने भएकाले मार्क्सवाद–लेनिनवादको उदय भएको दाबी गर्दै नयाँ पुस्तालाई मार्क्सवाद–लेनिनवादबाट शिक्षित बनाउनुपर्ने बताएका छन्।

उनले पटकपटक सरकारको नेतृत्व गरेका तर देश र जनताको लागि केही नगर्ने पार्टीहरूले नै चुनावमा आचारसंहिता उल्लङ्घन गरेको टिप्पणी गरेका छन्। बिजुक्छेले जनताले दिएको मत खेर गएको जिकिर समेत गरेका छन्।


 

More form the Internet

loading...